arrow

कालीगण्डकी करिडोर असारभित्रै, सेना २३ किलोमिटर सडकको ट्रयाक खोल्दै

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
Kaligandaki-corridor.jpeg
गुल्मी । गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ। धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको हो । 
 
नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको २३ किलोमिटर सडकको काम पनि द्रुत गतिमा गरिरहेको छ । ठाउँठाउँमा गरी करिब १६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । 
 
कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्र्याक खोलिने बताए ।
संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो । 
 
भट्टराईले भने, ‘सेना द्रुतगतिमा खटिएको छ। ७ किलोमिटर मात्र बाँकी रहेकाले यसै आवमा ट्र्याक खोलिसक्ने लक्ष्यमा छौं।’
 
उनका अनुसार पालुङखोलामा बेलीब्रिज हालिएको छ भने गौदी खोला, चौरा खोला र ठेउले खोलामा पनि यसै आवमै बेलिब्रिज हाल्न निर्माण सुरु गरिएको छ । 
 
कालीगण्डकी करिडोरको बागलुङ–बेनी–जोमसोम खण्डको ट्र्याक खोल्ने काम नेपाली सेनाले २०६४ सालमै सम्पन्न गरेको थियो । 
 
यसमा गुल्मी खण्ड ४२ किलोमिटरमध्ये ३७ र बागलुङ खण्डको १४ किलोमिटर सकिएको छ भने पालुङखोला–टाकुरे २३ किलोमिटर खण्डमा निर्माणकार्य भइरहेको हो ।
 
विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपालका उत्तर–दक्षिण जोड्ने ९ वटा करिडोर (लोकमार्ग) मा काम भइरहेकोमा कालीगण्डकी करिडोर र रसुवा–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने दुई मार्गमा द्रुतगतिमा काम भइरहेको जानकारी दिए । 
 
उनले भने, ‘नवलपरासीको गैंडाकोटदेखि चीनको कोरला ४ सय ३५ किलोमिटरको कालीगण्डकी करिडोर सांस्कृतिक, सामाजिक एवं आर्थिक परिवर्तन गर्ने रणनीतिक सडक हो । 
 
यो करिडोरले यी क्षेत्रको मात्र नभई नेपालका साथै भारत र चीनसमेतका लागि विकासको बीज रोप्नेछ। उनले सडकको काम ढिलो हुने भएकाले यो करिडोरमा निश्चित खण्ड पूरा गर्नासाथ सेनाले सरकारलाई हस्तान्तरण गर्ने र सडक विभागले कालोपत्रेका लागि प्रक्रिया अघि बढाइहाल्ने गरी काम अघि बढाउन निर्देशन दिए । 
 
नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक एवं सहायकरथि उद्धव बिष्टले ७ किलोमिटरको ट्र्याक जोड्ने काम असारभित्र सम्पन्न भएपछि रिडीदेखि जोमसोमसम्म १ सय ७४ किलोमिटर सडकमा १२ महिना यातायात सञ्चालन हुने बताए। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ