arrow

अफ्ठ्यारोमा प्रचण्ड, तिब्बती नेता भेट्दा होसियार रहनु पर्ने !

चीन भ्रमण

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
PM-dahal-news.jpeg

काठमाडौं । छिमेकी चीनको साताव्यापी औपचारिक भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल भेटघाटमा व्यस्त भएका छन् । शुक्रबार दिउँसो मात्रै प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधानमन्त्री झाङ गाउलीसँग भेट गरेका छन् । चीनको हाइनान प्रान्तको बोओओ पुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ उपप्रधानमन्त्री झाङ शनिबार एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुने छन् ।

दाहाल बोआओ मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा विहिबार राति बोआओ उडेका थिए । शनिबार सम्मेलनको उद्घाटन् समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सम्बोधन गरेपनि प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।  

प्रधानमन्त्री दाहालले शनिबार अपरान्ह चिनियाँ राष्ट्रपति सी जीनपीङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटमा दाहालले नेपाल भ्रमणको वातावरण र पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विषयमा विमर्श गर्ने छन् । यस्तै, दाहालले आइतबार बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

आइतबारै दाहालले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नुका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छन् । निर्वाचन आयोगले आचारसंहिता कारण भ्रमण रोक्न भनेपनि आफै भ्रमण स्वीकृत गरेर चीन पुगेका दाहालले नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नु झन् आचारसंहिता विपरीत मानिने छ । आचार संहितामा कुनै पनि गोष्ठी, सेमिनारमा सहभागि हुन नपाइने र उद्घाटन गर्न नपाइने भनिएको छ ।   

यस्तै, भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । प्रधानमन्त्रीको ल्हासा दौडलाई चीनले अर्थपूर्ण रुपमा हेरेको छ भने, प्रधानमन्त्री दाहाल चिनियाँ चाहाना अनुसार प्रस्तुत हुने बताइँदैछ ।
ल्हासामा नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । यी हुन् प्रधानमन्त्री दाहालका भ्रमण कार्यक्रम ।

तिब्बत दाैड र हाेसियारी
विज्ञहरु भन्छन्, ‘प्रधानमन्त्री दाहाल कम्युनिष्ट पार्टीको नेता भएकै कारण उनलाई चीनले राम्रै सत्कार गर्छ र निर्वाध घुम्न दिन्छ भन्नेमा विश्वस्त हुन सकिँदैन ।’ के छ कारण ? निर्वाचनको वावरण बनाउनु पर्ने बेलामा प्रधानमन्त्री दाहाल निर्वाचन आचारसंहिताको बाँध नाघेर चीन भ्रमणमा निस्कनु र चीन जाने कुरा चल्नेबित्तिकै दाहालले होसीयारी अपनाउनु महत्वपूर्ण हो, एक जना जानकार भन्छन्, ‘प्रधानमन्त्री नेपालबाटै निस्कनु अघि नै एक चीन नीति र चीन विरोधी गतिविधिबारे नेपाल सचेत छ भनिरहेका थिए । चीन जानेवित्तिकै पनि त्यही कुरा झिके उनको भ्रमणको रहस्य केही न केही छ ।’ तिब्बतको ल्हासा पुगेर नेताहरुलाई भेट्ने कार्यक्रम पनि राखियो ।

उनले भनेका छन्, ‘यसरी तिब्बती नेताहरुलाई भेटेको चीन मन पराउँदैन । चीन स्वतन्त्र तिब्बतको मुभमेन्टदेखि तर्सिरहेको छ । तिब्बतीहरु नेपालीसँग नाता गाँसेर मुभमेन्टलाई बलियो बनाउन सक्छन् भन्ने ठूलो शंका छ ।’ प्रधानमन्त्री दाहालले ल्हासा जाँदा निकै होसियारी अपनाउनु पर्ने छ । दाहाल स्वतन्त्र तिब्बतको आन्दोलनमा चीनले राखेको चाँसोलाई ध्यान दिएर भेटघाट गर्ने छन् । दाहालको ल्हासा दौड निगरानीमा रहनेछ । नेपाली नेताहरु स्वतन्त्र तिब्बतको गतिविधिमा संलग्न नेताहरुलाई भेट्छन् भन्नेमा चीन निकै सशंकित छ । चीन जानु अघि बालुवाटारमा विज्ञहरुले पनि सावधानीपूर्वक कुरा राख्न सुझाएका थिए ।

प्रधानमन्त्री दाहाल भेटै पिच्चे किन स्वतन्त्र तिब्बतका कुरा ?
प्रधानमन्त्री दाहालले शुक्रबार चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँगको  भेटमा नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने बताए । यसअघि विहिबार चिनियाँ रक्षामन्त्री चाङ वानक्वानसँग समेत दाहालले नेपाल एक चीन नीतिप्रति सधैँ सचेत रहेको र चीन विरोधी गतिविधि सह्य नहुने बताएका थिए ।

प्रत्येक भेटमा दाहाल चीन र नेपालबीचको सम्बन्धबारे प्रष्ट्याइरहेकै छन् । उनले भने, ‘नेपाल र चीनबीच बिगत लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको छ । र नेपालले एक चीन नीतिको सधै समर्थन गर्दै आएको छ । प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री हुँदा परम्परा तोड्दै पहिलो भ्रमण चीनको गरेका थिए ।

तर, अहिले प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत गरे । जसको फल स्वरुप चीनले अघिल्लो सरकारले गरेका सम्झौतालाई लिएर पुष्पकमल दाहाल काम गर्न सक्छन् वा सक्दैन भन्दै शंका गरिरहेको छ । नेपाल विश्व सम्बन्ध परिषद्का कार्यकारी सदस्य बुद्धिनारायण श्रेष्ठले भनेका छन्, ‘चीनले नेपाललाई शंकाले हेरिरहेको छ । यसअघि गरेका सम्झौता कार्यान्वयन र आगामी योजनामा साथ दिन्छ दिँदैन भनेर उसले नियालीरहेको छ । त्यसैले प्रधानमन्त्री दाहाले सम्बन्ध प्रष्ट्याइरहेका छन् । विश्वास दिलाउने प्रयत्न गरिरहेका छन् । र, होसीयारीले कुरा गर्न खोजीरहेका छन् ।’  

प्रधानमन्त्रीको मौखिक अनुरोध र चिनियाँ चाहाना  
प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधानमन्त्री झाङसँग तातोपानी नाका खोल्न मौखिक अनुरोध गरे । दाहालले अरनिकोमार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न भन्दै पूर्व पश्चिमका विभिन्न स्थानका नाकाहरु खोल्न पनि आग्रह गरे । जवाफमा झाङले तातोपानी नाका खोल्नेबारे सकारात्मक रहेको मात्रै भने । बरु उनले नेपाललाई विभिन्न स्तरमा सहयोग बढाउँदै लगिने आश्वासन दिए । शनिबार चिनियाँ राष्ट्रपतिसँग पनि प्रधानमन्त्री दाहालले नाका खोल्न मौखिक अनुरोध गर्ने छन् ।

नेपालले जसरी मौखिक आग्रह गरेको छ त्यसरी नै चीनले सकारात्मक भन्ने जवाफ फर्काइरहेको छ । चिनियाँ चाहाना नेपालसँग जोडिएका नाकामा स्वतन्त्र तिब्बतको आन्दोलनलाई सहयोग पुग्ने कुनै गतिविधि नहोस् र नेपालमा तिब्बति शरणार्थी प्रवेश गर्न नदिइयोस् भन्ने छ । गोरखा भूकम्प गएपछि बन्द भएको तातोपानी नाका समेत स्वतन्त्र तिब्बत आन्दोलनकै कारण बन्द गरेको बताइँदैछ । फ्रि–तिब्बतको संघर्ष चलेपछि चीनले नाकाका बासीन्दालाई समेत न्यालम सारेको छ ।  

चीनले कोदारी नाकाबाट विशेषतः तिब्बती शरणार्थीलाई छिर्न नदिने संयन्त्र चीनले खोजे बताइएको छ । नाकाबाट तिब्बती शरणार्थी छिर्न दिँदैनौँ र स्वतन्त्र तिब्बतका नारा घन्कन दिँदैनौ भन्ने प्रतिवद्धता चाहेको चीनले तिब्बती शरणार्थी र स्वतन्त्र तिब्बतको आन्दोलनलाई सघाउने चिनियाँ नागरिकले नेपालीसँग नाता गाँसेर घुसपैठ गर्न सक्ने भन्दै नेपाल सरकारको आधिकारिक संयन्त्र खोजेको छ । जसले नाकामा प्रत्यक्ष निगरानी गर्न सकोस् । प्रधानमन्त्री दाहालको भ्रमण र उनको मुभमेन्टले चीनलाई विश्वस्त बनाउनु पर्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ