arrow

निर्वाचनमा भय रहित वातावरणमा मतदाताले मत खसाल्न पाउनुपर्नेमा जोड

logo
चेतन रेग्मी,
प्रकाशित २०७३ चैत १६ बुधबार
chetan_tulsipur.jpeg
तुल्सिपुर । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले राज्य पुर्नसंरचना र स्थानीय तहको निर्वाचन ढाँचा र व्यवस्थापन विषयमा  बुधबार दाङको तुल्सीपुरमा प्रादेशिक परामर्श गरेको छ । कार्यक्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का महासचिव डा. गोपाल कृष्ण सिवाकोटीले निर्वाचनको विश्वसनीयता कायम गर्न नियोकले सुक्ष्म ढंगले निर्वाचनको अनुगमन गर्ने बताए ।
 
उनले निर्वाचनमा शक्ति र पदको दुरुपयोग भएको छ कि छैन, राज्यको ढुकुटीको दुरुपयोग भएको छ कि छैन भन्नेदेखि मतपत्र कति स्पष्ट छ, मतदाताको नामावली सहि छ कि छैन र निर्वाचन पश्चात् मतपेटिका सुरक्षित रहे कि रहेनन् ? भन्ने जस्ता कुराहरुमा नियोकले गम्भीर ढंगले अनुगमन गर्ने जानकारी दिए । 
 
त्यसैगरी, राज्यपुर्नसंरचना सम्बन्धि विज्ञ कृष्ण प्रसाद सापकोटाले जनताको प्रतिनिधित्व सुनिश्चितता निर्वाचन पछि मात्र हुनसक्ने बताए । त्यसैगरी, नियोग दाङका सल्लाहकार विनोद कुमार श्रेष्ठले २०४८ साल यताका हरेक निर्वाचनहरुमा नियोगले अनुगमन गर्दै आएको जानकारी दिए । 
 
त्यस्तै अर्का सल्लाहकार लीला शाहले नियोगले निर्वाचन मर्यादित बनाउन भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा जिल्लामा क्रियाशील प्रमुख दलका प्रतिनिधिहरुले निर्वाचनमा भय रहित वातावरणमा मतदाताले मत खसाल्न पाउनुपर्ने धारणा राखेका थिए । 
 
यसरी धारण राख्नेहरुमा नेपाली काँग्रेसका जिल्ला सदस्य सुरेन्द्र खड्का, नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य निर्मल आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका छोटीलाल चौधरी, नेकपा मसालका भरत भण्डारी लगायतका नेताहरुले उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन आचार संहिता पूर्णरुपले कार्यान्वय गरेर निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधली रहित वनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम नियोगका केन्द्रीय उपाध्यक्ष चरण प्रसाँईको अध्यक्षतामा भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ