arrow

११ वर्षको उमेरमै भलिबलमा डेब्यु ?

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यु’ चर्चित बनेको छ । 

भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्यु डायमन्ड क्लबका तर्फबाट मैदानमा ओर्लिएकी थिइन् ।

टोलीकी प्रमुख खेलाडी पनामिका राईको स्थानमा दोस्रो सेटमा मैदान प्रवेश गरेकी उनले ओपन स्पाइकबाट दुई अंक पनि हासिल गरिन् । 

उनले हानेको बलले म्याट छुँदा कभर्डहलमा उपस्थित भलिबल प्रेमीले मजैले ताली बजाएर प्रेक्षालाई हौसला दिएका थिए । 

प्रतियोगितामा प्रेक्षाभन्दा तीन दशक बढी उमेर भएका पाका खेलाडी पनि सहभागी छन् । तर, ती सबै खेलाडीलाई छायामा पार्दै ११ वर्षीया प्रेक्षाले चर्चा बटुलिन् ।

सानै उमेरमा ठूलो प्रतियोगितामा सहभागी गराउँदा आत्मविश्वास बढ्ने भएकाले उनलाई टोलीमा सहभागी गराइएको न्यु डायमन्डका प्रशिक्षक कुमार राईले जानकारी दिए । 

यसअघि विभिन्न प्रतियोगितामा सहभागी जनाइसकेकी रिया कुँवरको तालिमका क्रममा हात भाँचिएपछि प्रेक्षाले टोलीमा अवसर पाएकी थिइन् । 

प्रतियोगितामा सहभागी हुनुभन्दा केही दिनअघि रियाको हात भाँचिएपछि उनको स्थानमा प्रेक्षालाई सहभागी गराइएको हो ।

‘ट्रेनिङकै क्रममा रियाको हात भाँचियो । डाक्टरले एक वर्षसम्म खेल्न नसक्ने भनेपछि उनको स्थानमा प्रेक्षालाई सहभागी गराएका हौं’, न्यु डायमन्डका प्रिन्सिपलसमेत रहेका राईले भने ।

प्रेक्षाले भलिबल खेल्न थालेको भने दुई वर्ष मात्र भयो । कक्षा चारमा अध्ययन गर्दादेखि भलिबल खेल्न थालेकी उनी विभिन्न प्रतियोगितामा टोलीको सदस्य भए पनि अहिलेसम्म कुनै ठूला प्रतियोगिता खेलेकी थिइनन् ।

दुई वर्षको अवधिमा खेलमा निकै प्रगति गरे पनि सोचेअनुरूप उनको उचाइ नबढेको प्रशिक्षक राईले बताए ।

 ‘दुई वर्षको अवधिमा प्रेक्षाले खेलमा निकै प्रगति गरेकी छन् तर सोचेअनुरूप हाइट नबढेकाले भविष्यमा टोलीमा स्थान बनाउन समस्या पर्न सक्छ’, राईले भने । (अन्नपूर्ण पोष्ट दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ