arrow

नारायणगढ–मुग्लिन सडकखण्डको दशाः बाँच्न सफल किशोर भन्छन् –झन्डै ज्यान गएको थियो

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
landslide-narayanghad-mugling.gif
कविलास (चितवन) । नारायणगढ(मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए ।
 
सडक विस्तारका कारण १० बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुन्छ । नारायणगढबाट १७ किलोमिटर उत्तर कविलासको घुमाउनेमा करिब १० बजे ढुंगा खसेजस्तो ठूलो आवाज आयो । 
 
मान्छेहरू कराउन थाले, ‘पहिरोले गाडी पुर्यो, मान्छे मर्यो ।’ सडक माथिबाट ठूलो चट्टानसहित खसेको पहिरोले ना ४ ख ५४१९ नम्बरको ट्यांकर पुरियो । 
 
एकछिनपछि मानिसहरू घटनास्थलतर्फ जान थाले । ट्यांकर र त्यसको छेवैमा एकजना मान्छे पुरिएका थिए । तिनको मृत्यु भइसकेको थियो । 
 
अर्कोपट्टि ढुंगाको चेपबाट आवाज आयो, ‘बचाऊ..बचाऊ... ।’ सानो प्वालबाट एउटा हात हल्लिएको देखेपछि प्रत्यक्षदर्शी कराउन थाले, ‘ल, यहाँ एकजना जीवितै रहेछन्, जतिसक्दो छिटो निकालौं।’
 
सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । 
 
उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । 
 
उद्धारपछि मन्दिप बुबा खोज्न थाले । प्राथमिक उपचारपछि उनलाई भरतपुर ल्याइएको थियो । मन्दिप आफू बाँचेको विश्वासै गरिरहेका थिएनन् ।
 
‘जाम परेकाले हामी बिस्तारै गुडिरहेका थियौं, एक्कासि पहिरो खस्यो’, मन्दिपले भने, ‘म बाँचें भनेर पत्याउन सकेको छैन ।’
 
उनी बुवासँग नवलपरासीको बर्दघाट जान लागेका थिए । बसमा जाँदै गरेका आमा दिलमाया, भाइ सञ्जु भनिने भुवनसिंह र दाजुको अवस्थाबारे साँझसम्म उनी बेखबर थिए । 
 
उनलाई बुबाका बारेमा कसैले नभने पनि आस मारिसकेका थिए । उनीहरू अर्घाखाँचीस्थित सुपा देउरालीमा पूजा गर्न मंगलबार जाने तयारी गरिरहेका थिए । 
 
बर्दघाटमा रहेका ठूलोबुबा र मामालाई भेटेर परिवारसँगै मंगलबार अर्घाखाँची जाने योजना थियो ।
 
‘बुबासँग आएको हुनाले मैले अरू सोच्न सकिनँ । बुबा के हुनुभयो होला भन्नेमा ध्यान गयो’, चितवन मेडिकल कलेजमा उपचाररत मन्दिपले भने ।
 
अगाडिको भाग पुरिएको ट्यांकर चालक बन्नु पटेल पनि पहिरोबाट बाँच्न सफल भए । उनीसँगै रहेका सहचालक विनय कोइरीको भने मृत्यु भयो । 
 
बन्नु झ्यालबाट बल्लतल्ल निस्केपछि अरूले उद्धार गरेका हुन् । टाउकोमा चोट लागेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ