arrow

प्रकाश अर्याल नेपाल प्रहरीको आइजीपी नियुक्त

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
aaryal-g-news.jpeg

काठमाडौं । प्रकाश अर्याल प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त भएका छन् । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेकामा चैत ८ गते सर्वोच्च अदालतले निर्णयनै बदर गरिदिएको थियो । वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नभई एकलौटी राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए ।

चन्द नियुक्तिको निर्णय भएको केही घण्टामै डिआइजी नवराज सिलवालले समेत आफु प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्च पुगेका थिए । ढकाल र सिलवालको रिटको संयुक्त सुनुवाई गर्दै अदालतले कार्यसम्पादन मूल्याङ्कनका आधारमा आइजीपी नियुक्त गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।

चन्द र सिलवालका नाममा विवाद भएपछि सरकारले सहज बाटो रोजेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत अदालतको निर्णयको सम्मान हुनेगरी आइजीपी नियुक्त गर्ने बताएका थिए । लामोसमय सम्म मन्त्रिपरिषद् बैठन नबसेपछि डिआइजी नवराज सिलवाल आफुलाई आइजीपी बनाउन भन्दै गृहमन्त्रालयमा निवेदन समेत दिएका थिए ।

आइजिपी नियुक्तिको विवाद सर्वोच्चसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाएको थियो । निमित्तको भरमा चलेको नेपाल प्रहरीले अब आइजीपी पाएको छ । दाङको त्रिभुवन नगरपालिका–११ मा २०२० असार १४ गते जन्मिएका अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ