arrow

वालिङको मेयरका लागि काँग्रेसबाट ०५४ का मेयर र उपमेयरकै चर्चा, एमाले दाउ हेर्दै  

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत २५ शुक्रबार
Congres-FNL.jpg.jpeg

स्याङ्जा । संघीय संरचना अनुसार बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । ०५४ सालपछि स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय रुपमा हुने विकास निर्माणका कामहरु जुन रुपले हुनुपर्ने थियो त्यो अपेक्षाकृत रुपले हुन सकेको छैन । 

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी नेपाली जनताले चुनेका प्रतिनिधिहरु मार्फत बनेको नयाँ संविधान अनुरुप बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागेको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा स्याङ्जाका ११ ओटा स्थानीय तह र ९७ वटा वडाहरुमा चुनावी माहोलले दलहरुलाई तताएको छ । 

जनताको घर सम्म पुग्न नसकेका दलका नेता तथा कार्यकर्ताहरु स्थानीय तहको निर्वाचन घोषणा भएसँगै अहिले घरघरमा पुगेर व्याक्तिगत र पार्टीलाई भोट दिन आग्रह गरिरहेका छन् । 

११ ओटा स्थानीय तह मध्ये जिल्लाको मध्यभागमा रहेको सुन्दर नगरी वालिङको मेयर को बन्ला भन्ने चर्चा अहिले बजारमा आउन थालेको छ । टोल होस वा चिया पसलमा वालिङको मेयरको चर्चाले निकै स्थान पाएको छ । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा काँग्रेसले बाजी मारेको मेयर पद कुनदलले हात पार्न सक्ला भन्ने चर्चा अहिले आइरहेको छ । 

११ ओटा वडा भएको वालिङ अहिले एक दर्जन गाविस वालिङमा गाभिएर १४ ओटा वडा हुनपुगेको छ । भौतिक संरचना र विकासका रुपमा तीव्र गतिमा अगाडि बढेको वालिङ अन्य नगरपालिकाको तुलनामा निकै चर्चामा आउने गर्छ । व्यापारीक केन्द्र र स्याङ्जाको मध्यभागमा रहेकोले पनि राजनीतिक केन्द्रको रुपमा समेत वालिङ चिनिँदै आएको छ । जिल्लाकै राजनीतिलाई घुमाउन सकिने केन्द्रविन्दु रहेको वालिङको मेयर पदलाई अत्यन्तै आकर्षण रुपमा लिने गरिएको छ । 

साविकको वालिङमा अधिकांश गाविस ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमाले विजयी गाविस गाभिएकाले एमालेले मेयर पद जित्ने आशामा रहेको छ भने काँग्रेस ०५४ सालको निर्वाचनलाई हेरेर नहुने तर्क दिँदै आएका छन् । 

निर्वाचनको मिति नजिकिँदै जाँदा मेयर पदका दावेदार राम्रोसँग बाहिर नआउँदा वालिङवासीमा अन्योलता छाएको छ । सबैभन्दा प्रतिस्पर्धा काँग्रेस र एमालेको देखिने वालिङमा साँच्चै को को छन् त मेयर पदमा दावी गर्ने भन्ने विषय अहिले आएर गौण बनेको छ । 

०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको नेपाली काँग्रेसले पनि आफ्नो धारणा बाहिर ल्याउन सकेको छैन भने निकै प्रतिस्पर्धामा रहेको नेकपा एमालेले पनि अहिले सम्म आफ्नो दलको उम्मेदवार कुन हो भन्ने बिषय बाहिर ल्याउन सकेको छैन । नेपाली काँग्रेसबाट निकै चर्चामा रहेका दिलिपप्रताप खाँणको नाम बाहिर आएको छ । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा उपमेयर बनेका खाँण अहिले स्थानीय तहको निर्वाचनमा मेयरपदको उमेदवार बन्न सक्ने आँकल गरिएको छ । 

तर, अहिलेसम्म खाँणले मेयरपदमा आफ्नो उमेदवारी रहने भन्ने कुनै विषय बाहिर आएको छैन । काँग्रेसका नगर सभापति समेत रहेका खाँणले पाटीले सर्वसहतका आधारमा टिकट दिएमा आफु मेयरको चुनाव लड्न पछि नहट्ने बताए । 

म नगरको पाटी सभापति हुँ खाँणले भने, “अहिलेसम्म पार्टीमा छलफल भएको छैन पार्टीको छलफलमा मलाई नै टिकट दिएमा चुनाव लड्नेछु । तर विवादका बावजुत मेरो उम्मेदवारी हुनेछैन ।” 

कुनै विवाद विना पार्टीले छिट्टै मेयरको उमेदवार चयन गर्ने छ उनले भने । अर्कोतर्फ ०५४ सालमा मेयर पदमा विजयी हाँसिल गरेका भोजराज अर्यालको पनि नाम चर्चामा छ । पुरानो संरचना अनुसार निर्वाचन भएमा अर्याल मेयर पदको दावी नहुने बताइएपनि पछिल्लो समय नयाँ संरचनामा बनेको वालिङमा अर्यालको पनि दावी रहन सक्ने अर्याल निकटका काँग्रेसहरु बताउछन् । 

तर अहिलेसम्म अर्यालले पनि मेयरमा उमेदवार बन्ने वा नवन्ने भन्ने विषय भने बाहिर आएको छैन । काँग्रेसका क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्यालका अनुसार सर्वसहमतीबाटै वालिङको मेयर उमेदवार छनोट हुने बताएका छन् । अहिले सम्म पाटीले आफ्ना गतिविधिहरु मात्रै गर्दै आएका छौं सभापति अर्यालले भने, “अव केहीदिनमा क्षेत्रीय भेलाबाट उमेदवारका लागि छलफल चलाउने छौं ।” 

भेलाबाट आएको रायसुझावनै मेयर, उपमेयर र वडा अध्यक्षका लागि उमेदवार छनोट हुने छ उनेले भने ।
काँग्रेसबाट मेयरको उमेदवार बन्न सभापति अर्याल पनि इच्छुक देखिएका छन् भने पुर्व क्षेत्रीय सभापति केदार काफ्ले, महासमिति सदस्य सरस्वती तिवारी, महिला संघकी अध्यक्ष कल्पना तिवारी, पूर्व कार्यबहाक पाटी सभापति मुक्तिप्रसाद सुवेदी पनि मेयरपदका लागि उमेदवार बन्ने चर्चा बाहिर आएको छ । 

लामो समय पछि निर्वाचन हुदा आकाक्षीहरु धेरै देखिएका छन् तर काँग्रेसबाट को मेयरको उमेदावार बन्न सक्छ भन्ने आँकल गर्न भने अझै केही समय पर्खनु पर्ने देखिन्छ ।  जनताको  मन जित्न सफल, पाटीमा ठुलो योगदान पुर्‍याएको, विकासप्रेमी भावना भएको व्याक्ति नै उमेदवारका लागि छनोट हुने सभापति अर्यालले बताएका छन् । पार्टीको निर्देशन अनुसार बैशाख ७ गते भित्र उमेदवार छनोट गरिसक्नु पर्ने छ अर्यालले भने ।
यता काँग्रेससँग प्रतिस्पर्धा गर्ने नेकपा एमालेले पनि वालिङको मेयरको उमेदवार कसलाई बनाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन । एमालेबाट अहिले सम्म ४ जना आकाक्षी देखिएको एमालेका क्षेत्रीय अध्यक्ष कृष्ण खाँणले बताए । 

आकांक्षी देखिएका चार जना उमेदवारमा मोहन रेग्मी, पुण्यप्रसाद अर्याल, उदय श्रेष्ठ र दिलिप वगालेको नाम चर्चामा छ । चारै जना व्यक्तिले वालिङको मेयरपदको उमेदवार कुनै पनि हालतमा नछाड्ने बताउदै आएको खवर बाहिर आएको छ । एमाले श्रोतका अनुसार चार जनामा कुनै सहमति नभएमा अर्को उमेदवार हुन सक्ने बताईको छ । चार जना मध्ये अर्को को हुन सक्ला भन्ने हाम्रो प्रश्नमा श्रोत भन्छ पदमा अर्याल वा कृष्ण खाँण । 

तर यता एमालेका क्षेत्रीय अध्यक्ष खाँणले भने यस्तो विषयमा कुनै सत्यता नभएको बताए । राजनीतिमा केही हुन सक्दैन भनेर भन्न सकिदैन अध्यक्ष खाँणले भने,“ पार्टीको निर्णय भएमा जो पनि उमेदार बन्न तयार हुनुपर्छ ।” तर अहिले सम्म चारजना भन्दा अरुको आकाक्षा एमालेबाट देखिएको छैन उनले भने । 

निरन्तर पार्टीमा लागेको, जनताको मन जित्न सफल, भष्ट्राचार नगरेको र वालिङको अवधारणा बुझेको व्याक्ति मेयरको उमेदावर बन्ने मापदण्ड एमालेले तय गरेको छ । नगर समितिको सिफारीस र क्षेत्रीय समितिको राय बाट जिल्ला कमीटिको निर्णय अनुसार प्रदेशले उमेदवारको टुङ्गो लगाउने व्यवस्था एमालेले अख्तियारी गरेको छ । एमालेले प्रदेश, जिल्ला र जिल्लालाई उम्मेदवारी छनोट गर्ने व्यवस्था मिलाएको छ भने काँग्रेसले क्षेत्रीय, जिल्ला र केन्द्रलाई उमेदवारी छनोटको मापदण्ड तयार पारेको छ ।

सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रमा भने अहिले सम्म वालिङको मेयर पदमा को लड्ने भन्ने चर्चा बाहिर आएको छैन । माओवादी अहिले नयाँ संरचना अनुसार हरेक स्थानीयतहको संयोजक तोक्ने र भेला आयोजना गर्ने कामलाई तिब्रता दिँदै आएको छ । वालिङका इन्चार्ज प्रकाश न्यौपानेका अनुसार अहिलेसम्म ४ जना मेयरपदका लागि आकांक्षी देखिएको बताए । 

माओवादीबाट आकाक्षी देखिएका प्रकाश न्यौपाने, हुमबहादुर गुरुङ, नित्यानन्द तिवारी र लोकराज काफ्लेको नाम आएको महाओवादी केन्द्रले जनाएको छ । मेयरपदको वा अन्य उमेदवारको मापदण्ड पार्टीले केही दिनमा तयार गर्दै छ इन्चार्ज न्यौपानेले भने, “पार्टीको मापदण्ड बाहिर आएपछि मात्रै उमेदवारको छनोट हुने छ ।” २६ गते नगर सम्मेलनको आयोजना हुने र सम्मेलनबाट सबैको रायसुझाव सहित बैशाखको पहिलो हप्ता उमेदवारको टुङ्गो लाग्ने उनले बताए । 

अन्यदलहरुको पनि उमेदवारी घोषणा हुने अवस्था भने बाहिर आएको छैन । जिल्लामै चर्चित हुने वालिङको मेयरका उमेदवारहरु बैशाखको पहिलो हप्तामा हुन सक्ने अनुमान गरिएको छ । उमेदवार छनोट भएपछि मात्रै स्थानीयतहको निर्वाचनले बल्ल माहोल तात्ने देखिन्छ । अहिले दलहरु निर्वाचनलाई सम्पन्न गराउन र नयाँ संरचनामा आएकाले पनि चुनावी प्रचार प्रसार र परिचयात्मक कार्यक्रम मात्रै गर्दै आएका छन् । वालिङको विकासमा टेवा पुर्‍याउने व्याक्तिलाई मेयर बनाउनुपर्ने मतदाताहरुको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ