arrow

२ नं प्रदेशमा निर्वाचन गर्न एउटै चुनौती, सुरक्षाको छैन चिन्ता

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
prasesh-2.jpeg
काठमाडौं । सरकारले स्थानीय निर्वाचनको मिति तय गरेसँगै देश स्थानीय तहको निर्वाचनमय बनेको छ । धेरैले देशको सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि प्रदेश नं २ मा पर्ने तराईका ८ वटा जिल्लामा सहजै निर्वाचन हुनेमा शंका व्यक्त गरिरहेका छन् । ती जिल्लाहरुमा पनि निर्वाचनको विरुद्धमा रहेको बताउने मधेशी मोर्चाका नेताहरुको प्रभावक्षेत्र रहेकोले उनीहरु निर्वाचनमा नगएको खण्डमा के शान्तिर्पूक निर्वाचन हुन सक्ला त ? यो चासो धेरैमा देखिन्छ । 
 
तर, सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई अनौपचारिक रुपमा कुराकानी गर्दा कार्यालयले सुरक्षा चुनौतीलाई निर्वाचनको सामान्य विषयको रुपमा राख्दै सुरक्षाको कारण २ नं प्रदेशमा निर्वाचन नहुने हो कि भन्ने विषयमा उनीहरु खासै चिन्तित देखिँदैनन् । बरु, राजनीतिक सहमतिलाई नै उनीहरुले मूल चुनौतीको रुपमा लिएका छन् । त्यसमा पनि राजनीतिक दलहरुबीच मतदान केन्द्रको विषयमा कुराकानी मिल्यो भने निर्वाचनका सबै जटील प्रक्रियाहरुको अन्त हुने निर्वाचन अधिकृतहरुको बुझाई छ । 
 
अहिलेसम्म निर्वाचनमा सहभागीहुनको लागि मोर्चामा आवद्ध सबै दलले अधिकांश मधेशी जिल्लामा नामावली दर्ता गरिसकेका छन् भन् उनीहरु अहिले जनताको घरदैलोमा समेत पुगिसकेका छन् । यस्तो अवस्थामा उनीहरुले नै मतदान केन्द्र छनौटमा भने अवरोध गरिरहेका छन् । 
 
यस विषयमा कुराकानी गर्दा २ नं का जिल्लामा निर्वाचनअधिकृतहरु मतदान केन्द्र निर्धारणको विषयमा दलहरुसँग नै छलफल भईरहेको बताएका थिए । उनीहरुले आन्तरिक रुपमा सबै तयारीहरु पूरा गरिसकेका छन् । राजनीतिक दलहरुबीच यस विषयमा सहमति भएपछि मतदानकेन्द्रको विवरण केन्द्रमा पठाउने बाहेक जिल्ला निर्वाचन कार्यालयबाट तयार पार्ने सबै तयारी पूरा भईसकेको निर्वाचन अधिकृतहरुले जानकारी दिए । 
 
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुरले सबै दलहरुले यस मतदान केन्द्र छनोटको विषयमा केही समय पछि गरौं भनेकोले अहिले सहमति नभएको स्पष्ट पारे । उनले मतदान केन्द्र छनोट गर्न सकिए निर्वाचनको लागि चुनौती लगभग अन्त्य हुने दाबी पनि गरे । अन्य विषयमा के छन् चुनौतीहरु भन्ने प्रश्नमा उनले यस बाहेक सप्तरीमा अन्य विषयले खासै चुनौती नदिने स्पष्ट पारे । उनले पटकपटक सो विषयमा छलफल चलिरहेको पनि जानकारी दिए । 
 
त्यस्तै सिराहामा पनि चुनौती मतदान केन्द्र निर्धारणको लागि मात्रै रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिईन् । छलफलमा सहमति होला जस्तो भएपनि सहमति भईनसकेको उनले जानकारी दिईन् । मतदान केन्द्र निर्धारण भयो भने सिराहाको निर्वाचनका लागि महत्वपूर्ण खड्गो टर्ने उनको बुझाई छ । 
 
त्यस्तै, धनुषाकी जिल्ला निर्वाचन कार्यालयकी प्रमुख पुष्पा कुमारी झाले पनि सोही कुरा दोहोर्याईन् । उनले पनि निर्वाचनको लागि महत्वपूर्ण चुनौती भनेको नै सबै दलहरुलाई सहमतिमा ल्याएर मतदान केन्द्र निर्धारण गर्नु नै मुख्य चुनौतीको विषय रहेको स्पष्ट पारिन् । उनले दलहरुबीच छलफल भईरहेकोले सो विषय पनि छिट्टै टुंगिने स्पष्ट पारिन् । सुरक्षाको चुनौती भने खासै नरहेको उनको भनाई थियो । 
 
कुन् दलले कहाँकहाँ दर्ता गराए ? 
अहिले निर्वाचनमा सहभागी नहुने भनेर घोषणा गरेको मधेशी मोर्चामा कूल ७ दल आवद्ध रहेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, संघीय समाजवादी फोरम, तराई मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिक मधेशी मोर्चामा आबद्ध रहेका छन् । यी दलहरु स्थानीय निर्वाचनको लागि भनेर २ नं प्रदेशका सबै जिल्लाहरुमा अधिकांश दर्ता भईसकेका छन् । यस्तो अवस्थामा मधेशी मोर्चाहरु आफ्ना केही मागहरु पूरा गरेर भएपनि स्थानीय निर्वाचनमा तोकिएकै मितिमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको छ भन्ने बुझ्न सकिन्छ ।
 
सम्बन्धित जिल्लाका स्थानीय पत्रकारहरुले दिएको जानकारी अनुसार अहिले मधेशी मोर्चाका नेताहरुमा अन्य दलका नेताहरुलाई भन्दा चुनावी माहोल तातेको छ । विशेषगरी, सप्तरी, सिराहा, धनुषा, पर्सा लगायतका जिल्लाहरुमा मधेशी मोर्चाका नेताहरु नै बढी सक्रियताका साथ अनौपचारिक प्रचारमा लागेका छन् । उनीहरुले अहिले प्रत्यक्ष रुपमा चुनावी प्रचारप्रसार त गरेका छैनन् । तर, सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि मोर्चाका नेताहरुको अनौपचारिक घर आँगन अभियान सञ्चालन गरिरहेका छन् । 
 
मेची महाकाली अभियानको क्रममा झडप भएपछि अहिले एमाले सप्तरीमा प्रचारमा लाग्न सकेको छैन भने नेपाली काँग्रेसले सामान्य कार्यक्रमहरु स्थानीय तहमा गरिररहेको छ । तर, मोर्चा समर्थित दलहरु भने सक्रियताका साथ घरदैलोमा छन् । 
 
मधेशी मोर्चासँग आवद्ध दलका एक सिराहा जिल्लास्तरीय नेताले आफूहरु पनि अनौपचारिक रुपमा चुनावी अभियानमा लागेको घुमाउरो शैलीमा स्वीकार गरे । उनले मोर्चाको निर्णय नभई औपचारिक रुपमा प्रचारप्रसारमा लाग्न नसकेको भन्दै पछि सहमति भएर निर्वाचनमा जाने सहमति भयो भने चाहिँ के हामी हेरेको हेरै हुने रु भन्दै उल्टै प्रतिप्रश्न गरे । उनले निर्वाचन भाँड्न परेपनि सहज हुने भएकोले जनतासँगको भेट भने बाक्लो बनाएको स्पष्ट पारे । 
 
उता, सप्तरी जिल्लामा मधेशी मोर्चामा आवद्ध दलहरु मध्ये तमलोपा र फोरम गणतान्त्रिकले दल दर्ता गराएका छैनन् । यस बाहेक पाँचवटै मोर्चा आवद्ध दलहरुले दल दर्ता गराएका छन् । त्यस्तै, कूल २२ वटा दल दर्ता भएको सिराहामा मधेशी मोर्चा आवद्ध दलहरु सबैले निर्वाचनको लागि दर्ता गरिसकेका छन् । त्यस्तै, धनुषा र पर्सामा पनि मोर्चा आवद्ध सबै दलहरुले दल दर्ता गराएको सम्बन्धित निर्वाचन आयोगले जनाएको छ । 
 
उता, निर्वाचनको विषयमा कुराकानी गर्नको लागि बोलाईएको सर्वदलीय बैठकमा पनि मधेशी मोर्चा आवद्ध दलहरु सहभागी हुँदै आएका छन् । उनीहरुले मतदान केन्द्र सिफारि समितिको बैठकमा पनि नियमित सहभागी भएर आफ्ना गुनासाहरु राख्ने गरेको निर्वाचन कार्यालयहरुले जनाएका छन् । 
 
यसरी सरकारलाई निर्वाचन गराउनको लागि चुनौतीको रुपमा रहेको दुई नं प्रदेश र त्यसमा पनि विरोधीको रुपमा रहेको मधेशी मोर्चा आफैं निर्वाचन प्रचारप्रसारमा सक्रिय भएको विषयले भने सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न हुने सम्भावना बढ्न थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ