arrow

मतपेटिका धमाधम जिल्ला–जिल्लामा : यस्तो छ आयोगको निर्वाचन तयारी

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Election_commition.jpeg

काठमाडौं । निर्वाचन आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको हो । ‘जिल्लाहरूमा मतपेटिका र मतदानसँग सम्बन्धित सामग्रीहरू पठाउने क्रम सुरु भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘केही दिनभित्र सबै सामग्री पुगिसक्नेछन् ।’ 

 

२५ जिल्लामा पुग्यो मतपेटिका
निर्वाचन आयोगका अनुसार अहिलेसम्म २५ जिल्लामा मतपेटिका पठार्इसकिएको छ । विशेषतः टाढा र दुर्गम मानिने कर्णाली, सुदूरपश्चिमाञ्चलका केही जिल्ला र हिमाली जिल्लामा मतपेटिका पुगिसकेको आयोगले जनाएको छ ।

 

धमाधम पठाइँदै यी सामग्री
७ सय ४४ स्थानीय तहका लागि आवश्यक पर्ने ८४ हजार मतपेटिका आयोगले धमाधम जिल्ला पठाउन सुरु गरेको छ । आयोगसँग ५४ हजार मात्रै मतपेटिका रहेकोमा अपुग ३० हजार एनआइटी कम्पनीमार्फत चीनबाट ल्याएको छ । जिल्ला निर्वाचन कार्यालयले मतपेटिका सुरक्षित रूपमा कार्यालयमै वा जिल्लास्थित प्रहरी कार्यालयमा राख्नेछ । त्यस्तै, निर्वाचनसम्बन्धी निर्देशिका, नमुना मतपत्र, उम्मेदवार मनोनयनको फाराम, बुकलेटलगायतका सामग्री पनि धमाधम जिल्ला पठाउने काम सुरु भएको आयोगका प्रवक्ता शर्माले बताए ।

 

१२ गते मतदान अधिकृतको कार्यालय स्थापना भइसक्ने
निर्वाचन आयोगले १२ वैशाखमा एकैदिन ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने जनाएको छ । आयोगले गत ३ वैशाखमा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो । ७५ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले एकैदिन बाँकी ६ सय ६९ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

 

मतदाता परिचयपत्र छपाइ अन्तिम चरणमा
आयोगले मतदाता परिचयपत्र छपाइको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ‘लगभग सबै जिल्लाको मतपत्र छापिइसक्यो भन्दा पनि हुन्छ,’ आयोगका प्रवक्ता शर्माले भने, ‘२७ गतेबाट मतदान केन्द्रहरूबाट परिचयपत्र वितरणको काम सुरु हुनेछ ।’ देशभरि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।

 

मतदाता शिक्षा स्वयंसेवी
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदाता शिक्षा स्वयंसेवी कार्यकर्तालाई खटाइसकेको छ । एकजना स्वयंसेवी कार्यकर्ताले कम्तीमा सात सय र बढीमा हजारजनालाई प्रशिक्षित गर्नेछन् । वैशाख सुरुदेखि उनीहरू उक्त अभियानमा खटिएका हुन् । मतदान केन्द्रमा खटिने कर्मचारीलाई वैशाख तेस्रो साताबाट तालिम दिएर सम्बन्धित केन्द्रमा खटाउने आयोगको योजना छ ।

 

२१ हजार मतदान केन्द्र तय
निर्वाचन आयोगले २१ हजार मतदान केन्द्र तय गरिसकेको छ । केन्द्रको अन्तिम सूचीसमेत आयोगले प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ ।

 

व्यवस्थापनमा प्रश्न गर्ने ठाउँ छैन : प्रमुख आयुक्त यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले व्यवस्थापकीय दृष्टिकोणले निर्वाचनको तयारीमा कुनै प्रश्न गर्ने ठाउँ नरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले गाउँ–गाउँमा निर्वाचनको उच्चस्तरीय तयारी भएको बताए ।

जापानी नियोग संस्था (जाइका) सँगको सहकार्यमा पत्रकारिता विभागले गरेको कार्यक्रममा यादवले सबै दल निर्वाचनमा आउने विश्वास व्यक्त गरे । स्थानीय तहको निर्वाचनको रिपोर्टिङमा प्रेस स्वतन्त्रताको उपयोग गर्दा यसको संवेदनशिलतालाई समेत ख्याल गर्न यादवले आग्रह गरे । ‘चुनावको वातावरण बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने । केन्द्रीय पत्रकारिता विभाग प्रमुख प्रा. चिरञ्जीवी खनालले पूर्वाग्रहविना रिपोर्टिङ गर्नुपर्ने बताए ।

(नयाँ पत्रिका दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ