arrow

निधिको कार्यकक्षमा काँग्रेसका मन्त्रीहरुको आकस्मिक बैठक

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
nidhi_news_aa1.jpg
काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसलाई नजरअन्दाज गर्न खोजिएको भन्दै काँग्रेसबाट उपप्रधान तथा गृहमन्त्री रहेका विमलेन्द्र निधि राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
 
निधि बाहिरिने र अब के गर्ने भन्ने विषयमा सिंहदरबारस्थित निधिकै कार्यकक्षमा काँग्रेसका मन्त्रीहरुको आकस्मिक बैठक बसेको छ । बैठकमा १३ जना मन्त्री उपस्थित रहेका बताइएको छ । बैठकमा निधिको राजीनामा र आगामी पोजिसनकाबारेमा छलफल भइरहेको स्रोतले बताएको छ ।
 
उपप्रधान्मन्त्रीको वरियता विवाद चुलिएपछि निधि प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवासँग गुनासो गरिरहेका छन् । बैठकमा पनि उनले मुख्य सत्तासाझेदार दललाई नजर अन्दाज गर्ने काम भएको र काँग्रेस नेतृत्वबाट पनि प्रस्टसँग कुरा गर्न नसकेको भन्ने गुनासो सुनाए ।  
 
कमल थापा उपप्रधानमन्त्री भएर सरकारमा आएदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले हालसम्म वरियताक्रम मिलाउन सकेका छैनन् । वरियता विवादकै कारण विहिबार दिउँसो ३ बजेका लागि डाकेको मन्त्रिपरिषद् बैठक बस्न नसकेको बताइएको छ ।
 
वरियता विवादकै कारण प्रधानमन्त्री दाहालले साताव्यापी चीन भ्रमणको अवधिमा पनि कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिन सकेनन् । मन्त्री निधिले प्रमुख सत्ता साझेदार र गृहमन्त्री भएको हैसियतले वरियतामा आफु पहिलो हुनुपर्ने धारणा राख्दै आएका छन् ।
 
काँग्रेस मन्त्रीहरुको आकस्मिक बैठकबाट बाहिरिएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने मधेसी मोर्चासँगको वार्ताबारे छलफल गर्न बोलाएको भने । उनले अगाडि भनेका छन्, ‘मधेसी मोर्चासँगको वार्ताका विषयमा ब्रिफ थियो । त्यसैका लागि बोलाउनु भएको थियो ।’ थप कुरा नबोली मन्त्री महत बाहिरिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ