arrow

घोषणापत्र तयारीका लागि काँग्रेसको गोप्य परामर्श, कस्तो आउँदैछ ?

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
ghosanapatra_congress_meeting.jpg

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचनको लागि जारी गर्न लागेको घोषणापत्रलाई अन्तिम रुप दिनको लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा गोप्य परामर्श सुरु गरेको छ । घोषणापत्र तयारीका लागि बनेको महेश आचार्य नेतृत्वको उपसमितिले अहिले पार्टी केन्द्रीय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुलाई घोषणा पत्रको बारेमा ब्रिफिङ गरिरहेका छन् । 

 

काँग्रेसले आफ्नो सिद्धान्त, इतिहास, विरासत र मतदाताप्रति विश्वास जुटाउने गरी देश, प्रजातन्त्र र समस्त नेपालीहरुको हित हुने खालको घोषणा पत्र तयार पारिरहेको बैठकमा सहभागी घोषणा पत्र समितिका एक सदस्यले जानकारी दिए । घोषणापत्रमा काँग्रेसको विरासत जोगिने र आम नेपालीहरुको भावना समेट्ने विषय ल्याउन लागिएको ती नेताले जानकारी दिए । 

 

त्यस्तै, नेपाली काँग्रेसका युवा नेता एवं घोषणापत्र समितिका सदस्य प्रदीप पौडेलले काँग्रेसको घोषणापत्रमा मुलुकको आर्थिक विकास र सामाजिक विकासको विषयलाई महत्वपूर्ण स्थान दिईएको जानकारी दिए । उनले निर्वाचन एउटा निश्चित समयावधिको लागि मात्रै हुने भन्दै घोषणापत्रले निर्वाचन पछि पनि ताजै रहने एजेण्डाहरुलाई घोषणापत्रमा स्पष्टसँग समेटिएको पौडेलले जानकारी दिए । 

 

उनका अनुसार स्थानीय सरकारको अधिकारलाई कसरी फराकिलो बनाउँदै जाने र स्थानीय सरकारलाई कसरी जतिसक्दो चाँडो स्रोत सम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने स्पष्ट योजना पनि नेपाली काँग्रेसको घोषणापत्रमा समेटिएको छ । यसका साथै स्थानीय तहको प्रदेश तथा केन्द्रसँग कस्तो सम्बन्ध रहन्छ र यिनीहरुबीचको सम्बन्धलाई प्रगाढ बनाउन स्थानीय तहले कस्ताकस्ता कदमहरु चाल्नु पर्छ भन्ने विषय पनि घोषणापत्रमा समेटिने उनले जानकारी दिए । 

 

यसका अलावा नेपालमा देखिएको रोजगारी समस्या समाधानका लागि स्थानीय स्तरबाटै कस्ता कार्यक्रमहहरु ल्याउन सकिन्छ ? प्रतिव्यक्ति आयलाई उच्च विन्दूमा पुर्याउन कस्तो कार्यक्रमहरु ल्याउनु पर्छ ? भन्ने जस्ता विषयपनि घोषणापत्रमा समेटिएका छन् । 

 

घोषणापत्रलाई बिहीबारसम्म अन्तिम रुप दिन समय दिईएको छ । बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिएपछि घोषणापत्र सावैजनिक गरिने नेपाली काँग्रेसले जनाएको छ । समितिका संयोजक आचार्यले मंगलबार हाम्राकुरासँग कुराकानी गर्दै बुधबार बैठकबाट पारित गरेर सम्भवतः बिहीबार घोषणापत्र सावैजनिक गरिसक्ने बताएका थिए ।

घोषणा पत्रमा गहन छ्लफल हुँदै । pic.twitter.com/K5C379vwkB

— Pradip Parajuli (@NCPradip) April 19, 2017

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ