arrow

गुणस्तरीय सेवाका लागि टेलिकम र एनसेलसँग प्रतिस्पर्धा गर्न सक्ने नयाँ अपरेटर आवश्यक

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
tjfc.jpg.jpeg

काठमाडौँ । मोबाइल सेवा प्रदायक दुई ठूला कम्पनीको एकाधिकारले दूरसञ्चारको प्रभावकारी माध्यम मोबाइल सेवाको गुणस्तर कायम हुन नसकिरहेका बेला नयाँ प्रतिस्पर्धी टेलिकम्युनिकेसन कम्पनीको आवश्यकता महसुस गरिएको छ । सरकारी स्वामित्वको एकमात्र नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको एकाधिकारले प्रतिस्पर्धी बजार नहुँदा सेवामा प्रभावकारिता आउन नसकेको भन्दै ती निकायमा जिम्मेवार अधिकारी नै नयाँ वैकल्पिक संस्था जन्मनुपर्ने बताउँछन् ।

अहिले भइरहेका दुवै सेवाले उपभोक्ताको माग र आवश्यकतालाई पूरा गर्न नसकेको, ग्राहक बढे पनि पछिल्ला सेवाहरु प्रभावकारी नभइरहेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । यी दुई कम्पनीबाहेक युटिएल, हेल्लो नेपाललगायत आधादर्जन कम्पनीले सेवा प्रारम्भ गरेका छन् तर ती प्रतिस्पर्धाका रुपमा आउन सकेका छैनन् । टेलिकम्युनिकेसनको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले अन्य संस्थाका लागि सञ्चालन अनुमतिपत्र इजाजत दिए पनि ती संस्थाले अझै सेवा प्रारम्भ गर्ने सङ्केत देखाएका छैनन् ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हालका दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीको एकाधिकारले सेवामा गुणस्तरीयता आउन नसकेको बताउनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको दुईदिने तालिमको मङ्गलबार यहाँ समापन गर्दै उहाँले दूरसञ्चारका प्रतिस्पर्धी संस्था भएपछि मात्रै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष झाले भन्नुभयो – “हालका नेपाल टेलिकम र एनसेलको एकाधिकारले बजारमा प्रतिस्पर्धा हुन नसक्दा सेवामा गुणस्तर आएन, त्यसैले अर्को प्रतिस्पर्धी संस्था जन्मेपछि मात्र सेवामा गुणस्तर आउँछ ।

” उहाँले एक वर्षमा पनि नयाँ अपरेटर सञ्चालनमा ल्याउन नसक्नु कमजोरी भएको भन्दै स्मार्ट फोनले दुईवर्षदेखि सञ्चालन अनुमति लिए पनि अहिलेसम्म सेवा सुरु गर्न नसकेको बताउनुभयो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका निमित्त सचिव कविराज खनालले सूचना प्रविधिको विकास सरकारको उच्च प्राथमिकतामा रहेको र त्यसअनुरुप विभिन्न नीतिगत सुधारका काम भइरहेको जानकारी दिनुभयो । प्राधिकरणका निर्देशक आनन्दराज खनालले प्रविधि क्षेत्रका नीतिगत अस्पष्टताले दूरसञ्चार सेवा प्रभावकारी र गुणस्तरीय बन्न नसकेको बताउनुभयो ।

एनसेलका व्यापार निर्देशक प्रणय आचार्यले मोबाइल सेवा प्रदायक कम्पनीले ग्राहकको सङ्ख्या बढाए पनि गुणस्तरीय सेवाका लागि खासै ध्यान नदिएको उल्लेख गर्नुभयो । सूचना तथा सञ्चार प्रविधिबारेमा क्षमता अभिवृद्धि गर्नको लागि प्रबिधि पत्रकार मञ्चले आयोजित कार्यक्रममा मञ्चको अध्यक्ष कृति भुजुले तालिमले धेरै नयाँ कुरा सिकाएको भन्दै आगामी दिनमा समेत मञ्चले पत्रकारहरुलाई यस्ता किसिमको प्ररिक्षणहरु दिन अघि बढ्ने बताउनुभयो ।

दुई दिनसम्म चलेको तालिममा प्रविधिसम्बन्धी रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका १९ जना पत्रकारको सहभागिता थियो । सूचना प्रविधि नीति, दूरसञ्चार सेवा, नयाँ मिडिया र डिजिटल ट्रेन्ड प्रविधिबारे र समाचार कसरी पाठकसम्म पुर्‍याउने भन्नेबारे विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ