arrow

मधेसी मोर्चा चुनावमा आउन सकारात्मक, शर्त पुरानै

२ नम्बर र ५ नम्बर प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने कि भन्ने गाइँगुइँ

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
baluwatar_new_oic.jpg

काठमाडौं । असन्तुष्ट मधेसी मोर्चालाई स्थानीय तह निर्वाचनमा ल्याउने सरकारको प्रयास शुक्रबार पनि निष्फल भएको छ । यद्यपि, सत्तारुढ दलका नेताहरुले मोर्चासँगको छलफल सकारात्मक रहेको भन्दै शनिबार सहमति जुट्ने विश्वास लिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरुको बैठकले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई परिमार्जन गर्ने र छोटोबाटोबाट संविधान संशोधन गर्न सकिने भन्दै सहमतिको विन्दु पहिल्याएको बैठकमा सहभागि काँग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

नेता पौडेलले मधेसी मोर्चाका नेताहरु आन्दोलनका कार्यक्रमसँगै निर्वाचनमा सहभागि हुन सकारात्मक देखिएको समेत बताए । यस्तै, मोर्चाका नेता केशव झाले छलफल सकारात्मक भएपनि आफुहरुले पुरानै अडान राखेको बताए । उनले भने, ‘हामीले परिमार्जनसकित संविधान संशोधन हुने पक्का भए निर्वाचनमा जाने कमिटमेन्ट गर्छौँ भनेका छौँ । शनिबार त्यो वातावरण बने हामी निर्वाचनमा जाने प्रतिवद्धता जनाउन सक्छौँ । तर, संशोधन विधेयक परिमार्जनसहित पारित हुने पक्का हुनै पर्छ ।’ नेता झाले प्रधानमन्त्रीले परिमार्जनसहित संशोधन विधेयक लैजानेबारे शनिबारै टुंगो लगाउने र फास्ट ट्रयाकमार्फत संविधान संशोधन गर्ने जनाएको बताए ।

बैठकले वैशाख ३१ गतेको निर्वाचन तोकिएकै मितिमा हुने तथा २ नम्बर र ५ नम्बर प्रदेशमा दोस्रो चरणमा पनि चुनाव गर्न सकिनेबारे पजि छलफल गरेको बताइएको छ ।

निकास खोज्ने सहमति
संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन बसेको सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने निर्णय गरेको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र वैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।

सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउने सत्तारुढ दल र मोर्चाका नेताहरुले बताए ।

बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएको र मोर्चाका नेताहरु सकारात्मक वातावरण बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकारात्मक भए ।
शनिबार ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता कृष्ण प्रसाद सिटौला, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागि गिए ।

कार्यदल गठन

वैठकले मोर्चाले राखेका मागहरुको सम्वोधनका लागि सत्तारुढ दलहरुका तर्फबाट निकास खोज्न काँग्रेस नेता कृष्ण सिटौला, राप्रपाका नेता बुद्धिमान तामाङ र मोर्चाका तर्फबाट राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्ण रहेको कार्यदल पनि गठन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ