arrow

भूकम्पका लागि सरकार लगानी गर्दै, मापन गर्न १८ केन्द्र बन्दै

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
earthquake-measure.jpg

काठमाडौँ । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी र्दिए । 

उनले भने – “सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग दिनेछन् ।” 

केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य (अभिलेख राख्ने काम) गरिरहेको छ । 

केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि अहिलेसम्म नेपालमा ३० हजारभन्दा बढी भूकम्प तथा परकम्प गइसकेको छ । 

कोइरालाले गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७९ र त्योभन्दा तलका ३० हजारभन्दा बढी परकम्प गएको बताए । 

वैशाख १२ गते गएको भूकम्पपछि दैनिक सयौँ परकम्प गएको र त्यसको अभिलेख राख्न नसकेकाले अहिले केन्द्र अभिलेख राख्ने काम जुटिरहेको छ । 

उनले भने – “ देशभरका केन्द्रबाट आएका तथ्याङ्कको प्रशोधन गरिरहेका छौँ । अहिलेसम्म करिब २० हजार परकम्पको प्रशोधनको काम भइसक्यो ।” 

नेपालमा सन् १९७८ मा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकीडाँडामा भूकम्प मापन केन्द्रको स्थापना भएको थियो । 

नेपालमा अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम बैतडीसम्म २१ केन्द्रबाट भूकम्प मापन हुँदै आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ