arrow

नाम वैदेशिक रोजगारीको, काम अवैध मिर्गौला कारोबारीको 

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
kidney-failure.jpeg

काठमाडौं । नेपालमा मानव अङ्ग मिर्गौला (किड्नी) को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ ।  

वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ ।

विशेष गरी समाजका अशिक्षित, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । 

जनअधिकार संरक्षण मञ्च नेपाल (पीपीआर) र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन (एमएमएसडी) ले आइतबार आयोजना गरेको  ‘नेपालमा मिर्गौला बेचविखन’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले मिर्गौला कारोबारमा संलग्न दलालहरूको सञ्जाल मुलुकभर फैलिँदै गएको बताए ।

‘केही वर्ष पहिलेसम्म मिर्गौला विक्री वितरणको समस्या काभ्रे जिल्लामा मात्र सीमित थियो’, पीपीआरका कार्यक्रम निर्देशक सतिशकुमार शर्माले भने, ‘अहिले काठमाडौंको काँठक्षेत्रदेखि सुदूरपश्चिमको बर्दिया र बैतडीसम्म यो समस्या फैलिएको छ ।’

काभ्रेमा विभिन्न गैरसरकारी तथा सरकारी सङ्घसंस्थाको सक्रियता बढेपछि दलालहरूले स्थान परिवर्तन गरेको उनले बताए ।

पछिल्लो समय काभ्रे र सिन्धुपाल्चोकभन्दा पनि दलालहरूले काठमाडौँको काँठक्षेत्र, धादिङ, गोरखा, बर्दिया र बैतडीलाई लक्षित गरेको सूचना प्राप्त भएको उनले बताए ।

वैदेशिक रोजगारको नाममा आर्थिक लोभ देखाई फकाई फुलाई भारत लैजाने र त्यहाँ होटलमा राखी खानामा बेहोस हुने पदार्थ खुवाई किड्नी झिक्ने गरेको पाइन्छ ।  (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ