arrow

तमोरमा पुल बनेसँगै खोसियो माझीहरुको गाँसबासको आधार

स्थानीय भन्छन् 'पूजा गर्दा पनि भएन'

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ चैत २३ बुधबार
majhi_tinau.jpeg
पाँचथर । पाँचथर र तेह्रथुम हुँदै बग्ने तमोर नदीमा पुल बन्दा यात्रुहरूलाई सहज भए पनि किनारमा बस्ने माझी समुदायको नाउ चलाउने पुर्ख्यौली पेसा लोप भएको छ । यात्रुहरुले पुलबाटै आवातजावत गरेपछि नाउ लोप भएको हो ।  हाल तमोर नदी किनारमा एउटा पनि नाउ छैन । कतिपयले नाउ चिरेर दाउरा बालेका छन् । केही समयअघिसम्म तमोर नदीको विभिन्न ठाउँमा दर्जनौं नाउ थिए । 
 
नक्कलेघाट, माझिटार, सिम्रा, हाक्पाराघाट, भैँसी र अँधेरी खोला क्षेत्रमा माझीहरु नाउ चलाउने गर्थे । माझी समुदायका युवा राम माझीले पुलको विकासले माझी समुदायको बाँच्ने आधार नै लोप भएकोमा दुःखेसो गरे । नाउ नहुँदा माझी समुदायको आर्थिक मात्रै नभई सांस्कृतिक र सामाजिक जीवनमै असर पुगेको उनको भनाइ छ। ‘नाउ परम्परागत प्रविधि हो । हाम्रो पुर्ख्यौली पेसाको हतियार हो, उनले थपे, ‘पुलको विकासले नाउ प्रयोगविहीन भयो ।’ 
 
माझीहरुलाई खोलाखुसी पूजामा नाउ चाहिन्छ वर्षमा एक पटक गरिने पूजामा नाउबाट वर्षभरी नै राम्रो आम्दानी लिन सकियोस्, खोला र नदीनाला जीविकोपार्जनको आधार भएकोले फलिफाप होस् र दशा नलागोस भनेर पुकार्ने परम्परा छ । नाउ नै नभएपछि अहिले नमूना नाउ बनाएर पूजाआजा गर्ने चलन रहेको उनले बताए । तर, पूजाआजा गर्दा पनि पमर नलागेको स्थानीयको गुनासो छ । 
 
तमोर नदी किनारमा करिब डेढ सयको संख्यामा माझी समुदाय बसोबास गर्दै आएको छ । उनीहरु सब भूमिहीन हुन् । अहिले उनीहरू साहु महाजनको खेतबारी कमाएर खाँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ