arrow

काँग्रेसको फेरि पहिलो पार्टी बन्ने उद्घोष, यस्तो गर्‍यो ३ बुँदे निर्णय

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पनि पहिलो पार्टी बन्ने उद्घोष गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको निर्वाचन परिचालन समितिको बैठकले पहिलो पार्टी बन्नको लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । 
 
केही दिन अघि मात्रै सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले तीनबुँदे यस्तो निर्णय गरेको हो । बैठकले प्रत्येक गाउँपालिका तथा नगरपालिकामा स्थानीय निर्वाचन निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ । 
 
बैठकले पार्टी केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ–नगर हुँदै वडा–टोल तहसम्म एउटै अठोट र एउटै अभियानमा पार्टीलाई थप संगठित र परिचालित गर्दै स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई प्रथम स्थानमा विजयी गराउने लक्ष्यमा सम्पूर्ण रुपले केन्द्रीत र क्रियाशील हुने निर्णय गरेको छ । 
 
त्यस्तै, पार्टीका सबै तहमा “स्थानीय निर्वाचन परिचालन समिति” लगायत आवश्यक अन्य समिति गठन गरेर चुनाव प्रचार प्रसार अभियानलाई सुव्यवस्थित तुल्याउने र तेस्रो नम्बरमा सबै प्रदेशमा व्यापक नागरिक सहभागिताका साथ पार्टीका शीर्षस्थ नेताहरुको उपस्थितिमा सात वटा वृहत सभा आयोजना गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।
 
स्थानीय तहको निर्वाचनमा आफ्नै विचारधाराका असन्तुष्ट व्यक्तिहरुको वागी उम्मेदवारी न्यूनीकरण गर्नको नयाँ प्रक्रियाबाट उम्मेदवार चयन गर्नेगरी मापदण्ड लागू गरेको  काँग्रेसले शुक्रबार यस्तो निर्णय गरेको हो । यस अघिका निर्वाचनमा पार्टीको विचारमै राजनीति गरेपनि असन्तुष्ट नेताहरुको व्यवस्थापन गर्न नसक्दा वागी उम्मेदवारीका कारण धेरै ठाउँको निर्वाचनमा पराजीत हुनुपरेको तथ्यलाई केन्द्रीत गर्दै काँग्रेसले यस पटकदेखि निर्वाचनमा उम्मेदवारको नाम तय गर्दा क्षेत्रमा तथा जिल्ला सभापतिमा पराजीत भएकाहरुको समेत चित्त बुझाउनु पर्ने प्रावधान राखेको थियो । 
 
काँग्रेसको मंगलबार राजधानीमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहमा गाउँपालिका, नगरपालिका र महानगरपालिकामा क कसले उम्मेदवारको टिकट दिन सक्ने भन्ने विषय टुंगो लगाएको छ । सो मापदण्डमा टिकट दिनको लागि बन्ने समितिमा जिल्ला स्तरीय भए जिल्ला कार्यसमिति सभापतिको निर्वाचनमा पराजीत भएका व्यक्ति र क्षेत्रको बैठक भए क्षेत्रीय सभापतिको निर्वाचनमा पराजीत भएका व्यक्तिहरुलाई समेत अनिवार्य संलग्न गराउनुपर्ने र उपस्थित सबैबाट सर्वसम्मतबाट एक व्यक्तिलाई मात्रै गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारको रुपमा चयन गर्नुपर्ने प्रावधान राखेको छ । 
 
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयन गर्ने क्रममा भने एकै निर्वाचन क्षेत्र अन्तर्गत गाउँकार्यपालिका, नगर कार्यपालिकाको निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख र वडा अध्यक्ष र सदस्यहरु र महानगर तथा उपमहानगरका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्वन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ भनिएको छ । क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थिति भन्ने शब्दले वागी उम्मेदवारी कम गर्ने उपाय रहेको काँग्रेसका नेताहरुले बताएका छन् । 
 
त्यस्तै, बैठकले उल्लेखित क्षेत्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा सम्वन्धित क्षेत्रका क्षेत्रीय पदाधिकारीहरु, सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सासंद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी रहेको छनोट समितिले सहमती जुटाई उम्मेदवारको चयन गर्ने निर्णय गरेको छ । सम्बन्धित जिल्लाका जिल्ला सभापति जिल्लाको आफ्नो निर्वाचन क्षेत्रको छनौट समितिमा रहने व्यवस्था गरिएको छ । छनौट समितिको आयोजना र बैठकको अध्यक्षता क्षेत्रीय सभापतिले गर्नेछ । 
 
यी र यस्तै निर्णयहरुमा गरिएको प्रमुख प्रतिष्पर्धीलार्इ स‌ंलग्न गराउने र त्यसमा पनि सर्वसम्मत निर्णय चाहिने व्यवस्थाले काँग्रेसले वागी उम्मेदवारी कम गर्नकै लागि यस्तो व्यवस्था गरेको हो भन्ने पुष्टि हुने काँग्रेसका एक नेता बताउँछन् । तर, यी सबै विवादहरु सर्वसम्मत हुन सक्ने अवस्था नआएको खण्डमा केन्द्रमा विवाद पुग्ने र एक पक्षले टिकट पाएपछि अर्को पक्ष बागी उठ्न सक्ने सम्भावना भने जिवितै रहेको काँग्रेस नेताहरु बताउँछन् । तर, जानकारहरुले यसलाई लोकतान्त्रिक पद्धतिको अवमूल्यन नहुनेगरी वागी नियन्त्रणमा गरिएको नयाँ जुक्तिको रुपमा भने लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ