मोर्चा निर्वाचन हुन नदिने पक्षमा रहेको आशंका: वरिष्ठ नेता पौडेल

प्रकाशित मिति : २०७४ बैशाख ३ आइतबार

बागलुङ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उहाँको आरोप थियो । 

“सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भन्नुभयो, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गर्नुहुन्छ, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ ।” चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्ने उहाँको भनाइ छ । 

मधेसी मोर्चाका मागप्रति नेपाली काँगेस संवेदनशील रहेपनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच खुला छलफल हुनुपर्ने नेता पौडेलले बताउनुभयो । रासस

सम्बन्धित समाचार

नयाँ