arrow

मेयरको विषयलाई लिएर धादिङ एमालेमा ओली र नेपाल पक्षबीच घम्साघम्सी

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
oli-madhav.jpg.jpeg
धादिङ । नेकपा एमाले धादिङमा आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी उठाउने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष माधव कुमार नेपाल पक्षबीच घम्साघम्सी हुने देखिएको छ । केन्द्रमा अहिले एकीकृत रुपमा मेची महाकाली अभियानमा हिँडेका ओली र नेपाल पक्षबीच जिल्ला तहमा भने एकले टिकट पाएको खण्डमा अर्कोले बागी उम्मेदवारी समेत दिनेसम्मको स्थिती देखिएको हो । 
 
धादिङको विशेषगरी दुई वटा नगरपालिकामा एमालेका दुई पक्षबीच कडा टक्कर पर्ने देखिएको एमाले निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार धादिङको कान्छो नगरपालिकाको रुपमा रहेको धुनिवेशी नगरपालिकामा अहिले नेकपा एमालेको तर्फबाट ६ जना आकाँक्षी छन् । जसमा तीन जना माधव नेपाल पक्षका र दुई जना केपी ओली पक्षका छन् । 
 
ती उम्मेदवारहरुमध्ये सुरेश आचार्य, रामराजा पाण्डे र वालकृष्ण आचार्य नेपाल पक्षका हुन् भने केदार पाठक, बच्चु उप्रेती र धु्र्व शर्मा केपी ओली पक्षबाट निर्वाचनमा मेयरको लागि उम्मेदवारी दिने तयारीमा छन् । जसमध्ये पाण्डे र पाठकबीच आफूले जसरी पनि मेयरमा टिकट पाउने हक रहेको अडानमा छन् । यो विवादको नगर कमिटीमा हल निस्कने सम्भावना नै देखिएको छैन । पाण्डे अहिले नगरकमिटी संयोजक बनेका छन् । त्यसैले उनीहरुको टिकटको विषय प्रान्तीय कमिटीबाट टुङ्ग्याएपनि उनीहरुमा एकअर्काप्रतिको तुष भने हट्ने देखिँदैन । 
 
मंगलबार हाम्राकुरासँग कुराकानी गर्दै पाण्डे र पाठक दुबैले आफू योग्य उम्मेदवार रहेको भन्दै आफूलाई टिकट नदिनु भनेको पार्टीले आफूमाथि गरेको अन्याय हुने प्रतिक्रिया दिएका थिए । तपाईहरु गुटबन्दीमा लाग्नु भएको हो भन्ने प्रश्नमा दुबै पक्षमा आफूहरु गुटबन्दीको विषयमा अहिले बोलेर विवादमा आउन नचाहेको स्पष्ट पारे । स्रोतका अनुसार आफ्नो गुट भन्दा बाहिर गएर उम्मेदवारी दिएको खण्डमा अर्को पक्षले अन्तर्घात समेत गर्न सकिने देखिएपछि अहिले एमाले धादिङ सो विषयमा गम्भीर छलफलमा लागिपरेको छ । 
 
उता, धादिङ सदरमुकाम रहेको धादिङ बेसी समेत रहेको नीलकण्ठ नगरपालिकामा पनि यस्तै टक्कर परेको छ । अहिले विशेषगरी टिकट पाउने सम्भावना रहेका रामकुमार अधिकारी र ओली पक्षको मानिने अर्जुन गोर्खालीबीच टिकटकै विषयमा कडा टक्कर पर्ने देखिएको छ । एकातर्फका हरि अधिकारी र बेद बहादुर खाँडले त अर्जुन गोर्खालीले टिकट पाए भने पार्टीले कारबाही गरे पनि वागी उठेरै छाड्ने अडान राख्दै आएका छन् । 
 
यसरी मेयरको विषयलाई लिएर धादिङमा दुई पक्षीय एमाले नेताहरु दुई कित्तामा उभिएका छन् । अहिले धादिङको तीनै क्षेत्रमा एमालेका सांसदहरु विजयी भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ