arrow

आइजीपी नियुक्तिमा अदालतले हस्तक्षेप गरेकै हो, न्यायपालिका व्यवस्थापिकाको अण्डरमा हुनुपर्छ : शशांक

चुनाव एकै चरणमा हुनुपर्छ, सार्न मिल्दैन

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
sashank_k_aa.jpg

विराटनगर । काँगे्रस महामन्त्री शंशाक कोइरालाले आइजीपी नियुक्तिमा न्यायपालिकाले हस्तक्षेप गरेकै हो भनेका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको आ–आफ्नो काम हुन्छ । एकले अर्काको काममा हस्तक्षेप गर्न मिल्दैन । न्यायपालिकाले कार्यपालिकाको काममा हस्तक्षेप गर्नु राम्रो होइन ।’

अदालतको अवहेलना गरेको भन्दै काँग्रेस र काँग्रेस सभापति शेरबहादुर देउवाको नाममा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेकै बेला महामन्त्री कोइरालाले फेरि न्यायलयले हस्तक्षेप गरेको टिप्पणी गरेका हुन् ।
यस्तै महामन्त्री कोइरालाले न्यायपालिकालाई व्यवस्थापिकाको नियन्त्रणमा राख्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘न्यायपालिकालाई व्यवस्थापिकाको अण्डरमा राखिनु पर्छ । यो पहिले नै भएको भए यस्तो अवस्था आउँदैन थियो ।’

सरकारले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्न सकिरहेको छैन । यसअघि डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय सर्वोच्चले बदर गरिदिएको छ । व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको महामन्त्री कोइरालाको तर्क छ ।

प्रहरीको आइजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने भन्दै महामन्त्री कोइरालाले यस विषयमा न्यायपालिकाले बोल्न मिल्दैन, भने । महामन्त्री कोइरालाले यो न्यायपालिकाको कार्यक्षेत्र बाहिरको कुरा हो र यसमा अदालतको चासो बढ्नु उचित होइन समेत,  भनेका छन् ।
दोस्रो वरियतामा निधिनै हुनुपर्छ
पुष्पकमल दाहालको सरकारमा उत्पन्न भएको उपप्रधानमन्त्रीको वरियता विवादबारे बोल्दै महामन्त्री कोइरालाले नेपाली काँग्रेस ठूलो पार्टी भएकाले गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री पछि हुनुपर्ने बताए । उनले भने, ‘व्यवस्थापिका संसदको ठूलो दल हो । काँग्रेसकै कारण सरकार बन्यो र टिकिरहेको छ । दोस्रो नम्बरमा निधि नै हुनुपर्छ । विमलेन्द्रजीलाई नै माथिल्लो वरियता क्रममा राखिनु पर्छ, यो हाम्रो पार्टीको धारणा हो ।’
चुनाव सार्न हुँदैन, अफ्ठ्यारै स्थिति आए एक साता बढी सार्न मिल्दैन
मधेसी मोर्चालाई चुनावमा नल्याए मुलुक द्वन्द्वमा फस्ने बताएका महामन्त्री कोइरालाले चुनाव कुनै पनि हालतमा सार्न नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवाले जेठ पहिलो सातासम्म सार्न मिल्ने संकेत दिइरहेका बेला महामन्त्री कोइरालाले कुनै हालतमा सार्न नहुने बताएका हुन् ।

यद्यपि, उनले अफ्ठ्यारै स्थिति आए एक साता पर सार्न सकिने र त्यो भन्दा पर हुनै नसक्ने बताए । यस्तै, महामन्त्री कोइरालाले चुनाव एकै चरणमा हुनुपर्ने बताएका छन् । मोर्चा सहभागि हुने भए दुई चरणको निर्वाचन स्वीकार्न तयार भएको काँग्रेसकै महामन्त्रीले चुनाव एकै चरणमा हुनुपर्ने बताएका हुन् ।

मुलुकभर चुनावको माहोल वनिसकेकाले भाग्नका लागि कोही कसैले बहाना बनाउन नहुने कोइरालाको तर्क छ । महामन्त्री कोइरालाले माओवादी केन्द्र चुनावबाट भाग्न खोजिरहेकोतर्फ समेत संकेत गरे । –जिल्ला सहकर्मी कुमोद अधिकारीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ