arrow

रौतहटमा चुनावी चर्चा: नगरपालिकाहरुमा कुन दलबाट को को गर्दैछन तयारी ?

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
election-news-jj.jpeg
रौतहट। स्थानिय तहको निर्वाचनको मिति तोकिएसँगै प्रदेश नम्वर २ मा निर्वाचन के हुने भन्ने अन्यौल विस्तारै चिरिदै जाने क्रममा रहेको छ । तराई मधेश केन्द्रित राजनीतिक दलहरुले तराई मधेशमा स्थानिय तह बढाउनुपर्ने माग गर्दै स्थानियस्तरमा विरोधका कार्यक्रम जारी राखेपनि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्न तराई मधेशका सबै राजनीतिक दलहरु अगाडी देखिएका छन् । यद्यपी उनीहरुले आफ्नो विरोधका कार्यक्रमलाई गाउँपालिकाहरुमा तालावन्दी गरेर देखाएका छन् । 
 
२०७४ वैशाख ३१ मा हुने स्थानिय तहको निर्वाचनका लागि अहिले जिल्लामा क्रियाशिल राजनीतिक दलहरु सबै लागिपरेका छन् । जिल्लामा रहेका ३ नगरपालिका र १३ वटा गाउँपालिकाको नेतृत्वका लागि अहिले चर्चा परिचर्चा शुरु भएको छ । स्थानिय राजनीतिक दलका अगुवा नेता तथा कार्यकर्ताहरु अहिले आफ्नो पार्टीको तर्फबाट को उमेद्वार हुने भन्दै विमर्शमा लागिपरेका छन् । 
 
करिव २ दशकपछि हुन लागेको स्थानिय तहको निर्वाचनमा स्थानियस्तरमा भिजेको लोकप्रिय व्यक्तिलाई कसरी निर्वाचित गर्ने भन्दै स्थानियस्तरमा छलफल पनि शुरु भएको छ । 
 
सदरमुकाम गौर र आसपासलाई समेटेर बनाइएको गौर नगरपालिका, राजमार्ग आसपासमा रहेको चन्द्रपुर नगरपालिका र सदरमुकाम र राजमार्गबीचको गरुडा नगरपालिकामा यसपटक सबैको आँखा परेको छ । यि नगरपालिकाहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत राजनीतिक दलहरुबीच कडा प्रतिष्पर्धा रहेको छ । तराई मधेशको आन्दोलनपछि एमालेको हैसियत केहि खस्किएको भनिएपनि कार्यकर्ताबीचमा उसको प्रभाव अझै कायम रहेको बताइन्छ । तुलनात्मक रुपमा मधेश केन्द्रीत दलहरु सहज अवस्थामा रहेपनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने मुख्य दल काँग्रेसको प्रभाव यहाँ राम्रो मानिन्छ । मधेश केन्द्रीत राजनीतिक दलहरु संयुक्त रुपमा गएमा उनीहरुले राष्ट्रिय राजनीतिक दलहरुलाई कडा टक्कर दिन सक्ने देखिएको छ । 
 
गौर नगरपालिकामा काँग्रेस, एमाले र मोर्चाका घटकहरुबीच प्रतिष्पर्धा छ । गौरमा काँग्रेसबाट सजन साह र बीर बहादुर साह, एमालेबाट शम्भु साह, तमलोपाबाट पूर्व मेयर वावुलाल साह, सदभावना पार्टी(महतो) बाट शेख जमसैद अग्रपङतिमा देखिन्छन् । 
 
गरुडा नगरपालिकामा पनि काँग्रेस, एमाले र मोर्चाका घटकहरुबीच प्रतिष्पर्धा छ । गरुडामा काँग्रेसबाट कन्थमणी जैसवाल र रामभरोसी यादव चर्चामा छन् । एमालेबाट चुनचुन साह चर्चामा रहेका छन् । माओवादी र मोर्चाबाट उमेद्वारको नाम बाहिर नआएपनि दुई ठूला पार्टीबाट उमेद्वार घोषणा भएपछि मात्रै आफ्ना उमेद्वारहरु सार्वजनिक हुने रणनीति देखिन्छ । 
 
चन्द्रपुर नगरपालिकामा भने पहाडी समुदाय र थारु समुदायको बाक्लो उपस्थिति रहेका कारण उनीहरुको प्रभाव सबै राजनीतिक दलमा छ । राजनीतिक दलहरुले पनि यहि समिकरणलाई मध्यनजर गर्दै उमेद्वार बनाउने रणनीति अख्तियार गरेको देखिन्छ । २०७०को संविधानसभाको निर्वाचनको आँकडालाई केलाउँदा चन्द्रपुर नगरपालिका क्षेत्रमा काँग्रेस झिनो मतान्तरले अघी देखिएको छ । तर सोहि चुनावको परिणामलाई मध्यनजर गर्दै निर्वाचन परिणाम दोहोरिनेमा काँग्रेस नेता कार्यकर्ता ढुक्क छन्। यसबीचमा भएका सांगठनिक गतिविधीले पनि काँग्रेस उत्साहित देखिन्छ । प्रतिष्पर्धात्मक हिसावले काँग्रेसका आकाँक्षीहरु पनि कम देखिदा त्यसको सकारात्मक प्रभाव  आम मतदातामा पर्ने आँकलन काँग्रेसका स्थानिय रणनीतिकारहरुले गरेका छन् । काँग्रेस भित्रको आन्तरिक गुट व्यवस्थापन गरेको फाइदा समेत यो चुनावमा लिने उनीहरुको विश्वास छ । निर्वाचनमा चर्चामा रहेका काँग्रेसका मेयरका प्रत्यासीहरुमा धनलाल ठोकर, रमेशहरी भट्टराई, रामचन्द्र चौधरी र केदार थापा रहेका छन् । 
 
एमालेमा भने केपी ओली समहु र माधव नेपाल समुहले एकले अर्कालाई सहयोग गर्ने परिस्थिति भित्रि रुपमा छैन। बाहिर देखिदा कुनै गुटगत प्रभाव नभएको देखिएपनि चुनावमा एकले अर्कालाई सहयोग गर्ने परिस्थिति नभएको एमालेका कार्यकर्ताहरुले दुखेसो पोखेका छन् । मेयरका आकाँक्षी पनि अन्य दलमा भन्दा धेरै रहेका छन् । एमालेका तर्फबाट क्षेत्रीय अध्यक्ष बाबुराम दाहाल, चन्द्रनिगाहपुरका पूर्व अध्यक्ष उद्धव रेग्मी, चन्द्रनिगाहपुर वडा नम्वर १का पूर्व वडा अध्यक्ष कृष्ण तिमिल्सिना र वडा नम्वर ५का पूर्व अध्यक्ष विनोद घिमिरे, पुराना आदिवासी जनजाती नेता अमर आले, खड्ग वम्जन, अखिलेश चौधरी, तुलसी गिरी, जिल्ला सचिव लक्ष्मण रेग्मी, स्थानिय समाजसेवी सुवोल काफ्ले लगायतकाको नाम चर्चामा रुहँदा एमालेका केन्द्रीय सदस्य कल्याणी खड्काको नाम पनि कार्यकर्ताहरुले लिएका छन् । 
 
माओवादी केन्द्रबाट नगर अध्यक्ष राजु धामी, केन्द्रीय सदस्य एकराज थापा, सुकुम्वासी आयोगका पूर्व अध्यक्ष हरि पौडेल, वाइसियलका केन्द्रीय सदस्य अमित श्रेष्ठको नाम चर्चामा रहेपनि केन्द्र अझै पनि निर्णायक तहमा छलफलमा जुट्न सकेको छैन । 
 
चन्द्रपुरमा मोर्चाको प्रभाव खासै नभएपनि अन्तिममा उमेद्वारी भने पर्ने देखिन्छ । राप्रपाले २०७०को निर्वाचनमा पाएको मतले उत्साहित हुँदै आफ्नो पनि स्थानिय तमा उमेद्वारी रहने बताउँदै आएको छ । तर उमेद्वारको बारेमा खासै चर्चा छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ