arrow

परराष्ट्र मन्त्रायद्वारा नयाँ कार्ययोजना लागू

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
foreign-ministry.jpeg

काठमाडौं । परराष्ट्र मन्त्रालयद्वारा सम्पादन हुने कार्य तथा योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गरी परिणाममुखी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले वार्षिक नयाँ कार्ययोजना तयार गरेको छ ।

मन्त्रालय र यस मातहतका महाशाखा, विभाग र नियोगहरुलाई कार्यक्रम, उद्देश्य, जिम्मेवार निकाय, सो कार्यका लागि सहयोगी निकाय, आवश्यक समय सीमा र अपेक्षित नतिजा प्राप्त गर्नका लागि गर्नुपर्ने क्रियाकलापमा आधारित रही यो कार्यतालिका बनाइएको छ ।

परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतको निर्देशनमा लामो समयको गृहकार्यपछि तयार गरी लागू गरिएको आर्थिक वर्ष २०७३÷७४ को यस वार्षिक एकीकृत कार्यतालिकाको आधारमा यस मन्त्रालय मातहत व्यक्तिगत र निकायगत जिम्मेवारी तोकिएको छ ।

मातहत निकाय वा कर्मचारीले पनि यसै कार्यतालिकाको आधारमा आफ्नो जिम्मेवारीलाई परिणाममुखी बनाउने गरी आ–आफ्नो कार्यको कार्यतालिका निर्माण गरी काम गर्नुपर्ने छ र काम परिणाममुखी भए नभएको र निर्धारित लक्ष्य बमोजिम परिणाम हात लागे नलागेको बारेमा समय सीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था पनि सो तालिकामा रहेको छ ।      

परराष्ट्रमन्त्री डा.महतद्वारा स्वीकृत सो कार्ययोजना अनुसार उक्त मन्त्रालयअन्तर्गतका सबै महाशाखा, विभाग र नियोगहरुलाई आ–आफ्नो विषय र क्षेत्रसँग सम्बन्धित कार्यको लक्ष्य र समयसीमा निर्धारण गरी यससँग तादात्म्य हुनेगरी निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिइएको छ ।

परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०७३÷७४ का लागि तयार पारिएको सो एकीकृत वार्षिक कार्यतालिकामा वर्ष दिनमा सो मन्त्रालय र मातहतका निकाय एवम् नियोगहरुले गर्नुपर्ने कार्यको विवरण, सोको लक्ष्य निर्धारण, अपेक्षित परिणामको विवरणका साथै सो कार्यका लागि आइपर्न सक्ने चूनौतीहरुको समेत पहिचान गरी तिनको निराकरणमा लागिपर्न सुझाइएको व्यवस्था समेत सम्लग्न छ ।

यस अन्तर्गत मन्त्रालयले गर्ने दैनिक प्रशासनिक कामका अतिरिक्त नेपालले आयोजना गर्नुपर्ने अन्तर्राष्ट्रिय सभा सम्मेलन, कूटनीतिक सम्बन्धको विकास एवम् विस्तारका साथै विभिन्न मुलुकमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदान, २१ औं शताब्दिको परिवर्तित विश्व सन्दर्भ बमोजिम नेपालले स्थापित र विस्तारित गर्नुपर्ने बाह्य सम्बन्धका बारेमा पनि समयसीमा सहित लक्ष्य निर्धारण गरिएको छ ।

त्यसैगरी आर्थिक कूटनीतिको माध्यमबाट नेपालको पर्यटन,उद्योग व्यापार, वैदेशिक लगानी र सहयोगको प्रवर्धनमा केन्द्रित भई तोकिएको समयमै कार्यसम्पन्न गर्नेगरी मातहतका विभाग र नियोगहरुलाई पनि आ–आफ्नो कार्ययोजना तयगरी समन्वयात्मक रुपमा कार्यगर्न निर्देशन दिइएको छ ।

साथै मिशन र महाशाखाहरुलाई विभिन्न मुलुकसँग गर्नुपर्ने आवश्यक सहमति र सम्झौताका विषयमा पनि लक्ष्य निर्धारण गरी हासिल गर्नसक्ने अपेक्षित नतिजाको प्रक्षेपणका साथ कार्यगर्न सो कार्ययोजनामार्फत निर्देशन दिइएको छ ।  

मन्त्रालयद्वारा हाल जारी परियोजनाहरुको प्रगति मूल्यांकन, कार्यान्वयनमा उत्पन्न हुनसक्ने चूनौतीहरुको पहिचान, कार्य सम्पन्नताको समय सीमा र कार्यान्वयन गर्ने निकायको जिम्मेवारीका बारेमा पनि सो कार्ययोजनामा तोकिएको छ ।

यस मन्त्रालय मातहतका कर्मचारीले परिणाममुखी भएर काम गर्न सकुन् र नेपाल सरकारले तोकेको लक्ष्य समयमै हासिल गर्नका लागि पारदर्शी रुपमा अनुगमनको व्यवस्था हुन सकोस् भन्ने उद्देश्यका साथ यो वार्षिक कार्यतालिका निर्माण गरी लागू गरिएको मन्त्री डा.महतले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ