arrow

जब तस्वीर खिच्न अदालत पुग्दा प्रहरीले सिके राउतको कार्यकर्ता सम्झियो ...

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ वैशाख ४ सोमबार
siraha_distric_court.JPG

सिराहा। फरक प्रयोजनको लागि बुधबार विहानै सिराहा जिल्लाको सदरमुकाम सिराहा नगरपालिकामा पुगेपछि हाम्रो पाँच जनाको टोली दुई भागमा विभाजित भयो। मध्याह्न १२ बजेतिर सिराहाको होटल स्वातीबाट निस्किएका टोली मध्ये तीनजनाको प्राविधिक र दुई जनाको अर्को टोलीमा विभाजित भएका हामीहरुको सिराहा यात्राको प्रयोजन थियो कुशाहा जातीका राजा सल्हेसको पराक्रम र उनको योगदान झल्किनेगरी एउटा बृत्तचित्र तयार पार्नु।

दरमुकाम सिराहा नगरपालिकामा रहेको जिल्ला अदालत भन्दा करिव ५ सय मिटर भित्र रहेको महिशोथामा राजा सल्हेसको दरबार र पहलमानीको अखडा रहेको ठाउँका केही तस्वीर संकलनपछि हाम्रो प्राविधिक टोलीलाई त्यहीँ छाडेर हाम्री भने अदालतको ५ सय मिटर दक्षिणतिर रहेको सिराहा नगरपालिकाको कार्यालयमा महिशोथा व्यवस्थापनका योजनाहरुको विषयमा जानकारी खोज्दै पुगियो। 

त्यहाँबाट फर्किएर जिल्ला समन्वय समिति सिराहातिर लाग्दाको बीचबाटोमा पर्ने जिल्ला अदालत सिराहामा सिंगै जिल्ला प्रहरी कार्यालय जस्तै लाग्नेहरु झण्डै आधा दर्जन प्रहरीको गाडी र त्यसैमा भरीभराउ प्रहरीको संख्या देखेर पनि हामीहरु त्यसको वास्तै नगरी लाग्यौ आफ्नै काममा जिल्ला समन्वय समितिको कार्यालय तिर। 

जिल्ला समन्वय समितिको कार्यालयमा पुगेपछि बल्ल थाहा भयो कि जिल्ला अदालत अगाडिको भीडको रहस्य । अदालत अगाडिको भीड देश विखण्डनको मुद्दा लिएर अघिबढेका सिके राउतको मुद्दाबारे धाराबाहिक बहस चलिरहेकोले त्यसैको सुरक्षाको लागि रहेछ। 

सिके राउतलाई पनि भित्र नै उच्च संख्यामा रहेका प्रहरीको घेराभित्र राखिएको थियो । साथमा पाँचदिनदेखि निरन्तर चलिरहेको सो मुद्दाको कुनैपनि सुनुवाई बाहिर आएको थिएन । मात्रै यत्तिकुरा थाहा भयो कि सो मुद्दामा सोही दिन फैसला हुँदै रहेछ। 

स्थानीय पत्रकारहरुको सहयोगमा सो कुरा पत्ता लागेपछि तीनजनाको प्राविधिक टोली अदालत तर्फ गईसकेको रहेछ । हामी पनि जिल्ला समन्वय समितिमा समेत आफूले खोजेको जानकारी नपाएपछि लाग्यौं सिके राउतकै मुद्दाको पछि । जिल्ला अदालत अगाडि पुग्दा क्यामेरा बोकेका तीन जना साथीहरु पनि सिके राउतको मुद्दाको दिन जिल्ला अदालत सिराहा बाहिर देखिएको तस्वीर लिनको लागि भित्र जाने तरखरमा रहेछन्। 

अनावश्यक प्रचारबाजी गर्न माहिर रहेका सिके राउतका कार्यकर्ता हुन् या त आफन्त हुन् त्यो जान्ने अवसर पाइएन । तर, उनीहरु अदालत तिर फोटो खिचिरहेका क्यामेरा म्यान र उनीहरुसँगै बसेका अन्यसँग पनि केही कुरा गर्न खोज्दै थिए । एकाएक त्यहाँको वातावरण भयभीत बन्न पुग्यो। 

सिके राउतका समर्थकहरु केही भन्न खोज्दै थिए । त्यति नै बेला प्रहरीको पनि केरकार सुरु भयो । उता, राउतका समर्थकहरु पनि पत्रकारसामू आफ्ना केही कुराहरु राख्न खोज्दै थिए । हामीमा भने एक्कासी आफूहरु दुबै तर्फको घेराबन्दीमा परेको अनुभव भयो। 

हामी न त सिके राउतको पक्ष लिएर उनीहरुको गुनासो सुन्न पुगेका थियौं न त प्रहरीको कुरा सुन्न नै । प्रहरीको केही समयको केरकारपछि राउत कै कार्यकर्ताहरुबाट असुरक्षित रहको बताउँदै स्थानीय पत्रकार मित्रहरुको सुझावमा हामी आफ्नै काम तिर लाग्यौं। 

जिल्ला प्रहरी कार्यालय सिराहा नजिकै रहेको होटलमा बसेका हामीहरुमाथि यताउती हिँड्दा साँझसम्म पनि प्रहरीले निगरानी बढाईरहेको अनुभव हामीमाथि परिरहेको थियो । साँझ ७ बजेतिर काम सकेर आफ्नो निवास तिर फर्किन खोज्दा पनि ट्राफिक प्रहरी कार्यालय अगाडिबाट १०० मिटर जतिको दूरीसम्म पिछा गरेको प्रहरीले साँझ ७ बजेपनि सिराहा आउनुको प्रयोजन बारे केरकार गर्नुले पनि प्रहरीको नजर हामी माथि सिके राउतका कार्यकर्ताको रुपमा परेको अनुमान गरिएको हो। 

त्यसो त उक्त घटना पछि सुरक्षा संवेदनशीलता बढेको भन्दै स्थानीय साथीहरुले हामीलाई साँझ परेपछि बाहिर ननिस्कन सुझाव पनि नदिएका होइनन् । उनीहरुको कुरा नसुनेकोमा सिके राउतका कार्यकर्ताले नै पनि निगरानी बढाएको हुनसक्ने भन्दै उनीहरुले प्रहरीले समेत निगरानी बढाईरहेको भन्दै साँझ परेपछि होटलबाट बाहिर ननिस्कन सुझाव दिएका थिए । तर हामीहरु भने साँझसम्म पनि राजा सल्हेसको जीवनीसँग जोडिएको विषयमा कुराकानी गरिरहेका थिए। 

सो घटनाले कुनैपनि अफ्टेरो त पारेन । तर, पनि सोही दिन १० हजार रुपैयाँ धरौटीमा छुटेका सिके राउतको रिहाईको खबर भने अदालत मै पुगेर पनि अर्काको मुखबाट सुन्नु पर्यो । यदी आफ्नो परिचय पहिले नै दिएर प्रहरीको स्वीकृति लिएको भए सम्भवतः हामी प्रहरी हिरासतमा रहेका सिके राउतको हिरासतको तस्वीर लिन पनि सक्थ्यौहोला । तर, विना परिचय तस्बीर लिने हाम्रो प्रयसले जिल्ला अदालत सिराहाको तस्वीर बाहेक अरु तस्वीर हात पनि लागेन । बरु प्रहरी र सिके राउतका कार्यकर्ताहरुको घेराबन्दीमा परेर झण्डै १८ घण्टा प्रहरी निगरानीमा बस्नुपर्यो। 

२ नं प्रदेशमा सिके राउतको त्रास मात्रै बढी 
विशेषगरी सिके राउतको प्रभाव अलिक बढी रहेको मानिने तराईका दुई जिल्लाहरु सिराहा र सप्तरी मानिन्छ । सिराहाको पनि विशेषगरी सदरमुकाम र लाहान बजारमा राउतको केही प्रभाव रहेको बताईन्छ। 

सोही विषयमा हामीहरुले पनि दुई दिने लाहान बसाईको क्रममा भेटिएका केही बुद्दिजीवी व्यक्तित्व तथा सर्वसाधारणहरुसँग पनि अप्रत्यक्ष रुपमा कुराकानी गरेका थियौं । उनीहरुसँगको कुराकानी बुझ्दा विशेषगरी सिके राउतका कार्यकर्ताहरु १६ देखि २२ वर्षका युवाहरु रहेका छन् । उनीहरु मध्येपनि घर छाडेर काठमाडौंसम्म पनि नआएकाहरु बिशेषगरी सिकेराउतको उक्त अभियानमा संलग्न भएका छन्। 

त्यस्ता कार्यकर्ताहरुलाई राउतले तालिम दिँदा समेत काठमाडौंमा मधेशीहरुलाई दोस्रो दर्जाको व्यवहार गर्ने, पानी नचलाउने र कुनैपनि पदमा मधेशीहरुलाई छानीछानी भेदभाव गर्नेगरेको जस्ता भ्रामक कुराहरु सुनाएर आक्रामक बनाउने गरेको सिराहा जिल्लाका एक एमाले नेताले जानकारी दिए। 

स्थानीयको कुरा गर्दा स्थानीय व्यक्तिहरु सिके राउतको एजेण्डालाई समर्थन गर्दैनन्। तर, अतिवादका कारण उनीहरु सिकेराउतका कार्यकर्ताप्रति त्रसित भने छन् अवश्य देखिन्थे । तराई मधेश लोकतान्त्रिक पार्टीका एक नेताले भने सिके राउतको कार्यक्रममा केही मान्छेहरु अन्य उमेर समूहका पनि भेटिन्छन् । तर उनीहरु विखण्डनको नारा सुन्न आएका होइनन्। राउत एउटा बैज्ञानिक हो भनेर बैज्ञानिकले कस्तो कुरा गर्छ त ? भनेर कुरा सुन्न आउने गरेको बताए। 

ती नेताले भने ‘अहिले त त्यस्तो स्थिती छैन । तर, पहिलेपहिले एउटा हेलिकप्टर आउँदा चार गाउँबाट हेलिकप्टर हेर्न आउने ठाउँ हो यो ।’ त्यसैले यो क्षेत्र विकासमा पछि परेकोले नै यस्ता अतिबाद भित्रिएको पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ