arrow

गृहमन्त्री नै मन्त्रिपरिषद बैठकमा नगएर पनि चल्ला त ? यस्तो छ रणनीति

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
bimalendra_nidhi_final.jpg

काठमाडौं । प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गरेको छ । 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार डिआइजीको मूल्यांकन फाइल भने गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिए । 

गृहमन्त्री निधिले सोमबार बिहान १० बजेतिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए ।

वरीयता विवादपछि ३ चैत यता मन्त्रिपरिषद् बैठक बसेको थिएन । निधिले वरीयताको विषय आफ्नो प्रतिष्ठासँग जोडिएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकमा नगएको उनीनिकट स्रोतले बतायो । 

स्रोतका अनुसार उनले प्रधानमन्त्रीसँग भनेका थिए, ‘वरीयताको विषय अब मेरा लागि प्रतिष्ठाको विषय भइसक्यो । म कमल थापाको पछाडि बस्न सक्दिनँ र अब क्याबिनेटमा पनि जान्नँ ।’

गृहमन्त्री निधिले आफ्ना प्रस्ताव प्रधानमन्त्री र मुख्यसचिवमार्फत मन्त्रिपरिषदमा पठाउने तर अबका कुनै बैठकमा पनि सहभागी नहुने पनि निकट व्यक्तिहरूलाई बताएका छन् ।

‘उहाँले वरीयतालाई प्रतिष्ठाको विषय बनाउनुभएको छ । त्यसैले सोमबारको क्याबिनेटमा पनि नजानुभएको हो,’ उनीनिकट स्रोतले भन्यो, ‘गृहमन्त्रीका रूपमा अगाडि बढाउनुपर्ने प्रस्तावबारे प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गर्नुहुन्छ । तर, अब हुने क्याबिनेटमा पनि जानहुन्न ।’

गृहमन्त्री निधि सोमबार दाङमा पार्टीको कार्यक्रममा जाने तयारीमा थिए । तर, प्रधानमन्त्री प्रचण्डको आग्रहमा दाङ जाने कार्यक्रम स्थगित भएको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । 

दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा छलफल गर्नुपर्ने भएकाले बाहिर नजान आग्रह गरेका थिए । 

प्रधानमन्त्रीसँग बिहान भएको भेटमा मधेसी मोर्चालाई समेटेर संविधान संशोधनको विषय अघि बढाउने विषयसमेत छलफल भएको थियो ।

निधि चुनावीसभामा भाग लिन मंगलबार बिहान बुटवल जाँदै छन् । कांग्रेसले सातवटै प्रदेशमा गरिरहेको आमसभाअन्तर्गत मंगलबार बुटवलमा चुनावीसभा हुँदै छ ।

देउवाको आग्रहपछि राजीनामा नदिने मनस्थितिमा
वरीयता विवादपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिने मनस्थितिसमेत बनाएका थिए । 

तर, कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उनले राजीनामा नदिने मनस्थिति बनाएका छन् । ‘अब बस्ने क्याबिनेटमा पनि भाग लिनुहुन्न र गृहमन्त्रीबाट पनि राजीनामा दिनुहुन्न,’ निधिनिकट स्रोतले भन्यो । 

सभापति देउवाले स्थानीय निर्वाचनको मुखमा राजीनामा दिँदा गलत सन्देश जाने र निर्वाचनपछिको सत्ता समीकरणमा समस्यासमेत हुन सक्ने भन्दै गृहमन्त्री निधिलाई राजीनामा दिन रोकेको स्रोतको भनाइ छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ