arrow

भारतमा राष्ट्रपतिको अपमान भएको होईन !  के भन्छन् कूटनीतिज्ञहरु ?

‘‘गार्ड अफ अनरमा मोदी जानु ‘एक्सेप्सनल एण्ड आउट अफ वे’ हो’’

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
bhandari_pic_final.jpg

काठमाडौ। परराष्ट्र मामिलाका जानकारहरुले राष्ट्रपति विद्या देवी भण्डारीलाई भारतले ठूलो सम्मान दिएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका सांसद एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीलाई दिएको गार्ड अफ अनरमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित् भएर ठूलो सम्मान दिएको बताएका हुन् । 

 

उनले राष्ट्रपति भण्डारीको भ्रमण सफल र राम्रो हुनेमा आफू विश्वस्त रहेको समेत बताए । साक्षात्कारमा बोल्दै डा. भट्टराईले राष्ट्रपतिस्तरको भ्रमण आँफैमा उच्चतहको भ्रमण भएकोले महत्वपूर्ण भएको तर्क गरे । उनले भ्रमण आफ्नो विशिष्टतामाथि उभिएर बढावा दिनुपर्नेमा जोड दिए ।

 

राष्ट्रपति आँफैमा संवैधानिक भएपनि स्थायी पद भएकोले पनि द्धिपक्षीय सम्बन्ध र आपसी हितको बारेमा गरिने सञ्चारबारे चेक गर्न सहयोग पुग्ने समेत विश्वास दिलाए । भ्रमण राजकीय भएकोले पनि यसलाई सकारात्मक र ठूलो महत्व दिनुपर्ने उनको भनाई थियो । 

 

त्यस्तै उनले राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतीय राज्यमन्त्रीले रिसिभ गरेको विषयलाई लिएर नेपालमा थुप्रै टिकाटिप्पणी भएको उल्लेख गर्दै भने,‘यसमा टिकाटिप्पणी गर्नुपर्ने कुनै कारण छैन, हामीले बुझ्ने कुरामा कमी देखियो, सन् २००२ मा ज्ञानेन्द्र शाह भारत जाँदापनि राज्यमन्त्रीले नै स्वागत गरेको हो नि, रामवरण यादव राष्ट्रपति भएलगत्तै भारत जाँदा उनलाई पनि राज्यमन्त्रीले नै स्वागत गरेको हो, प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुँदा भारत जाँदा राज्यमन्त्रीले नै स्वागत गरेको हो । तर केपी शर्मा ओली जाँदा सुष्मा स्वराज आउनुभएको हो, त्यसैले यसलाई नकारात्मक रुपमा प्रचार गर्नुहुँदैन् ।’ 

 

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा नेपालको राष्ट्रपति रिसिभ गर्न गएको तर नेपालको राष्ट्रपतिलाई राज्यमन्त्री पठाएको भनेर गलत प्रचार भएको गुनासो पोख्दै भने, ‘भारतीय राष्ट्रपति नेपाल आउँदा उहाँलाई शितलनिवासमा गार्ड अफ अनर दिने ठाउँ नभएकोले एयरपोर्टमा हाम्रो राष्ट्रपति जानुभएको हो ।’ उनले उक्त विषयमा परराष्ट्र मन्त्रालयले ठीकसँग सन्देश प्रवाह नगरेकोले बाहिर यस्तो कुरा आएको समेत स्पष्ट पारे । 

 

उनले नेपालले आफूलाई परिपक्व देखाउन नसकेको समेत गुनासो पोखे । उनले भने, ‘यसरी विवादमा पार्नुभन्दापनि दुई देशवीचको सम्बन्धलाई अझ गहिराईमा पुर्याउने हिसावले कुरा गर्नुपर्छ, उहाँको भ्रमण सफल हुन्छ ।’

 

त्यस्तै, वरिष्ठ कुटनीतिज्ञ एवम् पूर्वराजदुत राजेश्वर आचार्यले प्रोटोकलको विषयमा नेपालले प्रतिक्रियाभन्दापननि परिपक्वता देखाउनतिर ध्यान दिनुपर्ने बताए । उनले राष्ट्रपति भण्डारीको सम्मानको लागि भारतीय राष्ट्रपति भवनमा दिएको गार्ड अफ अनरमा प्रधानमन्त्री मोदी आउनु ठूलो उपलब्धि भएको बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्री आँफै उपस्थिति हुनु भनेको आउट अफ वे हो ।’

 

उनले नेपालको कुटनीति र राजनीति अमिल्दो रहेको समेत गुनासो पोखे । उनले राष्ट्रपति भण्डारीको भ्रमण समय सान्दर्भिक भएकोले द्धिपक्षीय सद्भाव तथा सम्बन्धका आयामहरु आदानप्रदान हुने विश्वास व्यक्त गरे । 

 

उनले आफू राजदुत रहेको बेला स्वर्गीय राजा विरेन्द्र शाह चीन भ्रमणमा जाँदा राजाको स्वागतमा भाईस मिनिस्टरले विमानस्थलमा स्वागत गरेको स्मरण गराए । 

उनले राष्ट्रपति भण्डारीको भारत भ्रमणमा विदा दिएकोप्रति कडा आपत्ति जनाउँदै भने, ‘हामी गणतन्त्रमा आईसक्यौं तर अझै सामन्तजस्तो देखियो, विदा दिने कुराले मुलुकको प्रतिष्ठामाथि नै आँच आउँछ, यसमा ख्याल गर्नुपर्छ ।’

 

पूर्व राजदुत डा. शंकर शर्माले राष्ट्रपति भण्डारीको भारत भ्रमण महत्वपूर्ण भएकोले यसले दुरगामी प्रभाव पार्ने समेत विश्वास व्यक्त गरे। राष्ट्रपति भण्डारी अत्यन्तै सक्षम, सवल र सफल व्यक्तित्व भएकोले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउनेगरि कुराकानी हुनेमा आफू विश्वस्त रहेको शर्माले बताए । 

 

उनले प्रोटोकललाई लिएर भैरहेको टिकाटिप्पणीप्रति प्रतिक्रिया दिँदै आफू अमेरिकाको लागि राजदुत हुँदाको अनुभव सुनाएँ । उनले भने,‘अमेरिकामा एक पटक सेक्रेटरी अफ स्टेटले आयोजना गरेको सामान्य पार्टीमा उहाँ विरामी भएर आउन नसक्दा राष्ट्रपति नै आउनुभएको थियो, प्रोटोकल भन्ने कुरा आ–आफ्नो हुन्छ, अमेरिकाको आफ्नै छ ।’

 

उनले नेपाल–भारत सम्बन्ध ऐतिहाँसिक रहेको बताउँदै भने,‘दुई देशवीचको सम्बन्ध विशेष छ, नेपालमा भारतको लगानी बढि छ, तीन तिरको खुल्ला सिमाना छ, यतातिर हामीले ध्यान दिनुपर्छ ।’ उनले भारतसँग एक्सपोर्ट एण्ड ईम्पोर्टको लागि विशेष ध्यान दिनुपर्ने सुझाव दिए । 

 

भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले राष्ट्रपति भण्डारीको सम्मानमा भारतीय राष्ट्रपतिद्धारा दिईएको गार्ड अफ अनरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आँफै आउनु ठूलो उपलब्धि भएको बताए । उनले भने,‘यो एक्सेप्सनल जेस्चर फर अस, आउट अफ द वे हो, हाम्रो लागि ठूलो एचिभमेन्ट हो ।’

 

उनले राष्ट्रपतिको भारत भ्रमण सफल हुने विश्वास व्यक्त गरे । सिंहले भने, ‘उहाँको भ्रमण अत्यन्तै फलदायी र सफल हुन्छ, भारतले ठूलो महत्व दिएको छ ।’ उनले राष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्री पठाउन भारतको उच्च अभ्यास भएको समेत स्पष्ट पारे । विमानस्थलमा स्वागतको लागि को पठाउने भन्ने कुरा पनि अग्रिम जानकारी हुने पनि उनले जानकारी दिए । 

 

उनले नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ रहेको र भारतको नेपालको हरेक परिवर्तनमा सकारात्मक सद्भाव रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीको भ्रमणले द्धिपक्षीय सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ