arrow

नेपाल–चीन सैन्य अभ्यास बैशाख ३ गते, आतंकवादविरुद्ध लड्न सघाउ

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
nepal-china-flag.jpeg

काठमाडौं । अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा सुरु हुने भएको छ ।

छिमेकी राष्ट्र भारत र अमेरिकाले चीनसँगको संयुक्त सैन्य अभ्यासबारे विभिन्न आशंका गरिरहेका बेला नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गरी चिनियाँ जनमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’मा आधारित रहेको स्पष्ट पारेको छ ।

चीनको जनमुक्ति सेनासँग पहिलोपटक हुन लागेको सैन्य अभ्यास वैशाख १२ सम्म हुनेछ । नेपाल र चीनबीचको विशेष फौज संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ ।

जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त अभ्यासले आतंकवादविरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक ज्ञान र पेशागत क्षमता आदानप्रदान गर्दै सैनिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।’


सेनाले सैन्य अभ्यास कुन तालिम केन्द्र वा वाहिनीमा हुनेबारे विवरण दिएको छैन । सेनाले अभ्यासमा सहभागी हुने दुवै राष्ट्रका सैनिकको संख्याबारे पनि उल्लेख गरेको छैन ।

जंगी अड्डाले अभ्यासमा सहभागी हुने सैनिकको संख्या नखुलाए पनि चिनियाँ जनमुक्ति सेनाबाट २० जनाभन्दा थोरै सहभागी हुने स्रोतले बताएको छ ।

सैनिक प्रवक्ता झंकरबहादुर कडायतले अभ्यासको तयारी पूरा भएको बताए । अभ्यास विशेष वाहिनी महाराजगन्जमा गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

चीनको रक्षा मन्त्रालयले गत पुस १४ मा पत्रकार सम्मेलन गरी नेपाल९चीन संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको थियो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक सैन्य अभ्यासको तयारी भइरहेको बताएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ