arrow

पत्रकार महासंघ इलामको विवाद फुटबल रिपोर्टिङमा पनि देखियो

महासंघलाई पत्र नदिएको भन्दै रिपोर्टिङ बहिस्कार

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
patrakar-sangh.jpeg
बाबु नेपाली, काठमाडौं । नेपाल पत्रकार महासंघ इलाम जिल्लामा रिपोर्टिङको विषयलाई लिएर विवाद भएको छ । आधिकारिकताको विषयलाई लिएर पत्रकारहरुबीच खिचातानी भएपछि इलाममा बिहीबारदेखि सुरु भएको माइभ्याली गोल्डकप फुटबलको रिपोर्टिङ एक पक्षले नगरेको हो । 
 
माइभ्याली फुटबल क्लव र इलाम जिल्ला फुटबल संघले संयुक्त रुपले आयोजना गरेको यो प्रतियोगितामा एक पक्षलेमात्र रिपोर्टिङ गरेपछि मारमा परेको छ ।
 
इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्कीले हाम्राकुरासंग भने, ‘पत्रकार महासंघको विवाद हामीलाई थाहा हुने कुरा पनि भएन, को आधिकारिक हो भन्ने पनि थाहा भएन, तर यहाँ त वहिस्कार गरिएको सुन्दा दुःख लाग्यो ।’
 
उनले थप भने, ‘फुटबल साझा हो, सबैलाई रिपोर्टिङ गरिदिन आग्रह गरेका थियौं यहाँ त पत्र लेखेर बहिस्कार गरियो, स्थानीय पत्रिकाहरुमा पत्रबाजी भए ।’
 
महासंघको दुई खेमा हुँदा विप्लव भट्टराई पक्षले रिपोर्टिङ गरेको थियो भने कोकिला ढकाल पक्षले बहिस्कार गरेको थियो । 
 
खड्कीले शुक्रबारदेखि ढकाल पक्षले पनि रिपोर्टिङ गर्ने जनाए । उनले भने, ‘उद्घाटन सकिएपछि हामीहरु उहाँहरुसंग बसेर अनुरोध गरेका छौं, विवादमा हामीलाई नमुछ्नुस् भनेका छौं, उहाँहरु शुक्रबारदेखि रिपोर्टिङमा आउनु हुन्छ ।’
 
विवादको चुरो –
इलाममा दुई वटा महासंघ खडा भएका छन् । दलीय विवाद मच्चिएपछि कोकिला ढकाल र विप्लव भट्टराई पक्षको छुट्टाछुट्टै महासंघ खडा भएको हो । गैरपत्रकारलाई पनि महासंघ सदस्य एवं प्रतिनिधि बनाइएको भन्दै भट्टराई पक्षले त्यसको विरोध र निष्पक्ष छानबिनका लागि छ दिन महासंघको केन्द्रीय कार्यालय संचारग्राममा आमरण अनसन बसेका थिए ।
 
त्यसपछि महासंघ सभापति महेन्द्र विष्टसहित पूर्व सभापतिहरु किशोर नेपाल र सुरेश आचार्यलगायत इलाम आइ समस्या समाधान गर्ने जनाएका थिए । उनीहरु अहिलेसम्म पनि पुगेका छैनन् । 
 
उनीहरु नपुग्दासम्म दुवै पक्षले महासंघ हाम्रो हो भनिरहेको छ । फुटबल आयोजना गर्नेलाई पत्रकारहरुको चुरो कुरो थाहा नहुन पनि सक्छ । तर विवाद त्यसमै भयो । उनीहरुले संस्थापनलाई चिठ्ठी पठाएनन् । उद्घाटनका लागि महासंघलाई नबोलाएको झोंकले विवाद निम्तियो । 
 
यसबारे इलाम जिल्ला फुटबल संघका अध्यक्ष खड्की आफूहरुलाई विवादबारे थाहा नभएकाले मारमा परेको बताउँछन् । त्यस्तै महासंघको नेतृत्व दावी गर्ने भट्टराई भन्छन्, ‘केन्द्रबाट विवाद समाधान गर्न प्रतिनिधिहरु नआएसम्म कार्यक्रमको रिपोर्टिङ भइहाल्छ महासंघलाई संस्थापन नगरौं भन्ने भएको हो, तर उहाँहरु आधिकारिकता खोज्नुभयो जसले विवाद निम्तियो ।’
 
भट्टराईले थपे, ‘केन्द्रबाट नआउन्जेल र विवाद नमिलुन्जेल हामी पनि आधिकारिक दावी गरिरहेका छौं ।’
 
पत्रकारको विवाद पत्रकारभित्रै सीमित हुनुपर्ने थियो । तर दुर्भाग्य यसरी रिपोर्टिङमै देखिन थालेपछि भने पत्रकारितामै विश्वास गुम्ला भन्न सकिन्न ।
 
किनकि पत्रकारको काम त रिपोर्टिङ खोज्ने हो सम्मान हैन । अझ दलीय राजनीतिले ओतप्रोत भइरहेको महासंघकै नाममा यस्ता हर्कत हुन थाले भने नैतिक पत्रकारिता गरिरहेका पत्रकार कहाँ जाने भन्ने समस्यासमेत देखिने निश्चित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ