arrow

संयुक्त प्राविधिक टोली नै खटाएर गरिँदै नेपाली सीमाको पहिचान, तयारी तिब्र

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७३ चैत १६ बुधबार
anandabazaaar-kanchanpur.jpeg
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा केही दिन अघिदेखि देखिएको नेपाल भारत सीमा बिवाद सुल्झाउन दुबै देश सहमत भएका छन् । बुधबार यस विषयमा भएको दुर्इ पक्षीय छलफलमा यस्तो सहमति भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको पुनर्बास क्षेत्रमा देखिएको नेपाल भारत सीमाको बिवाद सुल्झाउने तयारी दुबै देशले थालेको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए। अस्पष्ट देखिएको सीमाका कारण देखिदै आएको बिवाद समाधानका लागि दुबै सरकार तयारीमा जुटेको प्रजिअ खनालले बताए। 
 
सीमामा देखिएको बिवाद समाधानका लागि भारत पनि सकारात्मक रहेकोले छिट्टै बिवाद टुंगोमा पुग्ने उनले जानकारी दिए। सीमाको सन्दर्भमा सरकार गम्भीर भएर गृहकार्यमा जुटेको बताउँदै प्रजिअ खनालले सीमा क्षेत्रको समस्या समाधानका लागि संयुक्त प्राबिधिक टोलीले तयारी थालिसकेको खबर आफुले पाएको र अब छिट्टै टोलीले काम सुरु गर्ने दाबी गरे। 
जिल्लाको दक्षिण भेगको अस्पष्ट सीमाको ब्यबस्थापन गर्न देखिएको सरकारी अन्यौलताका कारण बढेको बिवादबाट पुनर्बासमा केही दिन अघि स्थानीय गोबिन्द गौतमको ज्यान गएको थियो । 
 
हराएका सीमा स्तम्भहरुको खोजी र पुनर्निर्माणमा नेपाली पक्षको उदासिनताका कारण भारतीय पक्षबाट भुमि अतिक्रमण हुँदै आएको थियो । पुनर्बासको आनन्दबजार स्थित नेपाल भारत सीमा स्तम्भ २०० नम्बर बसही तर्फ करिब ५०० मिटर दक्षिणमा भए पनि भारतीय पक्षले काँक्रितातको बगरमै रहेको डुम्ब्रीको रुखलाई पिल्लर मान्दै आएपछि  स्थानीय जानकारहरुले सो विषयमा बिरोध जनाउदै आएका छन् । 
 
लामो समयदेखि थाँती  रहेको पुनर्बासको सीमा बिवादको मुद्दाले गत फागुन २६ मा भारतीय प्रहरीद्वारा गरिएको गोली काण्डसंगै सीमाको बिवाद चुलिएको छ । सीमाको बिवाद उत्कर्षमा पुगेको यस क्षेत्र र सीमा स्तम्भको बैज्ञानिक आधारमा नाप र पुनर्निर्माणका लागि अबिलम्ब पहलको माग राख्दै स्थानीय पुनर्बासीहरुले बिगत २१ दिन देखि नेपाल भारत सीमा नाका अबरुद्ध पारेका छन् ।
 
गएको फागुन २६ मा भारतीय प्रहरीद्वारा गरिएको हिंशात्मक कदमप्रति भारतले माफी माग्नु पर्ने जिकिर गर्दै आएका स्थानीयले अबैध रुपमा सञ्चालनमा रहेका दक्षिणी नाका बन्द गराउनु पर्ने र स्थायी रुपमा सीमा सुरक्षा बल स्थापना गरिनु पर्ने माग राख्दै आएका छन ।
 
भारतीय पक्षले गोली प्रहार गरी निर्दोष नेपाली नागरिकको ज्यान लिएपछि आक्रोशित भएका नेपाली जनताको प्रदर्शन र थप मानवीय क्षती रोकी शान्ति सुरक्षा बनाउन प्रशासनले केही दिनअघि निषेधित क्षेत्र घोषणा गर्नु परेको थियो । अहिले सो क्षेत्रको सुरक्षा स्थिती बलियो बनाउन सशस्त्र प्रहरी बल परिचालन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ