arrow

प्राधिकरणको वेभसाइटमा पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७३ चैत ११ शुक्रबार
NRA.jpg.jpeg
काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ।  प्राधिकरणको वेभसाइट  www.nrn.gov.np मा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ छ। यो सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ।
 
प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै छ। प्राधिकरणका प्रवक्ता यामलाल भुसाल नै त्यति घर नबनेको बताउछन्। “वेभसाइटमा गलत तथ्याङ्क छ, त्यति घर बनेका छैनन्, अब त्यसलाई हटाइन्छ”–उनले भने।
 
सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा बिहीबार दिउँसो ३:४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार चार सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए। “आजसम्म निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गरिएकाको सङ्ख्या पाँच हजार ७३०, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”–उनले भने।
 
मन्त्रालय अन्तर्गत जिल्ला जिल्लामा खटिएका इन्जिनियरले एकाइमा पठाएको तथ्याङ्क अनुसार हालसम्म १६ हजार ५१५ पीडितले अनुदान पाउनु अगावै घर निर्माण सम्पन्न गरेका छन्। मन्त्रालयको यो तथ्याङ्कसँग प्राधिकरणको वेभसाइटमा राखिएको तथ्याङ्क मिल्दैन। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका करिब नौ लाख घर पुनःनिर्माण गर्न सहयोग गर्ने उद्देश्यले गठन गरिएको प्राधिकरणले तथ्याङ्कमै बनाएको देखाएर पीडितको घर नबन्ने खतरा बढेको प्रभावित जिल्लाका स्थानीयवासीको गुनासो छ।
 
प्राधिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुलीले सहरी विकास मन्त्रालयबाट आउने तथ्याङ्क नै सही भएको बताउछन्। “आधिकारिक तथ्याङ्क सहरी विकास मन्त्रालयबाट आउने हो, त्यस बाहेकको तथ्याङ्क गलत हो”–उनले भने। प्राधिकरणजस्तो संस्थाले प्रचारकै लागि बढी घर बनेको देखाउन गलत तथ्याङ्क वेभसाइटमा राखेको छ। यो तथ्याङ्क कुन स्रोतबाट आएर राखेको त्यसको जवाफ प्रवक्ता र कार्यकारी सदस्यले दिन सक्नुभएन।
 
लाप्राकमा नमुना बस्ती निर्माण गर्न प्राधिकरणको स्वीकृति
 
प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैर आवासीय नेपाली सङ्घलाई स्वीकृति दिएको छ। प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमुना बस्ती निर्माण गर्ने स्वीकृति दिएको हो। प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिब ६०० नमुना घरका लागि भूकम्प प्रतिरोधी डिजाइनमा केही परिमार्जन गरी पेस गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो।
 
गैरआवासीय नेपाली सङ्घले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६०० नमुना घर बनाउने घोषणा गरेको थियो। करिब रु ३५ करोडको लागत अनुमान गरिएको लाप्राक नमुना बस्ती आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्ने सङ्घको योजना छ। यसैबीच प्राधिकरणका कार्यकारी सदस्य पराजुली संयोजक रहेको समितिले मापदण्ड नपुर्‍याइ बनाइएका घरलाई प्रवलीकरण गरी तोकिएको मापदण्ड पुर्‍याउने गरी बाटो खोलिदिएको छ। समितिको बिहीबारको बैठकले काठ, रड, ग्याबिन तार र कङ्क्रिट पोलले बाँधी मापदण्ड नपुगेका घरलाई भूकम्प प्रतिरोधी बनाउन सकिने विधि पारित गरेको छ।
 
समितिले पारित गरेको प्रक्रियाअनुसार अब निर्माण भएका घरलाई स्थलगत रुपमा खटिएका इन्जिनियरले नम्बर दिने छन्। सबै प्रक्रिया पुगेका घरले १०० नम्बर पाउने छ। प्रक्रिया नपुगेमा त्यसै अनुसार नम्बर घट्ने छ। भूकम्प प्रतिरोधी घरका लागि ८५ अङ्क पाउनुपर्ने समितिले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ