arrow

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल 'व्यवारिसे'

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
honey-moon-lake-pokhara.jpg.jpeg

कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् ।

सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । बाँकी अन्य तालको क्षेत्रफल शून्य दशमलब ४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ ।

प्राकृतिक तालमध्ये २७ वटा तालमा स्थानीय बासिन्दाले माछापालन गरेका छन् । उपभोक्ता समूह र सामुदायिक वनले ठेक्कामा दिएर तालमा माछापालनको कार्य गरेका छन् । सामुदायिक वन र निकुञ्ज क्षेत्रमा रहेका २० तालमा प्राकृतिक रुपमा माछा रहे पनि व्यावसायिक माछापालनको कार्य नगरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए।

प्राकृतिक तालमध्ये शुक्लाफाँटा नगरपालिकामा १३, बेलौरी नगरपालिकामा आठ बेदकोट नगरपालिकामा छ, कृष्णपुर नगरपालिकामा चार, पुनर्वास नगरपालिकामा पाँच, महाकाली नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा चार, लालझाडी गाउँपालिकामा एक, भीमदत्तनगरपालिकामा एक र शुक्लाफाँटा निकुञ्जमा दुई गरी ४७ वटा ताल रहेको उनले जानकारी दिए। संरक्षण संवद्र्धनको अभावमा अधिकांश प्राकृतिक तालहरु पुरिँदै जान थालेका छन् ।

वर्षाको पानीले बगाएर ल्याउने माटो र बालुवाका कारण अधिकांश तालको अस्तित्व लोप हुने खतरामा रहेको अधिकृत जोशीले बताए । “माछापालन गरिएका तालको संरक्षणका लागि केही रकम बर्सेनि विनियोजन हुँदै आए पनि अन्य तालको संरक्षणको कार्य हुन सकेको छैन” – उनले भने । चुरे फेदीमा रहेका दुई दर्जन बढी तालको सबैभन्दा बढी जोखिममा रहेको उनले बताए।

दुर्लभ चराचुरुङ्गी, सरिसृपको वासस्थान भएका यहाँका प्राकृति ताल पुरिन थालेपछि अस्तित्वमा खतरामा परेको छ । यहाँ रहेका सम्पूर्ण तालको क्षेत्रफल ३०० हेक्टर बढी रहेको अध्ययनकर्ताको भनाइ रहेको छ । प्रशस्त तालतलैया रहेको कञ्चनपुर जैविक विविधताले भरिपूर्ण रहेको छ ।

समुद्र सतहदेखि १६० मिटरदेखि १५२८ मिटरसम्म उचाइ रहेको यहाँ विशेष किसिमको जैविक विविधता पाइन्छ । तालमा २९ प्रकारका माछा, ११ किसिमका उभयचर तथा सरिसृपका साथै ३१ प्रकारको सिमसार क्षेत्र यहाँ पाइन्छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ