arrow

महोत्तरीमा मधेशी दल प्रचारमा सक्रिय, काँग्रेस जनमत बुझ्दै, अरुको दावेदार चर्चामा

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
Election_-Box.jpeg
बर्दिवास । स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाको बर्दिवास नगरमा राजनीतिक चहलपहल बढ्न थालेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलले बर्दिवासमा निर्वाचन गतिविधिमा सक्रियता बढाउन थालेका छन् । 
 
निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतले निर्वाचनको तयारी तीव्र बनाएको देखिएको छ । निर्वाचनको चर्चासँगै बर्दिवास नगरमा पार्टीबाट टिकट प्राप्त गर्ने आकांक्षीले आआफ्ना दलका शक्ति केन्द्रमा दौडधुप पनि सुरु गर्न थालेका छन् । 
 
उम्मेदवार चयनका लागि जनमत सर्वेक्षण गर्ने कार्य भइरहेको नेपाली काँग्रेसले जनाएको छ । उम्मेदवारबारेको प्रस्ताव नै औपचारिक रुपमा दलका बैठकमा प्रवेश पाइनसके पनि काँग्रेसले बर्दिवासका युवा उद्यमी प्रल्हाद क्षत्रीलाई प्रमुखको टिकट दिने तयारी गरिरहेको चर्चा छ । 
 
त्यसैगरी, काँग्रेसबाटै मुकेश काफ्ले र महेश झाले पनि टिकटको आशा सङ्गालेका काँग्रेसजनले बताएका छन् । यसैबीच, काँग्रेसभित्रको राजनीतिलाई नजिकबाट नियालिरहेका बुद्धिजीवीले काँग्रेसका महासमिति सदस्य एवम् स्थानीय नेता चिरञ्जीवी हमाल पनि उम्मेदवार बन्नसक्ने सम्भावनालाई औँल्याएका छन् । 
 
त्यसैगरी, एमालेबाट प्रमुख पदका लागि स्थानीय उद्यमी सुरेश राउत, चन्द्रलाल क्याप्छाकी मगर, गुञ्ज खड्का, सोमबहादुर कार्की र चन्द्र थापासहितको चर्चा सुनिन्छ । यद्यपि सो पार्टीका जिल्ला सचिव भानुभक्त पोखरेलले भने बिहीबार मात्र सम्पन्न जिल्ला कमिटीको बैठकमा उम्मेदवारको मापदण्डबारे मातहत कमिटीलाई जानकारी दिएर तदनुरुप नाम सिफारिस गर्न निर्देशनसम्म मात्र दिइएको जानकारी दिए। 
 
आफ्नो पार्टीले निर्वाचन प्रयोजन र पार्टी कमिटी व्यवस्थित गर्न पहिलो चरणमा जिल्लाका तीन नगरपालिकासहित १२ गाउँपालिकामा अहिलेको स्थानीय तहको व्यवस्थाअनुसार पार्टी कमिटीको रुपान्तरण गरिएको सचिव पोखरेल बताए ।  
 
यसैगरी, नेकपा (माआवादी केन्द्र)बाट सो पार्टीका स्थायी समिति सदस्य राजु खड्का र केन्द्रीय सदस्य विदुरकुमार कार्की प्रमुख पदको उम्मेदवारका रुपमा चर्चामा छन् । निर्वाचन तयारीका कुरा अघि बढेपछि उम्मेदवारबारे चर्चा परिचर्चा हुनु स्वभाविकै भए पनि अहिलेसम्म आफ्नो नगर कमिटीले नामकै बारेमा भने औपचारिक छलफल सुरु गरिनसकेको माओवादी केन्द्रका नगर इञ्चार्ज ज्ञानबहादुर गोले बताए। 
 
निर्वाचनमा राप्रपा, नयाँ शक्ति नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टीले पनि आफ्नो दलबाट कसलाई उम्मेदवार बनाउने विषयमा संवादलाई सघनरुपमा अघि बढाएका छन् । 
 
संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने पार्टीको नीति रहेपनि चुनाव हुने निश्चितता बढे तत्काल निर्णय गर्नुपर्ने हुँदा त्यसबारे प्रशस्त छलफल हुन सकोस् भनेर तयारी अघि बढाइएको रामसपाका बर्दिवास नगर इञ्चार्ज राम भण्डारी बताए । 
 
दलले औपचारिक÷अनौपचारिक रुपमा निर्वाचनका लागि तयारी बढाएसँगै नगर बस्तीका चोकचोकमा उम्मेदवारबारे चियागफ र अड्कलबाजी भइरहेका देखिन्छन् । नगर बस्तीका सर्वसाधारणले पनि निर्वाचनबारे सघन चासो बढाएका छन् । 
 
विकास कार्य र दैनिक प्रयोजनका अन्य काममा जनप्रतिनिधि नहुँदा झन्डै दुई दशक देखि भोग्दै आइएको समस्या अब आउने स्थानीय तहको निर्वाचनले समाधान गर्ने आशा जनतामा पलाएको भर्खरै बर्दिवास नगरपालिकामा गाँभिएका यसअघिको पशुपतिनगर गाविसका पूर्वअध्यक्ष नथुनी महतोले बताए। 
 
तीन वर्षअघि तत्कालीन बर्दिवास, गौरीवास, माईस्थान र किसाननगर गाविस समेटेर सरकारले बर्दिवास नगरपालिका गठन गरेको थियो । यसपालि स्थानीय तह पुनःसंरचना गरिँदा खयरमारा, हाथीलेट, बिजलपुरा र पशुपतिनगरसहित थप चार गाविस गाभेर बर्दिवास नगरपालिकाको पुनःसंरचना गरिएको छ । 
 
हाल कायम नगरपालिकाभित्रको मतदाता सङ्ख्या निर्वाचन आयोगले अझै यकिन गरेर नपठाए पनि जनसङ्ख्या भने ६२ हजार ३५० रहेको बर्दिवास नपाका कार्यकारी अधिकृत रामकुमार कार्कीले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ