- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलोपटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।
विश्वको गम्भीर सुरक्षा चुनौतीकारुपमा देखापरेको आतंकवादबाट भविष्यमा आउनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी ‘सगरमाथा फ्रेन्डसिप–१७’ नाम दिएर दुई देशका सेनाबीच उक्त अभ्यास वा तालिम सन्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सन्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासलाई निरन्तरता दिनेक्रममा पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग १० दिने तालिम हुने सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार जनाएको छ ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्नेक्रममा द्विपक्षीय तथा बहुपक्षीयरुपमा तालिम, गोष्ठी तथा अभ्यास गर्दै आएको छ । तालिमकाक्रममा विपद् व्यवस्थापनलगायत साझा हित र सरोकारका विषयमा पनि छलफल हुनेछ ।
तालिम र अभ्यासबाट हुने अनुभव आदान–प्रदानबाट ज्ञान, सीप र पेसागत क्षमता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिइएको छ ।
द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नाका साथै सैनिक तथा कूटनीतिक सम्बन्धलाई अझ बलियो र विस्तार गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । रासस