arrow

जलजला क्षेत्र संरक्षणका लागि गुरुयोजना तथा सातदोबाटोमा उद्यान निर्माण गरिदै

logo
कविता उपाध्याय, 
प्रकाशित २०७४ वैशाख ७ बिहिबार

लिबाङ (रोल्पा) । धार्मिक तथा पर्यटकीय स्थल जलजला क्षेत्रको संरक्षणका लागि जिल्ला वन कार्यालय रोल्पाले गुरुयोजना बनाउने भएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिको यसै साता लिबाङमा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको सहायक वन अधिकृत भरत श्रेष्ठले आज जानकारी दिए । 

 

उनका अनुसार आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक स्वीकृत कार्यक्रमको राष्ट्रिय वन विकास तथा ब्यवस्थापन कार्यक्रम अन्तर्गत पश्चिम पहाड भूपरिधि नमूना कार्यक्रमका लागि विनियोजत बजेट मार्फत गुरुयोजना बनाउन लागिएको हो । 

 

जिल्ला वन कार्यालय रोल्पाका अनुसार सदरमुकाम लिबाङबाट करिव ५ कि.मी को दुरीमा उत्तरतर्फबाट जलजला क्षेत्रको शुरुवात भई उत्तरमा रुकुम जिल्लाको सिमाना सम्म फैलिएर रहेको छ । जलजला वन क्षेत्रको वरिपरी साविकका कुरेली, मिरुल, थबाङ, उवा, सेरम, गाम, जैमाकसला, जेलबाङ, धबाङ, ह्वामा, जंकोट लगायतका ११ गाविसहरु  रहेका छन् । 

 

यो क्षेत्र समूद्री सतहबाट ९९० मिटर देखि ३२९५ मिटर सम्मको उचाइमा फैलिएर रहेको छ । जलजला क्षेत्रको आसपास स्थानहरुमा आवश्यक पर्ने पानीका श्रोतहरुपनि जलजला क्षेत्रको वनबाट आपूर्ति भइरहेको छ । 

 

यस क्षेत्रमा विभिन्न प्रकारका वन्यजन्तुुहरु रेड पाण्डा, भालु, चितुवा, वन विरालो, आदि पाइन्छन् । जलजलासंग बाग्लुङको घना वन लाई जोडेर ढोरपाटन शिकार आरक्षसम्म जैविक मार्गको रुपमा विकास गर्न सकेमा दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको आवागमन हुन सक्ने वन अधिकृत कालिकोटेको भनाइ छ । 

 

जलजला क्षेत्र जैविक विविधता, वन्य जन्तु श्रोत, खोलानाला, तथा पोखरीहरु जस्ता प्राकृतिक सम्पदाले सम्पन्न छ । यस क्षेत्रमा दुर्लभ, महत्वपूर्ण तथा बहुमूल्य जडिबुटीहरु जस्तै टिमुर, चिराइतोे, सुगन्धकोकिला, पाच्औले, कुट्की, रोजमेरी, गुच्छीच्याउ आदि पाइन्छन् । 

 

जलजला वन क्षेत्रभित्र स्थानीय जनताहरुको सहभागितामा ११२ वटा सामूदायिक वन उपभोक्ता समूह र २९ वटा कवुलियती वन उपभोक्ता समूहहरुले वनको संरक्षण, संबद्र्धन र उपयोग गरिरहेका छन् । यसरी हस्तान्तरित वनहरुको कूल क्षेत्रफल ५९३४.८० हेक्टर र कवुलियती वनहरुको १०२.७० हेक्टर रहेको छ भने सामुदायिक वन उपभोक्ताह्रुको धरधुरीसंख्या जम्मा ७७५२ रहेको कालिकोटेले जानकारी दिए । 

 


उनका अनुसार जिल्लाको जलजला वन क्षेत्रको प्राकृतिक सम्पदा ब्यवस्थापन, पर्यापर्यटन प्रबद्र्धन, जैविक विविधता संरक्षण, जडिबुटी संरक्षण तथा विस्तार लोपोन्मुख वन्यजन्तु एवम् वनस्पति, कृषि, वन प्रबद्र्धन, आयआर्जन तथा वन पैदावारमा आधारित उद्यम विकास लगायतका विषयबस्तु समावेशगरी गुरुयोजना बनाइने  छ । 

 

वन अधिकृत कालिकोटेका अनुसार जलजला क्षेत्रको स्थलगत अनुगमन तथा भौगोलिक सूचना प्रणालीको विश्लेषण गरी गुरुयोजना तयार गरिनेछ । 
यसैगरी जिल्ला वन कार्यालयकै आर्थिक वर्ष २०७३÷०७४ को स्वीकृत वार्षिक कार्यक्रमको बृक्ष सुधार बृक्षारोपण तथा निजी वन कार्यक्रम अन्तर्गत नगरपालिकामा बृक्षारोपण सहित उद्यान निर्माण हुने भएको छ । जसका लागि बैठकले लिबाङ नगरपालिकाको सातदोबाटो चयन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ