arrow

दलीय चुनाव चिन्ह नपाए बाबुरामले चुनाव हुन नदिने

तर्क : चुनावमा चिन्ह पाइएन भने दैलोमा टाँस्ने कुरा भएन

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
Baburam-Bhattarai-news.jpeg

काठमाडौं । नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा दलीय चुनाव चिन्ह नपाए चुनावै हुन नदिने चेतावनी दिएको छ । जिल्ला र प्रदेश संयोजकहरुको भेलापछि आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्तिका संयोजक  बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनावै हुन नदिने चेतावनी दिएका हुन् ।

दुई दिन चलेको पार्टी केन्द्रीय परिषद बैठकको निर्णय कार्यान्वयन गर्न र निर्वाचन परिचालनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न विहिबार जिल्ला र प्रदेश संयोजकहरुको भेला बोलाइएको थियो । भेलापछि भएको पत्रकार सम्मेलनमा संयोजक भट्टराईले भने, ‘संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिने र अन्य दललाई चुनाव चिन्ह नै नदिने व्यवस्था कुनै पनि हालतमा मान्य हुँदैन ।’

स्थानीय निर्वाचनका लागि आफूहरुले चुनाव चिन्ह पाउन निर्वाचन आयोगमा धर्ना दिने, ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम समेत गर्ने भट्टराईको भनाई छ । भट्टराईले विहिबारै प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै भट्टराईले प्रधानमन्त्रीलाई दलीय चुनाव चिन्ह दिने बन्दोबस्त गर्न भन्दै ४८ घण्टे अल्टिमेटम समेत दिएका छन् ।

चुनावमा चिन्ह पाइएन भने दैलोमा टाँस्ने कुरा भएन
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले बहुदलीय व्यवस्थामा पनि दलीय चुनाव चिन्ह नदिने व्यवस्था गरिनु लज्जास्पद रहेको बताएका छन् । आफुहरु दलीय चुनाव चिन्ह पाएन भने निर्वाचनमा नजाने बताउँदै उनले भने, ‘चुनावमा चिन्ह पाइएन भने दैलोमा टाँस्ने कुरा भएन ।’ निर्वाचन आयोगले दिएको चुनाव चिन्ह निर्वाचनमा उपयोग गर्न दिइँदैन भने चुनावमा जानुको के अर्थ भयो र । उनले अगाडि थपे, ‘चुनाव चिन्ह दिइँदैन भने हामी चुनाव नै हुन दिँदैनौँ । बहुदलीय व्यवस्थमा यस्तो ऐन कानुनको के अर्थ ।’ प्रधानमन्त्रीलाई हामीले बारम्बार भनेका छौँ ।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रिय दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियत मात्रै पाउने उल्लेख छ । यो व्यवस्था कायम रहे नयाँ शक्तिले दलीय आधारमा नभई स्वतन्त्र हैसियतमा उम्मेदवार उठाउनु पर्ने छ । उम्मेदवारहरुले फरक–फरक चुनाव चिन्ह पाउँछन् ।

निर्वाचन लक्षित समिति
नयाँ शक्तिले स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न समिति बनाएको छ । संयोजक भट्टराईकै संयोजकत्वमा निर्वाचन परिचालन समिति, केशव दाहालको संयोजकत्वमा ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन भएको छ । यस्तै, नयाँ शक्तिले रामचन्द्र झा संयोजक रहेको राजनीतिक सम्वाद समिति, डण्ड श्रेष्ठ संयोजक रहेको स्वयंसेवक परिचालन समिति र पासाङ शेर्पा संयोजक रहेको आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ