जब तस्वीर खिच्न अदालत पुग्दा प्रहरीले सिके राउतको कार्यकर्ता सम्झियो ...

सुदर्शन अर्याल, प्रकाशित मिति : २०७४ बैशाख ४ सोमबार , १,३४१ पटक हेरिएको
सिराहा जिल्ला अदालत

सिराहा । फरक प्रयोजनको लागि बुधबार विहानै सिराहा जिल्लाको सदरमुकाम सिराहा नगरपालिकामा पुगेपछि हाम्रो पाँच जनाको टोली दुई भागमा विभाजित भयो । मध्याह्न १२ बजेतिर सिराहाको होटल स्वातीबाट निस्किएका टोली मध्ये तीनजनाको प्राविधिक र दुई जनाको अर्को टोलीमा विभाजित भएका हामीहरुको सिराहा यात्राको प्रयोजन थियो कुशाहा जातीका राजा सल्हेसको पराक्रम र उनको योगदान झल्किनेगरी एउटा बृत्तचित्र तयार पार्नु ।


सदरमुकाम सिराहा नगरपालिकामा रहेको जिल्ला अदालत भन्दा करिव ५ सय मिटर भित्र रहेको महिशोथामा राजा सल्हेसको दरबार र पहलमानीको अखडा रहेको ठाउँका केही तस्वीर संकलनपछि हाम्रो प्राविधिक टोलीलाई त्यहीँ छाडेर हाम्री भने अदालतको ५ सय मिटर दक्षिणतिर रहेको सिराहा नगरपालिकाको कार्यालयमा महिशोथा व्यवस्थापनका योजनाहरुको विषयमा जानकारी खोज्दै पुगियो । 


त्यहाँबाट फर्किएर जिल्ला समन्वय समिति सिराहातिर लाग्दाको बीचबाटोमा पर्ने जिल्ला अदालत सिराहामा सिंगै जिल्ला प्रहरी कार्यालय जस्तै लाग्नेहरु झण्डै आधा दर्जन प्रहरीको गाडी र त्यसैमा भरीभराउ प्रहरीको संख्या देखेर पनि हामीहरु त्यसको वास्तै नगरी लाग्यौ आफ्नै काममा जिल्ला समन्वय समितिको कार्यालय तिर । 


जिल्ला समन्वय समितिको कार्यालयमा पुगेपछि बल्ल थाहा भयो कि जिल्ला अदालत अगाडिको भीडको रहस्य । अदालत अगाडिको भीड देश विखण्डनको मुद्दा लिएर अघिबढेका सिके राउतको मुद्दाबारे धाराबाहिक बहस चलिरहेकोले त्यसैको सुरक्षाको लागि रहेछ । 


सिके राउतलाई पनि भित्र नै उच्च संख्यामा रहेका प्रहरीको घेराभित्र राखिएको थियो । साथमा पाँचदिनदेखि निरन्तर चलिरहेको सो मुद्दाको कुनैपनि सुनुवाई बाहिर आएको थिएन । मात्रै यत्तिकुरा थाहा भयो कि सो मुद्दामा सोही दिन फैसला हुँदै रहेछ । 


स्थानीय पत्रकारहरुको सहयोगमा सो कुरा पत्ता लागेपछि तीनजनाको प्राविधिक टोली अदालत तर्फ गईसकेको रहेछ । हामी पनि जिल्ला समन्वय समितिमा समेत आफूले खोजेको जानकारी नपाएपछि लाग्यौं सिके राउतकै मुद्दाको पछि । जिल्ला अदालत अगाडि पुग्दा क्यामेरा बोकेका तीन जना साथीहरु पनि सिके राउतको मुद्दाको दिन जिल्ला अदालत सिराहा बाहिर देखिएको तस्वीर लिनको लागि भित्र जाने तरखरमा रहेछन् । 


अनावश्यक प्रचारबाजी गर्न माहिर रहेका सिके राउतका कार्यकर्ता हुन् या त आफन्त हुन् त्यो जान्ने अवसर पाइएन । तर, उनीहरु अदालत तिर फोटो खिचिरहेका क्यामेरा म्यान र उनीहरुसँगै बसेका अन्यसँग पनि केही कुरा गर्न खोज्दै थिए । एकाएक त्यहाँको वातावरण भयभीत बन्न पुग्यो । 


सिके राउतका समर्थकहरु केही भन्न खोज्दै थिए । त्यति नै बेला प्रहरीको पनि केरकार सुरु भयो । उता, राउतका समर्थकहरु पनि पत्रकारसामू आफ्ना केही कुराहरु राख्न खोज्दै थिए । हामीमा भने एक्कासी आफूहरु दुबै तर्फको घेराबन्दीमा परेको अनुभव भयो । 


हामी न त सिके राउतको पक्ष लिएर उनीहरुको गुनासो सुन्न पुगेका थियौं न त प्रहरीको कुरा सुन्न नै । प्रहरीको केही समयको केरकारपछि राउत कै कार्यकर्ताहरुबाट असुरक्षित रहको बताउँदै स्थानीय पत्रकार मित्रहरुको सुझावमा हामी आफ्नै काम तिर लाग्यौं । 


जिल्ला प्रहरी कार्यालय सिराहा नजिकै रहेको होटलमा बसेका हामीहरुमाथि यताउती हिँड्दा साँझसम्म पनि प्रहरीले निगरानी बढाईरहेको अनुभव हामीमाथि परिरहेको थियो । साँझ ७ बजेतिर काम सकेर आफ्नो निवास तिर फर्किन खोज्दा पनि ट्राफिक प्रहरी कार्यालय अगाडिबाट १०० मिटर जतिको दूरीसम्म पिछा गरेको प्रहरीले साँझ ७ बजेपनि सिराहा आउनुको प्रयोजन बारे केरकार गर्नुले पनि प्रहरीको नजर हामी माथि सिके राउतका कार्यकर्ताको रुपमा परेको अनुमान गरिएको हो । 


त्यसो त उक्त घटना पछि सुरक्षा संवेदनशीलता बढेको भन्दै स्थानीय साथीहरुले हामीलाई साँझ परेपछि बाहिर ननिस्कन सुझाव पनि नदिएका होइनन् । उनीहरुको कुरा नसुनेकोमा सिके राउतका कार्यकर्ताले नै पनि निगरानी बढाएको हुनसक्ने भन्दै उनीहरुले प्रहरीले समेत निगरानी बढाईरहेको भन्दै साँझ परेपछि होटलबाट बाहिर ननिस्कन सुझाव दिएका थिए । तर हामीहरु भने साँझसम्म पनि राजा सल्हेसको जीवनीसँग जोडिएको विषयमा कुराकानी गरिरहेका थिए । 


सो घटनाले कुनैपनि अफ्टेरो त पारेन । तर, पनि सोही दिन १० हजार रुपैयाँ धरौटीमा छुटेका सिके राउतको रिहाईको खबर भने अदालत मै पुगेर पनि अर्काको मुखबाट सुन्नु पर्यो । यदी आफ्नो परिचय पहिले नै दिएर प्रहरीको स्वीकृति लिएको भए सम्भवतः हामी प्रहरी हिरासतमा रहेका सिके राउतको हिरासतको तस्वीर लिन पनि सक्थ्यौहोला । तर, विना परिचय तस्बीर लिने हाम्रो प्रयसले जिल्ला अदालत सिराहाको तस्वीर बाहेक अरु तस्वीर हात पनि लागेन । बरु प्रहरी र सिके राउतका कार्यकर्ताहरुको घेराबन्दीमा परेर झण्डै १८ घण्टा प्रहरी निगरानीमा बस्नुपर्यो । 


२ नं प्रदेशमा सिके राउतको त्रास मात्रै बढी 
विशेषगरी सिके राउतको प्रभाव अलिक बढी रहेको मानिने तराईका दुई जिल्लाहरु सिराहा र सप्तरी मानिन्छ । सिराहाको पनि विशेषगरी सदरमुकाम र लाहान बजारमा राउतको केही प्रभाव रहेको बताईन्छ । 


सोही विषयमा हामीहरुले पनि दुई दिने लाहान बसाईको क्रममा भेटिएका केही बुद्दिजीवी व्यक्तित्व तथा सर्वसाधारणहरुसँग पनि अप्रत्यक्ष रुपमा कुराकानी गरेका थियौं । उनीहरुसँगको कुराकानी बुझ्दा विशेषगरी सिके राउतका कार्यकर्ताहरु १६ देखि २२ वर्षका युवाहरु रहेका छन् । उनीहरु मध्येपनि घर छाडेर काठमाडौंसम्म पनि नआएकाहरु बिशेषगरी सिकेराउतको उक्त अभियानमा संलग्न भएका छन् । 


त्यस्ता कार्यकर्ताहरुलाई राउतले तालिम दिँदा समेत काठमाडौंमा मधेशीहरुलाई दोस्रो दर्जाको व्यवहार गर्ने, पानी नचलाउने र कुनैपनि पदमा मधेशीहरुलाई छानीछानी भेदभाव गर्नेगरेको जस्ता भ्रामक कुराहरु सुनाएर आक्रामक बनाउने गरेको सिराहा जिल्लाका एक एमाले नेताले जानकारी दिए । 


स्थानीयको कुरा गर्दा स्थानीय व्यक्तिहरु सिके राउतको एजेण्डालाई समर्थन गर्दैनन् । तर, अतिवादका कारण उनीहरु सिकेराउतका कार्यकर्ताप्रति त्रसित भने छन् अवश्य देखिन्थे । तराई मधेश लोकतान्त्रिक पार्टीका एक नेताले भने सिके राउतको कार्यक्रममा केही मान्छेहरु अन्य उमेर समूहका पनि भेटिन्छन् । तर उनीहरु विखण्डनको नारा सुन्न आएका होइनन् । राउत एउटा बैज्ञानिक हो भनेर बैज्ञानिकले कस्तो कुरा गर्छ त ? भनेर कुरा सुन्न आउने गरेको बताए । 


ती नेताले भने ‘अहिले त त्यस्तो स्थिती छैन । तर, पहिलेपहिले एउटा हेलिकप्टर आउँदा चार गाउँबाट हेलिकप्टर हेर्न आउने ठाउँ हो यो ।’ त्यसैले यो क्षेत्र विकासमा पछि परेकोले नै यस्ता अतिबाद भित्रिएको पुष्टि भएको छ ।
 

नयाँ