arrow

'पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ रोल्पा प्रहरी'

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ चैत १५ मंगलबार
police-man.jpg.jpeg
 लिबाङ (रोल्पा)। “पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ रोल्पा प्रहरी” कुरेली–८ रोल्पाकी ७२ वर्षिया सकुन्तला रोकाको भनाइ हो यो । 
 
दशवर्षे सशस्त्र युद्धका बेला प्रहरी भन्दा रोकाको सातो जान्थ्यो, किनकी उनका २२ वर्षिय निर्दोष छोरालाई युद्धकै समयमा गस्तीमा हिडेको प्रहरीले अनाहकमा जेल हालेको थियो ।
 
 भर्खरै बिबाह गरेको छोरो जेल परेपछि नयाँ बुहारी तथा बुहारीका आफन्त र परिवारलाई निकै कष्ट सहनु परेको थियो । यसरी जेल हालेको छोरालाई प्रहरीले  लामो सयम सम्म थुनामा राखेर यातना समेत दिएको उनको भनाइ छ  । यतिमात्र होइन उनका देवरको छोरालाई माओबादीको आरोपमा प्रहरीले हत्या गरेको थियो । जसका कारण प्रहरी भन्ने वित्तिकै रोकालाई घृणा उत्पन्न हुन्थ्यो । तर रोकाका अनुसार अहिले दिन फेरिएका छन् अहिलेको प्रहरीले जनतालाई दुःख, कष्ट होइन शान्ति सुरक्षा दिन्छ, न्याय दिन्छ, र त जनताको साथी बनेको छ प्रहरी । आफ्नै भाइ सन्तानको घरमा भाडामा प्रहरी चौकी बसेपछि थप सुरक्षाको अनुभूभि हुँदैछ रोका परिवारलाई ।
 
रोका जस्तै गैरीगाउँ–९ रोल्पाका होटल ब्यवसायी मानबहादुर डाँगीलाई अहिलेको प्रहरी साथी जस्तो लाग्छ । उहाँको होटेलमा प्रहरी आउँदा, खानाखाँदा बस्दा थप सुरक्षाको अनुभूति हुन्छ । तर उनलाई पनि एकताका प्रहरी भन्दा मन चिसो हुन्थ्यो, कता कता मुटुमा कम्पन हुन्थ्यो प्रहरी भन्ने शब्दसंगै गोला , बारुद्ध र बन्दूक पर्यायबाची शब्द बनेर संगसंगै गासिन्थ्यो । 
 
यस्तै भाबाङ–८ रोल्पाकी विष्णु घर्तीमगरलाई पनि युद्धका बेला प्रहरीले आफूलाई दुःख दिन्छन् कि मार्छन् कि भन्ने चिन्ताले सताउथ्यो ।  जसका कारण उनले प्रहरी पेशामा संलग्न रहेका श्रीमान्लाई जागिर छोड्न लगाए । समाजमा सबैले प्रहरीलाई  नकारात्मक दृष्टिकोणले हेर्न थालेपछि उनलाई प्रहरी प्रति वितृष्णा उत्पन्न भएको थियो ।
 
 उनका आफन्तलाई प्रहरीले दुःख नदिएको भएपनि गाउँ समाजमा पछिल्ला दिनमा प्रहरी भन्दा मन खिन्न हुन्थ्यो कहिले काँही त प्रहरीसंग विवाह गरेकोमा पछुतो पनि हुन्थ्यो । श्रीमान् प्रहरी जागिर छोडेर घर फर्किएपछि मात्र उनलाई केही सहजताको अनुभूति हुन थाल्यो । तर अहिले प्रहरीप्रति उनको धारणा फेरिएको छ । अब त प्रहरीले अन्यायमा परेका जनतालाई न्याय दिन्छ भन्ने कुरा उनले राम्ररी बुझेकी छन् । जनतासंग प्रहरी हातेमालो गरेर हिड्नसकेमात्र समाजमा शान्ति सुरक्षामा थप टेवा पुग्ने घर्तीमगरको धारणा छ । उनका अनुसार कुनै बेला चिनेका प्रहरीले पनि जनतालाई दुःख दिन्थे भने आज नचिनेका प्रहरीपनि जनताका सहयोगी वा साथी बनेका छन् । 
 
यस्तै भाबाङ स्थायी ठेगानाभई लिबाङ–६ रोल्पामा बस्दै आएकी ७३ वर्षिया नौमती रोकालाई पनि युद्धका बेला प्रहरीले जनतालाई मार्छन् होला खान्छन् होला भन्ने लाग्थ्यो । घर, धारा, पधेरा, घाँसदाउरा जाँदापनि प्रहरीले सिद्धाउने भए जस्तो लाग्थ्यो तर पछिल्ला दिनमा उनलाई प्रहरी आफ्नै नातेदार हो जस्तो लाग्न थालेको छ ।संघीयताका नाउँमा अरुसबै हटेपनि प्रहरी हटाइनु हुँदैन उनि भन्छिन् ।
 
यस्तै कोर्चाबाङ –५ रोल्पाकी पामु पुन युद्धका बेला प्रहरीले दुःख दिएको स्मरण गर्दै भन्छिन् “प्रहरी भन्ने जातै नराम्रो लाग्थ्यो ,” खै त्यसबेला किन दुःख दिए प्रहरीले ? अहिले त दाइभाइ जस्तै ब्यवहार गर्छन् । जमाना नै त्यस्तै हो कि भन्ने उनको मानसिकता बनिसकेको छ । 
 
यस्तै जंकोट–२ रोल्पाकी प्रेमा पुनमगरलाई पनि युद्धका बेला प्रहरी गाउँको हिंसक प्राणाी जस्तो लाग्थ्यो । तर अहिले उनले राम्ररी बुझेकी छन् । त्यसबेलाको प्रहरी बाध्यताले त्यस्तो कठोर बनेका रहेछ भन्ने लाग्छ उनलाई । “हिजो सरकार र माओबादी लखेटालखेट गरे आज नङ र मासु जस्तै बनेका छन् दुबै पक्षले जनतालाई अचानो बनाएको उनको आरोप छ । प्रहरी नरभक्षक होइन देश रक्षक हो अब त प्रहरी बिना देश चल्दैन जस्तो देखिन्छ” उनले भनिन् ।
 
यस्तै युद्धकै समयमा जन्मिएका प्यूठानका नारायण प्रसाद सुवेदी हाल लिबाङ ६ रोल्पामा फेन्सी पसल संचालन गरेर बस्दै आएका छन् । उनलाई पनि अग्रजहरुले प्रहरीका बारेमा नराम्रा कुरा नै सुनाएका छन् । युद्धका बेला प्रहरीले धेरै जनताको अनाहकमा  ज्यान लिए भन्ने सुवेदीको बुझाइ बनेको छ । तर उनको हालको भोगाइ अनुसार प्रहरी अहोरात्र आफ्नो सेवामा खटिरहेको छ । प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नुको साथै जनतालाई साथीको रुपमा सहयोग गर्दै आएको उनको भनाइ छ ।
 
हिजो के भयो भन्ने कुरा भन्दा आज के भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुने हुँदा अतित बिर्सनुपर्नेमा रोल्पाली जनताको जोड छ । जिल्लाका पछिल्ला गतिविधि हेर्दा अन्यायमा परेका रोल्पाली नागरिकले प्रहरीबाट न्याय पाएको अनूभुति गरिरहेका छन् । 
 
प्रहरीले पीडितलाई न्याय दिन्छ भन्ने बुझाइ बनेपछि जिल्ला प्रहरी कार्यालय रोल्पामा विभिन्न क्षेत्रबाट अन्यायमा परेका पीडितहरु न्यायको लागि आउन थालेका छन् । प्रहरीले कहिले “जनताको साथी प्रहरी” त कहिले “मुस्कान सहितको सेवा” अभियान थालेपछि जनता र प्रहरी वीचको सम्वन्ध अझ प्रगाढ बन्दै गएको अधिकारकर्मीहरुको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ