गगन थापालाई खुलापत्र

प्रिय गगन, प्रकाशित मिति : २०७३ चैत १६ बुधबार , ३६,२९७ पटक हेरिएको
तिमीले आज फेरी दोहोर्‍याएछौ जावलाखेल सम्पन्न एउटा कार्यक्रममा, ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि राजनीति गर्छु, त्यसपछि मैले बिश्राम लिने हो।’ मलाई पहिला पनि तिमीले यो भन्दा चित्त बुझेको थिएन । आज लेख्नै मन लागेर यो धृष्टता गर्दैछु ।
 
सुरुमा अलिकति दार्शनिक कुरा पनि गरूँ: पश्चिमी दार्शनिक अरिस्टोटलले ‘आदर्श राज्य’मा राजनीतिज्ञ ५० बर्षमाथिको हुनुपर्छ भनेका छन् । अमेरिकी राजनीतिज्ञ रोबर्ट केनेडीले उमेरको रेखालाई नकार्दै भनेका छन्,  "दुनियाँले खोजेको युवाको गुण हो, स्वभाव हो, जीवनको समयावधि हैन, मनोभावना हो, मनोबृत्ति हो, कल्पनाको गुण हो, साहसको प्रधानता हो, सहज जीवनको विरुद्ध जोखिम उठाउने भोक/रुचि हो ।" अर्थात् केनेडीका अनुसार युवा भनेको चेतना, जिम्मेवारी र कर्तव्यवोधको सामाजिक, साँस्कृतिक, राजनीतिक, पारिवारिक अवस्थति हो । केनेडीको दृष्टिकोणमा म दम देख्दछु । हो, जिम्मेवारी, क्षमता, रुप, नयाँपना, जोश, विचार, भावना युवाका गुण हुन सक्छन् । युवा विशेष प्रकारको स्वभाव झल्काउने ‘माइन्डसेट’ हो । मलाई साहित्यमा अभी सुवेदी युवा लाग्दछन् । पाउलो कोयलो विल्कुल युवा छन् विचारले । कसले अस्वीकार गर्छ नेल्शन मण्डेला जीवनभर युवा भएर बाँचे भन्दा ? यसरी हेर्ने हो भने युवा बन्ने वा नबन्ने व्यक्ति विशेषको रुचि र गुणमा भर पर्छ ।
 
गगन, मलाई कहिलेकाहीँ तिमीले दिमाग (माइन्ड)ले भन्दा मन (हार्ट)ले काम गर्छौ कि जस्तो लाग्छ । तिमीले जति कठोर भाषण गर्छौ, भित्री व्यक्तित्वमा तिमी बढ़तै भावुक छौ जस्तो लाग्छ ! र त केही निर्णय तिमी भावनाले गर्दछौ । सायद यो निर्णय गर्न पनि तिमीले यथेष्ट सल्लाह गरेनौं । कुरो के हो भने, हामीले नचाहेरै सम्झौता गर्नु परेको संसदीय व्यवस्थामा जनताले एक हदसम्म मात्र नेता चयन गर्न सक्छन् । अनि दललाई नेतृत्व गर्ने र मुलुककै कार्यकारी पदमा पुग्ने कुरा आ–आफ्नो दलको संरचना र लेगेसीमा भर पर्छ । तिमीले नचाहेरै र जनताले नचाहेरै पनि पालो कुर्नु पर्छ । अब तिमीले 'घोषणा गरेको' राजनीति गर्ने बाँकी १३ बर्षमा संसदीय व्यवस्थाको चक्करले तिमी प्रधानमन्त्री बन्न पाउँछौ भन्ने मलाई लाग्दैन । तर जनताले तिमीलाई प्रधानमन्त्री बनेर देश बनाएको हेर्न चाहन्छन् ।
 
बूढो पुस्ताले सन्यास लिने कुरामा तिमी "रोल मोडेल" बन्न खोजेर पनि कुनै अर्थ छैन । यो कसैको लागि पनि उदाहरणीय विषय हुन सक्दैन । अनि तिमीले "५५मा राजनीति छोड्छु भनेर बोलिसकेँ अब जनताले के भन्लान् भन्नु पर्ने वा धक मान्नु पर्ने कुनै कारण पनि छैन । जनताले "बूढा आउट" "बूढा आउट" भनेर कराएका पनि छैनन् । जनतालाई बूढो पुस्ताले गरोस् कि युवाले गरोस् 'आउटपुट' चाहिएको हो, 'डेलिभरी' चाहिएको हो।  दुबै (उमेरले बुढो पुस्ता र उमेरले जवान पुस्ता)ले ‘जोशिला र क्षमतावान’ नेतामा आशा राखेका छन् । उनीहरुका अनुसार ‘काम गर्नु भनेको’ पूरा क्षमता देखाउन सक्ने पदको जिम्मेवारी प्राप्त गर्नुसम्म हो । अर्थात् प्रधानमन्त्री/कार्यकारीप्रमुख । तर बर्तमान संसदीय पद्धतिले त्यो चाहना त्यति छिट्टो पूरा हुन दिँदैन । जनताको विश्वास जितेर मात्र पुग्दैन । कसैको देश बनाउने क्षमता छ तर गाउँको कुलो बनाउने काममा अल्झिराख्नु पर्छ यस पद्धतिमा ।
 
मलाई लाग्छ, राजनीति भनेको उमेरको हिसाबले युवा भएकाले मात्र गर्ने बुझियो भने बिल्कुल गलत हुन्छ । हामीलाई धेरै भोटा फटाएकाहरुको अनुभव चाहिन्छ, जीन्स पाइन्ट भिर्नेहरुको जोश, जाँगर र इच्छाशक्ति चाहिन्छ । अध्ययन, इच्छाशक्ति र असल थिंकट्यांक हुने हो भने तिमीले ८०को उमेरसम्म राजनीति गर्न सक्छौ । नयाँसंग हुने सबै ज्ञान र खूबी तिमिसँग हुन्छ असल थिंकट्यांकमार्फत । राजनीतिमा निर्णायक तत्व/ 'डिसाइडिंग फ्याक्टर' इच्छाशक्ति हो, जुन तिमीमा देखिन्छ ! उमेरले पाक्दा झन बलवान् हुन्छ । खानेपिउने उमेरमा तिमीले जितेका तामसी र रजोगुण उमेर ढल्किदै जाँदा झनै पैताला मुनि पर्दछ्न् ।
आमसाधारणहरुमा अहिले स्वास्थ्य क्षेत्रमा छोटै समयमा भएका सुधारहरुबाट आशा जागेको छ ।
 
गगन, तिमीले गर्न सक्ने ठाउँमा पुगेर राजनीति सुरु गरेको ६ महिना भयो । जम्मा साढ़े १३ बर्ष राजनीति गर्ने र बाँकी समय क्रिकेट हेरेर बस्ने ? हुँदैन । तिमीले एक पुस्ता राजनीति गर्नु पर्छ - कम्तिमा २५-३० बर्ष ।
 
अन्त्यमा, गगनले मात्र होइन, अधिक जनताले पत्याएका र आस गरेका हर पार्टीका कुनै पनि नेताले जनताले अपेक्षा गरेको जिम्मेवारीबाट च्युत हुन "नैतिक" हुँदैन ।
 
शुभेच्छुक
डिकेन्द्र
नयाँ