arrow

सुवर्ण शम्शेर लेजेण्डरी अर्थमन्त्रीः डा महत

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
ramsharan-mahat.jpg.jpeg
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले सुवर्ण शम्शेर राणा नेपालको लेजेण्डरी अर्थमन्त्री भएको तर उहाँको योगदानको उचित कदर हुन नसकेको बिचार व्यक्त गर्नुभएको छ । 
 
सुवर्ण स्मृति परिषदको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि डा महतले भन्नुभयो, आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहेपनि राज्यको ढुकुटीको संरक्षण र प्रभावकारी सञ्चालन गर्नेमा कठोर हुनुहुन्थ्यो । उहाँका अनुसार नेपालको बजेट शुरु गरेका पहिलो अर्थमन्त्री सुवर्ण शम्शेरले आयकर, सम्पत्ति कर जस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गर्नुभयो । उहाँले नेपालमा आफ्नै मुद्रालाई स्थापित गर्ने, विनिमय दर निर्धारण मात्र होइन शैक्षिक क्रान्तिका लागि एकैवर्षमा मुलुकभर १६ सयभन्दा बढी विद्यालय स्थापनाको रकम व्यवस्थापन आफ्नो बजेटमार्फत गर्नुभएको थियो । 
 
नेता डा महतले कांग्रेसका संस्थापकमध्येका नेता सुवर्णजीको उचित मूल्यांकन हुन नसकेको गुनासो गर्नुभयो । विसं २०१५ सालमा कांग्रेसले बहुमत ल्याएको बखत बीपीलाई प्रधानमन्त्री बन्न उहाँले नै आग्रह गर्नुभएको स्मरण गर्दै नेता डा महतले भन्नुभयो, बीपीलाई प्रधानमन्त्री बनाउन केही विलम्व गरियो । राजाले  सवर्णजीको नाम लिएको चर्चा बाहिर आयो । तर सुवर्णजीले खुलेर भन्नुभयो, बीपी यो तपाईको उपलब्धि हो र तपाई नै प्रधानमन्त्री बन्नुपर्छ । उहाँले ठूलो त्याग गर्नुभएको होइन यो ? 
 
कांग्रेसमा बीपी, सुवर्णजी, गणेशमानजी, किसुनजी जस्ता एकसे एक त्यागी नेता रहेको स्मरण गर्दै उहाँले थप्नुभयो, पछिल्लो समय त्याग छायामा पर्ने गरेको बताउनुभयो । नेता डा महतले आफ्नै सक्रियतामा सुवर्णजीको सम्मानस्वरुप अर्थमन्त्रालयको ठूलो हलको नाम नै सुवर्ण हल राखिएको त्यहाँ उहाँको ठूलो फोटो समेत राखिएको स्पष्ट पार्नुभयो । 
 
सो अवसरमा कांग्रेसका संस्थापक नेता तथा पूर्वमन्त्री रामहरि जोशीले अहिलेको विषम परिस्थितिमा बीपी जस्तो दूरदृष्टि भएको र मेलमिलाप गर्न सक्ने र सुवर्णजी जस्तो त्याग गर्न सक्ने नेताको खाँचो रहेको बताउनुभयो । 
 
त्यसैगरी सुवर्ण स्मृति परिषदका सल्लाहकार हिमालय शम्शेर राणाले सुवर्ण शम्शेरमा इमानदारी र त्यागको गुण हुनुका साथ समाजवादी चिन्तन रहेको स्मरण गर्नुभयो । त्यसैगरी पूर्वमन्त्री मार्शलजुलुम शाक्यले सुवर्ण शम्शेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उहाँको सम्मानका लागि परिषद स्थापना गरेर काम शुरु गरिएको स्पष्ट पार्नुभयो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ