arrow

स्थानीय निकाय निर्वाचनः म्याग्दीमा ७२ वटा मतदानस्थल

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Myagdi-hamrakura.jpg.jpeg
म्याग्दी । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ । 
 
जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन ती मतदानस्थल निर्धारण गरेको हो । 
 
जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल ७२ वटा रहेपनि मतदाता सङ्ख्याका आधारमा मतदान केन्द्र निर्धारण गरिने जानकारी दिए । 
 
नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको सङ्ख्याका आधारमा एक हजारभन्दा बढी मतदाता भएमा एउटै मतदानस्थलमा पनि एकभन्दा बढी मतदान केन्द्र तोकिने उनले बताए । 
 
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीको बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ वटा मतदानस्थल तोकिएको छ । 
 
त्यसैगरी, रघुगङ्गा गाउँपालिकामा १४, धौलागिरि गाउँपालिकामा १२, मालिका गाउँपालिकामा नौ, मङ्गला गाउँपालिकामा सात र अन्नपूर्ण गाउँपालिकामा १३ मतदानस्थल तोकिएको छ । 
 
विसं २०७० को निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष स्थानीय तह पुनर्संरचनाअनुसार पुनरावलोकन गर्दा चारवटा बढी निर्धारण गरिएको हो । 
 
म्याग्दीमा आगामी वैशाखमा हुने निर्वाचनमा करिब ७२ हजार मतदाताले सहभागिता जनाउने भएका छन् । 
 
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाबाट ७१ हजार नौसय १२ जना मतदाताको नामावली अध्यावधिक गरी निर्वाचन आयोगमा पठाइएको छ । 
 
स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । 
 
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलमा चहलपहल सुरु भएको छ । 
 
राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । 
 
जिल्लाको रघुगङ्गा गाउँपालिका र धौलागिरि गाउँपालिकाको केन्द्रको विवादले भने ती दुई गाउँपालिकाको कार्यालयसमेत स्थापना हुन सकेको छैन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ