arrow

सेनाबारे प्रचण्डले के भने ? (सम्बोधनको पूर्णपाठसहित)

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
Pm_prachnd.jpg

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् ।
भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बुधबार आयोजित सि.सं ५५ अधिकृत क्याडेट तालिम र सि.सं ४५ पदिकरहुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्रीले राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिए ।

उनले भने, ’राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्रास्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनुकरणीय योगदान दिँदै सेनाले नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामु परिचित गराउन कुनै कसर बाँकी राखेको छैन ।’ आफ्नो पेसासँग मात्र आबद्ध नभई नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा समेत अग्रस्थानमा रही इमान्दार र पेसेवर ढङ्गबाट उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम रहेको उनले उल्लेख गरे ।

नेपाली सेनाको व्यावसायिक उत्कृष्टताको सञ्चार अब विदेशी सेनाको माझसमेत अनुकरणीय बनेको कुरा नेपालको शिक्षण संस्थानमा हालैका दिनमा भएका विदेशी शिक्षार्थी आदान–प्रदानबाट प्रस्ट भएको प्रधानमन्त्रीले बताए ।  उनले भने, ’सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयङ्गम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतका रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रही बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैव अडिग रही समर्पित रहनेछ ।’ कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतको सहभागिता रहेको थियो ।
उत्कृष्टलाई सम्मान
दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले कार्यक्रममा सम्मान गरेका थिए । सि.सं ५५ अधिकृत क्याडेट तालिममा पुरुषतर्फ नवलपरासी, दुम्कीबासका दीपेन्द्र बराल, महिलातर्फ मनमैजु, काठमाडौँका करिश्मा मानन्धर र अन्तर्रा्स्ट्रिय अधिकृत क्याडेटतर्फ बङ्गलादेशका एम.डी. मनिरुजमान सर्वोत्कृष्ट भए ।

त्यसैगरी सिसं ४५ का पदिक–हुद्दा क्याडेट तालिममा काठमाडौँ, नागार्जुनका अमित लामा सर्वोत्कृष्ट भए ।  
मित्रराष्ट्र केन्या र बङ्गलादेशका शिक्षार्थी सहभागी भएको सो तालिममा सि.सं ५५ अधिकृत क्याडेटतर्फ १२ महिलासहित एक सय १३ जना र सि.सं ४५ पदिकरहुद्दा क्याडेट तालिममा १८ जना नेपाली प्रशिक्षार्थी सहभागी थिए ।
प्रधानमन्त्रीको सम्बोधन

आज गौरवमय इतिहास र प्रशंसनीय प्रतिष्ठा बोकेको विशिष्ट संस्था, नेपाली सेनाको अधिकृत पदमा आयूक्त हुन लाग्नुभएको छ । चौबिस महिनाको  निरन्तर तथा अथक प्रयास र तपाईहरुको दृढ समर्पण, लगन र मेहनत पश्चात् अधिकृत क्याडेट तालिम सफलतपूर्वक सम्पन्न गरी नेपाली सेनाको योग्य अधिकृत बन्न सफल हुनुभएको छ । यस विशिष्ट क्षणमा तपाईहरुबाट भर्खरै प्रदर्शन गरिएको अत्यन्त फूर्तिलो र व्यावसायिकता झल्काउने कवाजको लागि  म तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नेपाली जनता र प्रचलित संविधानको रक्षा गर्ने प्रमुख दायित्व र गहन जिम्मेवारी बोकेको नेपाली सेनाको सहायक सेनानी दर्जामा आयूक्त हुन लाग्नु भएको यस पावन अवसरमा तपाईहरु सवैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, यस समारोहमा सरिक हुन पाएकोमा म आफूलाई समेत गौरवान्वित ठानेको छु ।

नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आईरहेको छ । नेपाली सेना नेपाली जनतासंग कांधमा कांध मिलाउदै अहोरात्र जनसेवामा समर्पित भई नागरिकको मौलिक हक एवं अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानव अधिकारको रक्षार्थ कटिबद्ध रहँदै आएको छ । आफ्नो पेशासँग मात्र आवद्ध नभई नेपाली जनता र मुलुकप्रति सदा सर्वदा समर्पित र प्रतिवद्ध रहँदै राष्ट्रिय विपत्ति र संकटका घडीहरुमा समेत अग्रस्थानमा रही इमान्दार र पेशेवर ढंगबाट परिचालित भई आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सक्षम रहेका छ । यसका अलावा नेपाली सेनाले देशका विकास योजनाहरुमा समेत आफूलाई अग्रसर गराई राष्ट्र निर्माणका कार्यहरुमा निरन्तर खट्टिई उच्चतम योगदान दिंदै आईरहेको छ ।

नेपाली सेनाले, राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनूकरणीय योगदान दिदै नेपाल र नेपालीको पहिचान र साहसलाई विश्व सामू परिचित गराउन कुनै कसर बांकी राखेको छैन । राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सदैव सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्ने पक्षमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न तपाईहरु सदा सक्षम एवं सफल हुनुहोस्, यही मेरो तपाईहरुलाई शुभकामना छ ।

नेपालीहरुको साझा सम्पतिको रुपमा रहेको नेपाली सेनाको भावी अधिकृतको हैसियतले  तपाईहरु सम्पूर्णको कांधमा अब विशेष जिम्मेवारी थपिन गएकोले तपाईहरु सबैले आफूलाई समय र परिस्थितिसंग अझ प्रभावकारी तवरले प्रस्तुत गर्दै कर्तव्यपथमा अगाडि बढनुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु । नेपाली सेनाको व्यवसायिक उत्कृष्टताको संचार अब हामी बीच मात्र सीमित नभई विदेशी सेनाको माझ समेत अनूकरणीय बनेको कुरा हाम्रा शिक्षण संस्थानहरुमा हालैका दिनहरुमा भएका विदेशी शिक्षार्थी आदान प्रदानबाट प्रष्ट हुन्छ । यो कार्य नेपाली सेनाको व्यवसायिक प्रभावकारीता र विश्वासको उपज हो भन्ने मलाइ लाग्दछ ।

नेपाली सेनाको सेनामूख तहको नेतृत्व सम्हाल्ने चुनौतिपूर्ण दायित्व वहन गर्न तपाईहरुले यस प्रतिष्ठानमा प्राप्त गरेको उच्चस्तरको ज्ञानलाई समय सापेक्ष व्यवहारमा उतारी दृढ निश्चयी भई इमान्दारीपूर्वक मातृभूमि र लोकतन्त्रको रक्षा र सेवा गर्ने कार्यमा आफ्नो पाईलाहरुलाई गति दिन सक्षम हुनुहुनेछ । साथै आफ्नो सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयंगम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतको रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैब सजग, सतर्क र कर्तव्यनिष्ट रही आत्म बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैब अडिग रही समर्पित हुनुहुनेछ  भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।

नेपाली सेनाको अधिकृतको रुपमा अबदेखि तपार्इंहरु सबैले शिरमा ज्ञान र समझदारी, कांधमा सेवा र जिम्मेवारी तथा हृदयमा अदम्य साहस र नेतृत्व राखी भविष्यमा राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवामा आफ्नो जीवन उत्सर्ग गर्न कटिबद्ध हुनुहुनेछ । साथै यस अवसरमा नेपाली सेना जस्तो पबित्र संस्थामा प्रवेश गर्न तपाईहरुलाई अभिप्रेरित गर्ने तपाईका अभिभावक र आफन्तजनहरु सबैप्रति म आभार प्रकट गर्दछु ।

अन्त्यमा, आजका दिनदेखि सहायक सेनानी दर्जामा नियुक्त हुन लाग्नु भएकोेमा नव आयुक्त अधिकृतहरुलाई पुनः बधाई दिंदै तपाईहरुको उज्वल भविष्य, उत्तरोत्तर प्रगति एवं सफलताको कामना गर्दछु । साथै, यस नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “‘ज्ञान, सेवा, नेतृत्व”’ अनुरुप प्रशिक्षण दिई नेपाली सेनाको सूयोग्य, कर्मठ, इमान्दार, कर्तव्यनिष्ट र अनुशासित अधिकृतहरु उत्पादन गर्नु भएकोमा यस प्रतिष्ठानका शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्य दर्जाका शिक्षक वर्ग तथा बौद्धिक ज्ञान अभिवृद्धि गर्दै शैक्षिक अध्यापन तर्फ निरन्तर रुपमा योगदान पु¥याउनु हुने डिन तथा प्राध्यापक वर्गहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस उल्लासमय समारोह सफल बनाउन योगदान पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ