arrow

डिपीएल फाइनलः फर्ममा फर्केका पारस र फर्ममा रहेका शरदबीचको भिडन्त

पहिलो व्यवसायीयक नमूना, जीत नेपाली क्रिकेटको 

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
dpl-cup-final.jpg

धनगढी । धनगढी प्रिमियर लिग डिपीएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइननलमा टिम चौराह धनगढी र विराटनगर किंगस बीचको भिडन्त अत्यन्त रोमाञ्चक हुने भएको छ। 

नेपाली क्रिकेटका स्टारहरु राष्ट्रिय टिमका पारस खड्का र भरोसायोग्य अर्का राष्ट्रिय टिमका सदावहार फिनिसर शरद भेषावकरले आ–आफ्नो टोलीलाई सम्हालेका छन् ।

धनगढीका कप्तान पारस रहेका छन् भने विराटनगरलाई शरदले सम्हालेका छन् । 

दुवै खेलाडी फर्ममा रहेका छन् । प्रतियोगितामा पारसले १४६ रन बनाइसकेका छन् भने शरदले १४५ रन बनाएका छन् । रनको आँकडा हेर्दा पनि व्यक्तिगत रुपमै प्रतिस्पर्धा छ । जुन खेलमा यी दुई खेलाडी फर्ममा देखिन्छन् त्यो खेल जित्छन् । 

नेपाली क्रिकेटका दुई समकालिन सफल खेलाडीहरु बीचको  प्रतिस्पर्धा फाइनल खेलमा हेर्न पाउने दर्शक र समर्थकहरुको चाहना रहेको छ। 

प्रतियोगितामा पारसको ब्यक्तिगत उच्च स्कोर ६७ नटआउट रहेको छ भने शरदको ४६ रहेको छ। पारसले प्रतियोगितामा ८ छक्का प्रहार गरिसकेका छन् भने शरदले ७ छक्का प्रहार गरेका छन् । 

फाइनलमा धनगढीका ललित राजवंशी र विराटनगरका सन्दिप लामिछानेको बलिङ हेर्न लायकको हुने छ ।

ललित प्रतियोगितामा राम्रो बलिङ गरिरहेका छन् उनले रुपन्देही विरुद्ध ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिंदै ४ विकेट लिएका थिए । 

त्यसैगरी सन्दिपले प्रतियोगिता ११ विकेट लिईसकेका छन् । उनले कन्चनपुरविरुद्ध ४ विकेट लिएका थिए । 

विराटनगरका शुशिल कंडेल पनि राम्रो फर्ममा रहेका छन् । उनले प्रतियोगितामा १५ विकेट लिईसकेका छन्।

उनले पनि कन्चनपुर विरुरुद्धको खेलमा ४ ओभरमा ८ रन खर्चिंदै ४ विकेट लिएका थिए । 

पहिलोदेखि विभिन्न उतार चढाव भोगेर आएका दुई टोली फाईनलमा पुगेका छन् । धनगढीले समुह चरणमा आफ्नो पहिलो तीन खेलमा पराजय भोगेको थियो। 

त्यसपछि दुई खेल जित्दै पुछारमा रहेका कन्चनपुर आईकोनिक र सिवाईसी अत्तरियासँग अंक बराबर गर्दै नेट रनरेटमा उछिन्दै दोस्रो चरणको यात्रा गरेको थियो । 

त्यसैगरी विराटनगर पनि समुह चरणमा दुई खेलमा पराजय भोगेको थियो । 

पहिलो चरणमा दोस्रो भएर माथि उक्लेको विराटनगरले बलियो दावेदार मानिएको रुपन्देही च्यालेन्जर्सलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाईनलको स्थान पक्का गरेको हो । 

धनगढीले दोस्रो चरणको ईलिमिनेटरमा काठमाडौं गोल्डेन्सलाई पराजित गरेको थियो भने दोस्रो क्वालीफायरमा रुपन्देहीलाई पराजित गर्दै फाईनलको स्थान पक्का गरेको हो। 

धनगढीका कप्तान पारस खड्का दुई खेलमा ‘डकआउट’ भएपछि धनगढीको समुह चरणबाट माथि उक्लने संभावना कम हुँदै गएको आँकलन गर्न थालिएको थियो । 

समुह चरणको आफ्नो अन्तिम खेलमा पारस फर्ममा आएका थिए । उनले उक्त खेलमा २१ बलमा ४२ रन बानउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए । 

त्यसैगरी पारसले दोस्रो क्वालीफायर्समा आउट नभई ६७ रन बनाएका थिए । 

यो स्कोर प्रतियोगिताको उच्च ब्यक्तिगत स्कोर पनि हुन गयो । 

समग्र रनमा पनि पारस दोस्रो स्थानमा पुगेका छन् । उनको कुल स्कोर १४६ रहेको छ । धनगढीका अनिल मण्डल १४९ रन जोड्दै
 पहिलो स्थानमा रहेका छन् । 

विराटनगरका कप्तान शरद फर्ममा रहेका छन् । उनले प्रतियोगितामा कुल १४५ रन बनाइसकेका छन् ।

शरदले समुह चरणको खेलमा धनगढी विरुद्ध प्रतियोगितामा आफ्नो उच्च ब्यक्तिगत स्कोर बनाएका हुन् । उनले ४६ रन बनाएका थिए । 

समुह चरणको खेलमा विराटनगरले धनगढीलाई २३ रनले पराजित गरेको थियो । 

विराटनगरले उक्त बिजयको निरन्तरता खोज्ने छ भने धनगढीले आफ्नो फर्किएको फर्मलाई निरन्तरता दिने कोशिस गर्ने छ ।

फाइनलमा पारसले चार तथा शरदले पाँच रन बनाउनका साथ उच्च स्कोर खडा गर्नेछन् । यो उपाधि दुईमध्ये एकले नै जित्नेछन् । 

पहिलो पटक बोलकबोल ‘अक्सन’ गरेर प्रतियोगिता गरिएकाले पनि जित नेपाली क्रिकेटकै भएको छ । खेलाडीहरु व्यवसायिक भएका छन् । 

भारतमा जारी आइपीएलको झल्को दिने गरी पहिलो पटक भइरहेको यो प्रतियोगिताको सफलताले पनि आयोजकलाई अर्को पटक अझ बढी वृहत रुपले प्रतियोगिता आयोजना गर्न मद्धत मिल्ने यहाँका दर्शक र उनीहरुको क्रेज देखेर पनि अनुमान लगाउन कठिन छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ