arrow

हतियार नबुझाउनेलाई कार्बाही गरिने 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
gun-123.jpeg

नेपालगन्ज । स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले निश्चित समय अवधिका लागि नागरिकसँग भएको हतियार बुझाउन गरेको आग्रहलाई यथोचित पालना गरिएको छैन । स्थानीय प्रशासन कार्यालयले गत चैत ९ गते सूचना जारी गरी चैत २४ गतेसम्म हतियार बुझाउन आग्रह गरेकोमा त्यसको बेवास्ता भएपछि पुनः वैशाख ५ गतेसम्म बुझाउनका लागि म्याद दिइएको थियो । 

यहाँका नागरिकसँग भएको अनुमति प्राप्त हतियार बन्दुक, पेस्तोल र सटगन बुझाउन गरेको आग्रहलाई अहिलेसम्म ५० जनाले मात्र पालना गरेका छन् । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थकाअनुसार, हतियार खरिदका लागि बाँके जिल्लाबाट अनुमति लिएका र अन्य जिल्लामा खरिद गरी यहाँ नवीकरण गरेकाको सङ्ख्या जिल्लामा ८०० रहेको छ । 

गृह मन्त्रालयले हिजो हतियार बुझाउनका लागि जारी गरिएको सूचनामा वैशाख १५ गतेसम्मको अवधि दिएकोमा यस जिल्लामा पनि सोही अवधि लागू हुने प्रजिअ पन्थले बताए । ‘मन्त्रालयको सूचनालाई बेवास्ता गरी तोकिएको अवधिमा हतियार नबुझाउनेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने छ’—प्रजिअ पन्थले भने। 

यसैबीच, स्थानिय निकाय निर्वाचनको सुरक्षा व्यवस्थालाई चुस्त,दुरुस्त बनाउन अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा प्रजिअ पन्थको नेतृत्वमा जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेनाका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको टोली आज जिल्लाको राप्तीपारी क्षेत्रको अनुगमनमा गएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ