arrow

भाषा नबुझेको भन्दै चीनले दिएको नुन गोदाममै थन्काइयो

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Salt-.jpg.jpeg

काठमाडौं । भुकम्पका बेला चीन सरकारले अनुदानबापत उपलब्ध गराएको १०० क्वीन्टल नुन भाषिक समस्याले गर्दा खाद्य संस्थानको गोदाममै थन्किएको छ । नेपाल खाद्य संस्थानका अनुसार चीन सरकारले २०७२ साल पुसमा १ हजार क्वीन्टल चामल र १ सय क्वीन्टल नुन उपलब्ध गराएको थियो ।  तर, चामल विक्री भए पनि नुनको बाहिर चिनियाँ भाषामा मात्रै लेखिएकाले नुनको गुणस्तर छुट्याउन गाह्रो भएको भन्दै थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाममै थन्किएको हो ।

 

नेपाल खाद्य संस्थानका खरिद विक्री विभागका प्रमुख तथा प्रवक्ता संकर सापकोटाले खाद्य संस्थानलाई नुन विक्री वितरण गर्ने अधिकार नभएको तर, साल्ट ट्रेडिङलाई  पटक पटक आग्रह गर्दा पनि उसले चासो नदिएको बताए । गत फाुगन र चैतमा मात्रै दुई तीन पटक साल्ट ट्रेडिङलाई पत्र पठाइएको तर, साल्ट ट्रेडिङले अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिएको उनले बताए । ‘नेपाल खाद्य संस्थानलाई नुन विक्री गर्ने अख्तियारी छैन । मन्त्रालयको खाद्य संस्थान सञ्चालक समितिबाट स्वीकृत लिएर साल्ट ट्रेडिङलाई विक्री गरिदिन अनुरोध गर्दा पनि साल्ट ट्रेडिङले चासो दिएको छैन । अब साल्ट ट्रेडिङले किन चाँहि नुन विक्री गर्न चासो नदिएको रहेछ, भोलि पर्सी बुझ्न खोज्दै छौं,’ सापकोटाले भने । 

 

गत वर्ष चीन सरकारले आधा केजीको प्याकेटका दरले प्याक गरिएको १०० क्वीन्टल नुन अनुदानमा उपलब्ध गराएको नुन नेपाल आइपुगे देखि नै विक्री गरिदिन भनेर साल्ट ट्रेडिङ कर्पोरेसनलाई पटक पटक आग्रह गरेको तर, साल्ट ट्रेडिङले विक्री गर्न नमानेको खाद्य संस्थानको दाबी छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले भने नुनको बोराहरुमा चिनियाँ भाषामा मात्रै लेखिएकोले नुनको गुणस्तर नै छुट्याउन नसकिएकाले सो नुन विक्री वितरण गर्न अप्ठ्यारो भएको जानकारी दिएको छ ।

 

साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले चीनले अनुदान बापत उपलब्ध गराएको नुनको बोराहरुमा चिनियाँ भाषा बाहेक अँग्रेजी भाषाको समेत नाम निसाना नभएकोले गुणस्तर छुट्याउन गाह्रो भएको भन्दै सो नुन साल्ट ट्रेडिङमार्फत विक्री वितरण गर्न नमिलेको जानकारी दिए । ‘चीनले अनुदानमा दिएको नुनमा कुनै बुझिने भाषा नै छैन । अरु त के अँग्रेजीको समेत नाम निसाना छैन । नुनको गुणस्तर छुट्याउनु नै अप्ठ्यारो छ । बुझिनै भाषामा त केही पनि लेखिएको छैन । तपाई हामीहरुले नै नबुझे पछि कसरी उपभोग्य छ भनेर भन्ने,’ भण्डारीले भने । 

 

‘त्यसपछि नुनको आयात गर्दा आयोडिन नुन आयात गर्दा ५० पिपिएम गुणस्तर हुनु पर्छ । तर, त्यसमा ३० पिपिएम मात्रै छ । हुन त खान नमिल्ने नै छैन त भन्न सकिँदैन। मान्छेले खाने नुनको गुणस्तर १५ पिपिएम हुँदा नि हुन्छ । तर, लेबलिङ नै पुरै चिनियाँ भाषामा भएकाले बुझ्न गाह्रो छ,’ उनले थपे ।

 

मुलुककौ ऐन कानुन अनुसार लेबलिङ नै फिक्स नभएको उपभोग्य वस्तुको  कारोबार गर्न नमिल्ने भएकाले साल्ट ट्रेडिङले सो नुनको कारोबार नगरेको उनको भनाई छ । यसरी चिनियाँ भाषाको ज्ञानको अभावका कारण वर्षौं पहिले उपलब्ध गराएको नुन गोदाममै थन्किन पुगेको छ ।

 

उता नेशनल ट्रेडिङमा रहेको चीन सरकारले नै अनुदानमा उपलब्ध गराएको इन्डक्सन चुलो भने अब देखि बजारको मुल्यमा नै विक्री गर्न अर्थ मन्त्रालयले अनुमति दिइसकेको छ । बजारमा त्यस्तो इन्डक्सन चुलोको मुल्य ३ हजार देखि ३५ सय सम्म रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ