arrow

केपी ओलीको आफ्नै चिन्तन, भन्छन् –राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियो

logo
प्रकाशित २०७३ चैत २० आइतबार
oli-large.jpg.jpeg
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय भावनाभन्दा जात, भूगोल र क्षेत्रको भावना ल्याउन खोजिएको बताएका छन् ।  
 
समसामयिक अध्ययन केन्द्रले यहाँ आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले जात, भूगोल, क्षेत्रको भावना ल्याउन खोजिएकाले अहिले राष्ट्रियता चाहिएको बताए । 
 
उनले राष्ट्रियताका सवालमा कसैसँग कुनै पनि किसिमको सहमति गर्न नसकिने भन्दै सबै दल राष्ट्रियतामा एकमत भएर लाग्नुपर्ने धारणा राखे । 
 
राष्ट्रियता अहिले जनतामा देखिएको बताउँदै उनले राष्ट्रिय हितभन्दा दलीय हितलाई माथि राखेर राजनीतिक दलले काम गरिरहेको आरोप समेत लगाए । 
 
उनले देशमा कानुनको शासन नभएकाले देशमा समस्या बल्झिएको भन्दै कानुनी शासन चल्ने हो भने दुई वर्षभित्रमा देशको समस्या समाधान हुने दाबी गरे । 
 
‘‘कानुनी शासन नभएकाले देशमा जसले जे गर्न पनि छुट पाएकाले देशमा समस्या भएको छ”, उनले भने – “तीन तहको निर्वाचन गराएर संविधान कार्यन्वयनमार्फत कानुनी शासन लागू गर्नुपर्दछ ।” उनले तीनै तहको निर्वाचन गरेर लोकतन्त्र, कानुनको शासन र छिमेकीसँगको सन्तुलन कायम गर्ने धारणा राखे । 
 
पूर्वप्रधानमन्त्री ओलीले नेपालको समस्या बाहिरबाट भन्दा भित्रबाटै बढी बल्झिने गरेको बताए । 
 
अध्यक्ष ओलीले अहिले संविधान संशोधनभन्दा पनि निर्वाचन आवश्यक भएकाले निर्वाचनको वातावरण बनाउन लाग्नुपर्नेमा पनि जोड दिए । 
 
‘‘संशोधनका नाममा असान्दर्भिक कुरा ल्याएर निर्वाचन नगर्ने चलखेल भइरहेको छ, अहिले संशोधन गर्ने नभई निर्वाचन गर्ने बेला हो,’’ उनले थपे । 
 
कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले केही तत्वले देशमा जात अनुसारको राष्ट्रियताको कुरा उठाएर देशलाई साम्प्रदायिकतातर्फ धकेल्न खोजेको आरोप लगाए । 
 
उनले संविधानमा उल्लेख गरिएको राष्ट्रियताको कुरा ढुक्क भएर भन्न केही दल अझै पनि डराइरहेको आरोप लगाए । उनले संविधानमा भएको राष्ट्रियता र सार्वभौमसत्ताको कुरा गर्नेलाई उग्रराष्ट्रवादी भन्नु सङ्कीर्ण सोच रहेको धारणा राखे । 
 
एमाले नेता लालबाबु पण्डितले राष्ट्रियतामा शीर्ष नेताहरुको सङ्कल्प दृढ नभएकाले राष्ट्रियता खतरामा पर्नसक्ने चेतावनी दिए । 
 
कानुन व्यवसायी विश्वकान्त मैनालीले निर्वाचन गरेरमात्र अहिले देशको राष्ट्रियता जोगाउन सकिने बताए । 
 
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग प्रमुख डा खड्ग केसीले ‘नेपालको राजनीतिक विकासक्रम र राष्ट्रियता’का विषयमा कार्यपत्र प्रस्तुत गर्दै सबल अर्थतन्त्रको निर्माण गरेर राष्ट्रियतालाई सशक्त बनाउन सकिने उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ