arrow

म्याग्दीमा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Myagdi_District.png

बेनी (म्याग्दी) । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ । स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सबै तयारीलाई तीव्रता दिइएको हो । 

हालसम्म मतदाता विवरण अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र निर्धारण, म्यादी प्रहरी भर्ना, नियुक्ति र तालिम, निर्वाचनमा खटाइने कर्मचारीको विवरण सङ्कलन र अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा स्थानीय तहको निर्वाचनका लागि जम्मा ७२ वटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए । 

यसैबीच म्याग्दीका राजनीतिक दलहरु नगरपालिका, गाउँपालिका र वडाको उम्मेदवार छान्न व्यस्त रहेका छन् । जिल्लादेखि गाउँ तहसम्म चुनावी सरगर्मी बढेको छ भने दलहरु चुनावकेन्द्रित अभियानमा जुटिरहेका छन् । 

मतदाता ७१ हजार 

म्याग्दी जिल्लामा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ कुल जनसङ्ख्या रहेको छ भने तीमध्ये १३ हजार विदेशमा रहेको तथ्याङ्क छ । स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता ७१ हजार चार सय ६३ जना रहेको निर्वाचन अधिकारी पौडेलले बताए । तीमध्ये ३७ हजार ६ सय ७२ जना महिला र ३३ हजार सात सय ९० पुरुष तथा एक तेस्रोलिङ्गी मतदाता रहेको उनको भनाइ छ । 

१२ वटा दल दर्ता 

स्थानीय तहको निर्वाचनमा भाग लिन भन्दै म्याग्दीमा विभिन्न १२ वटा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, अखण्ड नेपाल पार्टी, नेकपा माले, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र नेपाल दलित पार्टी दर्ता भएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अरविन्द झाले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ