arrow

राष्ट्रपतिको अपमान गरिएको भन्ने विषयमा के भने परराष्ट्रमन्त्रीले ?

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
minister-prakashsaran-mahat.jpeg

काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् । राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहेका मन्त्री डा.महत बुधबार बिहान स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरुसँग भने ‘दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।’ 

 

यस भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुले नेपाल भारत सम्बन्धको महत्वमा जोडदिदै नेपालले संविधानको कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिेरहेका प्रयासहरुप्रति सद्भाव रहेको बताएको मन्त्री डा.महतले जानकारी दिए। त्यस्तै उनीहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी मन्त्री डा.महतले दिए । 

 

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतका राज्यमन्त्रीले स्वागत गरेको भन्ने बारेको पत्रकारको प्रश्नमा मन्त्री डा.महतले नेपालका राष्ट्रपतिलाई भारत सरकारले दिएको सम्मानमा कुनै कमी नभएको पनि स्पष्ट गरे । 

 

उनले भने ‘नेपालका राष्ट्रपतिलाई भारतले दिने ‘गार्ड अफ अनर’ महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यस क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । तर, हामीले यस्तो अनर विमानस्थलमै दिने गरेकोले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा विमानस्थलमा नै नेपालका राष्ट्रपति उपस्थित भएको मन्त्री डा.महतले स्पष्ट पारे ।

 

राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँ दिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाट मङ्गलबार रातिसम्ममा सम्पन्न भएपछि मन्त्री डा.महत आज स्वदेश फर्किएका हुन् ।  

 

 

नयाँ दिल्लीमा रहँदा राष्ट्रपति भण्डारी तथा भ्रमण दलमा सहभागी अन्य उच्च अधिकारीहरुलाई भारतको राष्ट्रपति भवनमा आतिथ्य प्रदान भएको छ । भारतको शिष्टाचार प्रचलन अनुसार मंगलबार बिहान राष्ट्रपति भवनको फोरकोर्टमा भारतका राष्ट्रपति मुखर्जी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भण्डारीलाई औपचारिक स्वागत गरे । सो अवसरमा राष्ट्रपति भण्डारीले उनलाई प्रदान गरिएको गार्ड अफ अनरको अवलोकन गरे ।

 

मंगलबार भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत भारत सरकारका बरिष्ठ मन्त्रिगणहरुसँग भेटघाट तथा सौहार्द्रपूर्ण कुराकानी भएको मन्त्री डा.महतले जानकारी दिए । त्यसैगरी हिजै साँझ नेपालका राष्ट्रपतिको सम्मानमा भारतका राष्ट्रपतिले राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गरेका थिए । त्यस क्रममा पनि भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेतागणहरुको उपस्थिति रहेको थियो ।

 

भारत र नेपालका राष्ट्रपतिहरुको भेटमा दुई मुलुकका बीच रहिआएको ऐतिहासिक सम्बन्ध बारे विचार आदानप्रदान हुनुका साथै उच्चस्तरीय राजनीतिक भ्रमण, भेटघाट तथा कुराकानीले सम्बन्ध थप सुदृढ बनाउन योगदान गर्ने बारे चर्चा भएको मन्त्री डा.महतले जानकारी दिए । 

 

साथै ती भेटहरुमा जलविद्युत, भौतिक पुर्बाधार, अन्तरदेशीय कनेक्टिविटी तथा भूकम्पपछिको पुनर्निर्माण लगायतका क्षेत्रहरुमा सहयोग आदानप्रदानको समीक्षा हुनुका साथै सहयोगलाई थप विस्तार गर्ने बारे छलफल भएको थियो ।

 

भारतका प्रधानमन्त्रीसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धि तथा विकासमा हासिल गरेको प्रगतिप्रति बधाई दिए र छिमेकी एवम् जोडिएको अर्थतन्त्रको हिसाबले नेपालले पनि भारतको प्रगतिबाट लाभ लिन चाहेको बताए । त्यस क्रममा प्रधानमन्त्री मोदीले छिमेकी मुलुकको प्रगति तथा विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्री डा.महतले जानकरी दिए ।

 

महिला सशक्तीकरण तथा समावेशिताका क्षेत्रमा संबैधानिक व्यवस्था लगायतका मध्यमबाट नेपालले प्राप्त गरेको उपलब्धिबारे राष्ट्रपति भण्डारीले चर्चा गरे । साथै संबिधान कार्यान्वयन गर्ने सिलसिलामा एकबर्ष भित्र तीन तहको निर्वाचन गर्नुपर्ने संबैधानिक व्यवस्था अनुरुप स्थानीय तहको निर्वाचन कार्यक्रम तय भई निर्वाचन सम्पन्न गर्ने तयारी भैरहेको जानकारी पनि उनले दिएका थिए । 

 

लोकतन्त्रको संस्थागत विकास एवम् आर्थिक प्रगतिका लागि नेपालले गर्ने हर प्रयासमा भारतको सद्भाव एवम् सहयोग रहने कुरा भारतीय प्रधानमन्त्रीले बताएको जानकारी मन्त्री डा.महतले दिए । राष्ट्रपति भण्डारीसँग भारतका विदेशमन्त्री श्रीमती सुष्मा स्वराज, गृहमन्त्री, राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले पनि शिष्टाचार भेट गरे । त्यसैगरी भारतीय जनता पार्टीका महासचिव राम माधव नेतृत्वको प्रतिनिधिमण्डल एवं अन्य राजनीतिक पार्टीका प्रतिनिधिमण्डलले पनि उनीसँग शिष्टाचार भेटगरे ।

 

भारतीय विदेश मन्त्रालय, भारतीय उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजित भारतीय तथा नेपाली उद्योगी र व्यवसायीसँगको अन्तरक्रियामा राष्ट्रपति भण्डारी सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको प्रवर्धन तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपालले प्रदान गरेका सुविधाका बारे चर्चा गर्दै लगानीकर्तालाई नेपालमा बढी भन्दा बढी लगानी गर्न आमन्त्रण गरेका थिए । 

 

सोही कार्यक्रममा परराष्ट्र मन्त्री डा.महतले नेपालमा विद्यमान व्यापार तथा लगानी मैत्री नीतिको बारे चर्चागर्दै नेपालमा लगानीका लागि भारतीय उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ