arrow

किन घुम्छन् खानेपानी मन्त्री मध्यरातमा काठमाडौंका सडक ?

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
water-ministor.jpg

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाही रातीको समयमा प्रायजसो राजधानीका सडक नियाल्न भ्याइहाल्छन् । रात परेपछि बाहिर निस्कनु र सडक अनुगमन गर्नु मन्त्री शाहीको दैनिकी जस्तै बनेको छ । पर्यटन मन्त्रीको भूमिकामा रहँदा एयरपोर्ट नपुगी मन्त्री क्वार्टर  नजाने शाही खानेपानी मन्त्री भएपछि मेलम्ची खानेपानी वितरण गर्नका लागि पाइप विच्छ्याउन खनिएको सडक नियाल्न भ्याइहाल्छन् ।

मेलम्ची खानेपानीको पाइप विच्छ्याउन खनिएको सडकबाट धूलो उड्ने र सवारी खस्ने गुनासो आउन थालेपछि मन्त्री शाहीले त्यसलाई केही हदसम्म कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अनुगमन निर्देशनलाई तीब्रता दिएका छन् । मन्त्री नै राती अनुगमनम आउन थालेपछि खाल्डो खनेर अलपत्र छोड्नेहरु सतर्क बनेका छन् । पाइप जडानको काम सकिएपछि तुरुन्त खाल्डो पुरिन्छ ।

मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको जनगुनासो सम्बोधन गर्न मन्त्री शाहीले खाल्डोलाई राती नै पुर्न निर्देशन दिने गरेका छन् । मन्त्री शाहीको निर्देशनपछि अहिले सडकका खाल्डा तत्कालै पुरिइन्छ । जसले सवारी साधनको आवागमनमा पर्ने वाधा टरेको छ । कुनै सवारी खाल्डोमा छिरेको गुनासो सुन्नमा आएको छैन ।

मन्त्री शाहीले निर्देशन दिंदै भन्छन्,  ‘पाइप विच्छ्याउनका लागि सडकमा खनिएको खाल्डाहरु तत्कालै पुर्ने व्यवस्था गर्नुस् ।  जनतालाई सास्ती हुने अवस्था आउन दिनु हुँदैन । रातभरी काम गरिरहनु भएको छ । उज्यालो हुँदा जनताले सडकमा खाल्डो छ भन्ने थाहा नपाउन् । खाल्डोमा सवारी साधन खस्यो भन्ने समाचार सुन्ने अवस्था नआओस् ।’

मन्त्री शाहीले राजधानीका मुख्य सडक र मानिसको आवतजावत बाक्लो हुने ठाउँमा तत्काल पाइप विच्छ्याएर अस्थायी पीच गर्न निर्देशन दिएका छन् । पीच नभई धूलो हटाउन समस्या भएको भन्दै मन्त्री शाहीले यो कामलाई तुरुन्त गर्नुपर्नेमा जोड दिए । तत्कालका लागि धूलो नियन्त्रण गर्ने गरी काम गर्नुपर्ने भन्दै मन्त्री शाहीले यसका लागि आफू निरन्तर लागिरहेको बताए ।
   
मेलम्ची खानेपानीको परियोजनाका लागि सडकमा पाइप गाड्न खनिएको खाल्डो पुरिसकेपछि सडक पीच गर्न मन्त्रालयले सडकलाई बजेट दिइसकेको बताउँदै मन्त्री शाहीले काठमाडौँका जनताले केही समयपछि धूलोको सास्तीबाट मुक्ति पाउँछन्, भनेका छन् ।
 
मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा असर पुगेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पीच गरेर त्यो समस्या आउन दिन नहुनेमा मन्त्री शाहीको जोड छ । त्यसैका कारण पाइप विच्छ्याउने काम सम्पन्न भएपछि त्यो ठाउँमा अस्थायी पीचको काम तुरुन्त गर्ने गरिएको छ । जसले केही हदसम्म धूलो नियन्त्रण गर्न मद्दत पुगेको छ । मन्त्री शाहीले पाइप विच्छ्याउने काम सम्पन्न नहुञ्जेल सम्भव भएसम्म दैनिक रुपमा त्यस्तो ठाउँमा पानी हाल्न व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिने गरेका छन् ।

शाहीले पाइप गाड्ने कामको नियमित अनुगमन गर्ने भन्दै जनतालाई सास्ती र समस्या आउन नदिन आफू प्रतिवद्ध रहेको बताउँदै आएका छन्‌ । काठमाडौँबासीको मेलम्ची सपना साकार पार्नका लागि आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै यो अभियानलाई पुरा गरेरै छाड्ने मन्त्री शाहीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ