arrow

चिनियाँ शंका मेटाउँदै प्रचण्ड : नेपाली भूमिबाट चीन विरोधी कुनै गतिविधि हुनदिन्न

उपप्रधानमन्त्री झाङ गाओलीसँग भेट

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
PM-ko-china-dpm-bhet.jpeg

बोआओ, चीन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् । चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले यसो भनेका हुन् । नेपाल र चीनबीच बिगत लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको भन्दै नेपालले एक चीन नीतिप्रति सधै समर्थन गर्दै आएको बताए ।

स्वतन्त्र विब्बतको आन्दोलनलाई लिएर डराइरहेको चीन नेपाललाई पनि श‍ंका गरिरहेकाे छ । दाहालले मौखिक प्रतिवद्धता गरेर शंका मेटाउन खाेजेपनि चीन लिखित एवं व्यवहारिक प्रतिवद्धता खोजिरहेको बताइँदैछ । शुक्रबार दिउँसो २ बजेपछि भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा महत्वपूर्ण रहने विश्वास लिएको बताए । प्रधानमन्त्री दाहालले चीन सरकारबाट प्राप्त निमन्त्रणाप्रति आभार प्रकट गरे ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्दै भूकम्प पछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे ।

चीनको विकास र आर्थिक उन्नतिबाट नेपालले पनि फाइदा लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत् संस्थागत गरिएको र अहिले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको सुनाए ।

प्रधानमन्त्री दाहालले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल–वे निर्माण, इनर्जी कनेक्टीभिटी, टान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनसहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको बताए । प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच सम्बन्धको ऐतिहासिक मार्ग अरनिकोमार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै पूर्व पश्चिमका विभिन्न चीनसँग जोडिएका स्थानमा नाकाहरु खोल्न पनि आग्रह गरे ।

प्रधानमन्त्री दाहालले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषयमा खुलला र स्पष्ट रुपमा नेपालको धारणा राखे । भेटमा चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कुटनैतिक सम्बन्ध स्थापना भएको ६२ वर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको बताउँदै प्रधानमन्त्री दाहालको भ्रमण सम्बन्धलाई अझै नयाँ उचाई दिन सफल हुने विश्वास लिए ।

उनले प्रधानमन्त्री दाहालकोे केही समय पहिले भारतको गोवामा भएको चिनियाँ राष्ट्रपतिसँगको भेट एवम् चीन भ्रमणका क्रममा हुने भेट धेरै महत्वका रहेको बताउँदै चीनले सधै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको बताए । चीनका राष्ट्रपतिले उपयुक्त समयमा चीनको भ्रमण गर्ने जानकारी दिँदै उनले प्रधानमन्त्री दाहालले अघि सारेको रेलवे, ट्रेड, कनेक्टिीभिटी, पूर्वाधार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको बताए । यी विषयमा छिट्टै सहमति गरेर सहकार्य गर्ने उपप्रधानमन्त्री झाङको प्रतिबद्धता छ ।  उनले तातोपानी नाका खोल्नेबारे सकारात्मक रहेको बताउँदै नेपाललाई विभिन्न स्तरमा सहयोग बढाउँदै लगिने जानकारी दिए ।

नेपालले संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुशी व्यक्त गर्दै उनले नेपालका राजनीतिक दलहरु एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास पनि लिए । उनले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पुरानो चिनजान रहेको स्मरण गर्दै स्वागत गर्न पाउँदा खुशी प्रकट गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ