arrow

९८ वटा जातजाति कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Alpasankhyak_photo.JPG

काठमाडौं । कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । गृह मन्त्रालयको प्रस्तावअनुसार गत साताको मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि मात्र अल्पसंख्यक समुदाय तय गरिएको हो। गाउँकार्यपालिका तथा नगरकार्यपालिका सभामा दलित वा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ । 

राजपत्रमा प्रकाशित गर्न कानुन मन्त्रालय पठाइयो प्रस्ताव
०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई अल्पसंख्यक सूचीमा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । अल्पसंख्यकको सूची राजपत्रमा प्रकाशनका लागि सहमति लिन त्यससम्बन्धी प्रस्ताव गृहले कानुन मन्त्रालयमा पठाएको छ । ९८ मध्ये करिब १५ जाति भने दलितअन्र्तगत नै पर्ने भएकाले उनीहरूले अल्पसंख्यकअन्तर्गत नभई दलितअन्तर्गत नै आरक्षणको सुविधा पाउनेछन् । जसका कारण ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएका दलितबाहेकका जातिले अल्पसंख्यक समुदायका रूपमा स्थानीय तहको आरक्षित सदस्यमा प्रतिनिधित्व गर्न पाउँछन् । ९८ मध्ये केही जाति दलित नभएकाले नछुट्याई दलितबाहेक भनेर निर्णय गरिएको हो ।

नयाँ वर्गीकरण स्थानीय तहको निर्वाचन प्रयोजनार्थ मात्र
स्थानीय तहअन्तर्गत गाउँपालिका सभामा दुई तथा नगरपालिका सभामा कम्तीमा तीन दलित वा अल्पसंख्यक समुदायबाट सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान छ । हाल सरकारले गरेको अप्लसंख्यकको वर्गीकरण भने स्थानीय तहका लागि मात्र लागू हुनेछ । ०.५० प्रतिशत अर्थात् ०४८ को जनगणनाका आधारमा एक लाख ३२ हजार चार सय ७३ भन्दा कम जनसंख्या भएको समुदायलाई अल्पसंख्यकमा राखिएको हो ।

कुन–कुन जाति अल्पसंख्यक ? 
शेर्पा, सोनार, घर्ती-भुजेल, कलवार, कुमाल, हजाम-ठाकुर, कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा-तत्वा, खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ-प्रजा, हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार-सन्थाल, झाँगड-धागर, बाँतर-सरदार, बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी-भेडियार, नुराङ, याक्खा, दराई, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मू-बरामो, गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर, पंजाबी-सिख, किसान, राजी, व्यासी-सौका, हयू, कोचे, धुनिया, वालुङ, मुन्डा, राउटे, ह्याल्मो, पथरकट्टा-कुशवाडिया, कुसुन्डा, ल्होमी, कलार, नटुवा, ढाँडी, धन्कार-धनिकार, कुलुङ, घले, खवास, राजधोव, कोरी, नाछिङ, याम्फू, चाम्लिङ, आठपहरिया, सरवरिया, बान्तवा, डोल्पो, अमात, थुलुङ, मेवाहाङ वाला, बाहिङ, ल्होपा, देव, साङपाङ, खालिङ, तोप्केगोला, लोहोरुङ ।
(नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ