arrow

अमेरिकाद्धारा थप ११ वस्तुमा भन्सार छुट, नेपालले शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउने 

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
nepal-usa.jpg

काठमाडौं । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता स्पेसल ट्रेड प्रेफरेन्सअनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । 

अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ ।

नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने जानकारी दिएका हुन् । 

नेपाल र अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा टिफा भएको थियो ।

अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै अघिल्लो वर्ष विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) दिने कानुन ल्याएर ६६ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । 

भन्सार छुटको सो सूचीमा थप ११ वस्तु थपिने बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले जनाएका हुन् ।

यससँगै नेपालले ७७ वस्तुमा भन्सार छुट पाउने भएको वाणिज्य मन्त्रालयका सहसचिव रवि सैँजूले बताए । 

यो सुविधाको उपयोग गर्दै तयारी पोसाक, गलैँचा, पस्मिना र हस्तकलाका उत्पादनको निर्यात उच्चदरमा बढाउन सक्ने उनले बताए ।

यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको थियो । 

अब भन्सार छुटसँगै अमेरिकामा नेपालको निर्यात उच्चदरमा बढ्ने सम्भावना छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ